सिटिजन्स बैंकको ४ प्रतिशत लाभांश प्रस्ताव, चुक्तापूँजी १५ अर्ब ५० करोड नाघ्ने

Bizness Post बिजनेस पोष्ट
|
२३ घण्टा अगाडि

काठमाडौं १ आश्विन २०८३

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको ५२१औं सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।

बैठकले असार मसान्तसम्मको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६ सय १४ रुपैयाँको ३.८० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ। bonus शेयरको रकम ५८ करोड ९२ लाख ८३ हजार ६ सय १७ रुपैयाँ बराबर हुनेछ।

यस्तै कर प्रयोजनका लागि ०.२० प्रतिशत अर्थात ३ करोड १० लाख १४ हजार ९ सय २७ रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ। कुल लाभांश रकम ६२ करोड २ लाख ९८ हजार ५ सय ४४ रुपैयाँ हुने बैंकले जनाएको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी २०औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्। बैंकले आर्थिक वर्ष २०६५/६६ देखि लगातार लाभांश वितरण गर्दै आएको छ।

२०६४ वैशाख ७ गतेदेखि कारोबार सुरु गरेको बैंकको २० वर्षको औषत लाभांश दर १०.०८ प्रतिशत छ। प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर ९.२४ प्रतिशत पुगेको बैंकले जनाएको छ।

बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि पाएको यस बैंकले भर्चुअल क्रेडिट कार्ड, जेन-जी सेभिङ्ग अकाउन्ट र फ्रिलान्सर सेविङ्ज अकाउन्ट जस्ता सेवा सञ्चालनमा ल्याएको छ। मोबाइल एपबाटै शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा पनि बैंकले दिएको छ।

हाल बैंकले ६१ जिल्लामा रहेका २ सय शाखा, १ सय ६७ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ्ग ईकाइबाट २० लाख ६४ हजार ग्राहकलाई सेवा दिइरहेको छ।

तपाईको प्रतिक्रिया