काठमाडौँ १६ भाद्र २०८३
नेपालका जलवायु अभियन्ता तथा युवा अगुवा अटल देव ढकाल ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६’ को पहिलो विजेता बनेका छन्।
ललितपुरस्थित द प्लाजामा मंगलबार सम्पन्न दक्षिण एसियाली महाफाइनलमा नेपाल सहित भारत, श्रीलंका, भुटान र बंगलादेशका राष्ट्रिय विजेतालाई पछि पार्दै ढकालले क्षेत्रीय उपाधि जितेका हुन्।
जलवायु न्याय, वातावरणीय संरक्षण, जलवायु वित्त तथा युवा नेतृत्वका क्षेत्रमा पुर्याएको योगदानका आधारमा ढकाललाई उपाधि प्रदान गरिएको आयोजक ग्लोकल प्रालिले जनाएको छ।
ढकालले युङ्गो (YOUNGO) अन्तर्गतको पहाड तथा हिमनदी कार्य समूहको नेतृत्व गर्दै जलवायु नीतिमा पहाडी तथा जोखिममा रहेका समुदायको आवाजलाई प्राथमिकता दिन पहल गर्दै आएका छन्। उनले जलवायु वित्त, वातावरणीय न्याय र अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा सीमान्तकृत युवाको सहभागिता बढाउन विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्।
उनको नेतृत्वमा निर्माण भएको युवा सञ्जालले कोप–३१ अघि एक लाख युवाको आवाजलाई जलवायु अभियानमा जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। ढकालले युवा तथा विश्वविद्यालयका वातावरण क्लबमार्फत जलवायु नीति र अभियानका उपकरणसमेत विस्तार गर्दै आएका छन्।
महाफाइनलमा बंगलादेशकी मुनाजिया स्निग्धा मून, भुटानकी उग्येन शेडेन तोब्गे, भारतका राघुल आर र श्रीलंकाका मोहमद अमाजिर मोहमद अमानथ राष्ट्रिय विजेताका रूपमा सहभागी थिए।
कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञ, कर्पोरेट क्षेत्रका प्रतिनिधि, युवा अभियन्ता तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रममा दक्षिण एसियाका पाँच राष्ट्रका युवालाई एउटै मञ्चमा जोडेर क्षेत्रीय सहकार्य र युवा नेतृत्वको महत्त्वमा जोड दिइएको थियो।
ग्लोकल प्रालिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले ग्लोकल टिन हिरो केवल किशोरहरूको उपलब्धि सम्मान गर्ने कार्यक्रम नभई युवालाई नेतृत्व, सम्बन्ध र अवसर प्रदान गर्ने अभियान भएको बताए।
सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको ग्लोकल टिन हिरो अभियान यस वर्ष पहिलोपटक दक्षिण एसियाली क्षेत्रीय मञ्चका रूपमा विस्तार भएको हो। नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका राष्ट्रिय विजेतालाई सहभागी गराउँदै यस वर्षको क्षेत्रीय महाफाइनल आयोजना गरिएको हो।
कार्यक्रममा ग्लोकल टिन हिरोको निरन्तर प्रभावका लागि योगदान पुर्याएको भन्दै आशिष पन्थीलाई ‘एलुम्नाई एक्सिलेन्स अवार्ड’ समेत प्रदान गरिएको थियो।











तपाईको प्रतिक्रिया