महिला उद्यमीका लागि नयाँ कार्यविधि जारी, प्रविधि सहयोगका लागि तीन लाखसम्म अनुदान

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौँ २१ आश्विन २०८३-

महिला उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँच विस्तार र प्रविधि हस्तान्तरणलाई व्यवस्थित बनाउन सरकारले ‘महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ। 

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि कार्यान्वयनमा ल्याएको हो।

नयाँ कार्यविधिअनुसार महिला उद्यमीलाई आवश्यक मेसिन, औजार तथा उपकरण उपलब्ध गराउने, उद्यमको स्तरोन्नति गर्ने, उत्पादन बढाउने र स्वरोजगार बनाउने लक्ष्य राखिएको छ। कार्यक्रमअन्तर्गत छनोट भएका एकल महिला उद्यमीलाई कम्तीमा दुई लाख रुपैयाँसम्म र महिला उद्यमी समूहलाई तीन लाख रुपैयाँसम्मको उपयुक्त प्रविधि सहयोग उपलब्ध गराइनेछ।

यो कार्यक्रम प्रदेश र स्थानीय तहको सहकार्यमा सञ्चालन हुनेछ। प्रदेश मन्त्रालयले आवेदन आह्वान गर्नेछ भने स्थानीय तहले सम्भावनायुक्त उद्यमी वा समूह छनोट गरी सिफारिस गर्नेछन्। कार्यविधिले स्थानीय कच्चा पदार्थ, मौलिक सीप, कृषि, पशुपालन, हस्तकला, पर्यटन, अल्लो तथा ढाका बुनाइ, होमस्टेजस्ता उद्यमलाई प्राथमिकता दिएको छ। विशेष गरी हरुवा, चरुवा, कमलहरी, चमार, डोम, चेपाङ र वादी समुदायका साथै एकल महिला, हिंसा पीडित र वैदेशिक रोजगारीबाट फर्किएका महिला उद्यमीलाई छनोटमा प्राथमिकता दिइनेछ।प्रविधि हस्तान्तरणबाहेक ब्रान्डिङ, प्याकेजिङ, प्रदर्शनी, वित्तीय साक्षरता र सहुलियतपूर्ण कर्जामा पहुँच विस्तारका कार्यक्रमसमेत सञ्चालन गरिनेछ। डिजिटल प्रविधिको प्रयोगलाई जोड दिँदै अनलाइन आवेदन र प्रशिक्षण सेवा विस्तार गरिने व्यवस्था छ। प्राप्त मेसिन वा उपकरण पाँच वर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाइनेछैन। 

यदि कार्यविधि विपरीत प्रयोग गरेमा सहयोगबापतको रकम सरकारी बाँकी सरह असुलउपर गरिनेछ। यस कार्यक्रममार्फत महिलालाई अनुदानमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य मन्त्रालयले लिएको छ।

तपाईको प्रतिक्रिया