काठमाडौं १२ अशोज २०८३– महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।
आश्विन ९ गते अर्थात् सेप्टेम्बर २५ मा भएको सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनामा वित्तीय सहयोग गर्नेछ।
सम्झौताअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी परियोजना र कम्प्युटर ल्याब स्थापना लगायतका कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ। यस्ता परियोजनाले विद्यालयको आधारभूत पूर्वाधारसँगै विद्यार्थीको सिकाइ वातावरण र डिजिटल पहुँच सुधारमा सहयोग पुग्ने बैंकको विश्वास छ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंक र रोटरीबीच यसअघि पनि सार्वजनिक तथा सामुदायिक शैक्षिक संस्थाको स्तरोन्नति तथा शौचालय निर्माण र सुधारका क्षेत्रमा सहकार्य भएको थियो।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले नेपाल र भुटानमा शिक्षा, स्वच्छ खानेपानी तथा सरसफाइ, स्वास्थ्य, स्थानीय अर्थतन्त्र र वातावरणलगायतका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ। डिस्ट्रिक्टका परियोजनामा सार्वजनिक विद्यालयका शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम, शैक्षिक सामग्री वितरण, विद्यालयमा शौचालय निर्माण तथा कम्प्युटर ल्याब हस्तान्तरणलगायतका कार्यक्रमसमेत छन्।
बैंकले पछिल्लो समय भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत आर्थिक सहयोग गरेको जनाएको छ।
शिक्षा र साक्षरता क्षेत्रमा भएको पछिल्लो सहकार्यले विशेषगरी सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता तथा डिजिटल पहुँच सुधारमा योगदान पुग्ने बैंकले जनाएको छ।











तपाईको प्रतिक्रिया