आजदेखी एनपीएलको तेस्रो संस्करण सुरु: डेढ अर्बको कारोबार हुने अनुमान

Bizness Post बिजनेस पोष्ट
|
१ महिना अगाडि

काठमाडौँ ९ कात्तिक २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट डेढ अर्ब रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगितामा प्रायोजन, टिकट बिक्री तथा विभिन्न अधिकारबाट मात्रै ७५ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा छ। सहभागी टोलीहरूले गर्ने कारोबारसमेत जोड्दा कुल रकम डेढ अर्ब रुपैयाँसम्म पुग्ने क्यानका कोषाध्यक्ष पदम खड्काले बताएका छन्।

सोमबारदेखि सुरु हुने प्रतियोगितामा खेलाडीको प्रदर्शनसँगै पुरस्कार राशिमा पनि आकर्षण देखिएको छ। प्रतियोगिताको उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ।

क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा कोषाध्यक्ष खड्काले पुरस्कार रकम सार्वजनिक गरेका हुन्। उनका अनुसार दोस्रो हुने टोलीले ८० लाख रुपैयाँ पाउनेछ भने तेस्रो र चौथो स्थानमा रहने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

आठ टोली सहभागी हुने प्रतियोगिताको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। सोमबार साँझ ५ बजे हुने उद्घाटन खेलसँगै प्रतियोगिताको औपचारिक सुरुवात हुनेछ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। यसपटक पनि उपाधिका लागि टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा पठाइएको छ।

क्यानले प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी लगभग पूरा भएको जनाएको छ। खेलकुदको प्रतिस्पर्धासँगै प्रायोजन, टिकट बिक्री र टोलीहरूको व्यावसायिक गतिविधिले एनपीएललाई नेपाली क्रिकेटको महत्वपूर्ण आर्थिक गतिविधिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया