आपूर्ति प्रभावित भएपछि ब्रान्डको सीमा हट्यो, आफ्नो नपाए अर्को कम्पनीको सिलिन्डर साट्न पाइने

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं २४ भाद्र २०८३– बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि सरकारले उपभोक्तालाई जुनसुकै कम्पनीको ग्यास सिलिन्डर लिन सक्ने व्यवस्था गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा तत्कालका लागि एउटा कम्पनीको खाली सिलिन्डर दिएर बजारमा उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर तोकिएको मूल्यमा साट्न मिल्ने व्यवस्था गर्न नेपाल आयल निगम र ग्यास उद्योगलाई निर्देशन दिएकी छन्।

यससँगै आफूले नियमित प्रयोग गर्दै आएको ब्रान्ड बजारमा उपलब्ध नभए उपभोक्ताले अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। त्यसका लागि नयाँ सिलिन्डर खरिद गर्नुपर्ने छैन। आफूसँग भएको खाली सिलिन्डर साटेर अर्को ब्रान्डको ग्यास लिन सकिनेछ।

कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्गबाट हुने ग्यास ढुवानी प्रभावित भएको थियो। त्यसपछि उपत्यकामा ग्यासको आपूर्ति असहज भएको हो। मुख्य मार्ग अवरुद्ध भएपछि तराई तथा उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था यसअघि नै सुरु गरिएको थियो।

नेपाल आयल निगमले समेत उपत्यका बाहिरका उद्योगलाई उपलब्ध जुनसुकै ब्रान्डका सिलिन्डरमा ग्यास भरेर काठमाडौं पठाउन निर्देशन दिएको थियो। त्यसअनुसार विभिन्न उद्योगले खाली सिलिन्डर अन्य जिल्लाका प्लान्टमा पुर्‍याएर ग्यास भरी उपत्यका पठाउँदै आएका छन्।

निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म मात्रै वैकल्पिक मार्ग हुँदै ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं उपत्यकामा भित्रिएको थियो। मुख्य सडक नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गबाट आपूर्ति गर्ने व्यवस्था जारी रहने निगमले जनाएको छ।

तर आपूर्ति सहज बनाउन अपनाइएका वैकल्पिक व्यवस्थाका बाबजुद उपत्यकाका कतिपय डिलरमा उपभोक्ताको चाप बढेको छ। मुख्य राजमार्गमा आएको बाढीपहिरोका कारण नियमित ढुवानी रोकिँदा बजारमा ग्यासको अभाव देखिएको हो।

मन्त्री यादवले नयाँ व्यवस्था तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सबै ग्यास उद्योगलाई निर्देशन दिएकी छन्। उपभोक्ताले आफूले प्रयोग गर्ने ब्रान्ड नपाएको अवस्थामा अर्को ब्रान्डको ग्यास पाउने सुनिश्चित गर्न उनले निर्देशन दिएकी हुन्।

मन्त्रालयले संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, सिलिन्डर साट्न अस्वीकार गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यवसायी तथा उद्योगमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

बाढीपहिरोका कारण आपूर्ति प्रणाली प्रभावित भएकाले गरिएको यो व्यवस्था काठमाडौं उपत्यकामा मात्र तत्कालका लागि लागू हुनेछ। आपूर्ति अवस्था सामान्य भएपछि नियमित ब्रान्डअनुसारको वितरण प्रणालीमा फर्किनेछ।

तपाईको प्रतिक्रिया