काठमाण्डौ १ मंसिर २०८२
नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको आय, नाफा तथा अन्य प्रमुख वित्तीय सूचकहरू उल्लेखनीय रूपमा कमजोर देखिएका छन्।
विवरण अनुसार कम्पनीको कुल सञ्चालन आय यो त्रैमासमा ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ लाख ७१ हजार रुपैयाँले कम हो। त्यस्तै, कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको छ, जसमा गत वर्षको तुलनामा ५९ करोड २६ लाख रुपैयाँको गिरावट आएको छ।
आयमा आएको गिरावटसँगै नाफामा पनि ठूलो असर परेको छ। करअघिको आम्दानी ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँमा सीमित रहेको छ, जुन गत वर्षको तुलनामा १२.२९ प्रतिशतले कम हो। करपछिको नाफा १८.९ प्रतिशतले घटेर २ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ। कम्पनीको खुद नाफा भने १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ मात्र कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४१ करोड ४४ लाख रुपैयाँले घटेको हो।
प्रति शेयर आम्दानी पनि घटेर २९ रुपैयाँ ४५ पैसामा झरेको छ। कम्पनीले राजस्व र नाफामा आएको गिरावटको मुख्य कारण विश्वभर ओटीटी (ओभर द टप) सेवाको बढ्दो प्रयोगलाई मानेको छ। यसका कारण विदेशबाट आउने कलमा उल्लेखनीय कमी आएको छ। अन्तरआवद्धता राजस्व मात्रै करिब १० करोड ९७ लाख रुपैयाँले घटेको छ। त्यस्तै, बैंकिङ बजारमा व्याजदर घटेपछि मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी ५० करोड रुपैयाँले कम भएको कम्पनीले जनाएको छ।
खर्चतर्फ भने कर्मचारी खर्च बढेको देखिन्छ। कर्मचारी बीमा खर्च वृद्धि हुनुका साथै अघिल्लो वर्ष ७.५ प्रतिशत रहेको छुटदर घटेर ७ प्रतिशतमा झर्दा पेन्सन तथा अवकाशसम्बन्धी दायित्व बढेको छ। यसै कारण कर्मचारी खर्चमा मात्र करिब ८.८ करोड रुपैयाँ अतिरिक्त व्यय भएको छ।










तपाईको प्रतिक्रिया