भोटेकोशी बाढी : ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं १३ भाद्र २०८३।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले उद्धार तथा राहत अभियानलाई तीव्र बनाएको जनाएको छ। सरकारले हालसम्म प्रभावित क्षेत्रबाट ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको जनाएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ भने बाँकी प्रभावितको उद्धार प्रयास जारी छ। प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा चुनौती देखिएको सरकारले जनाएको छ।

उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। ती हेलिकप्टरले हालसम्म २३६ वटा उडान गरिसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ।

उद्धार कार्यमा भारतीय तथा चिनियाँ विज्ञहरू पनि नेपाली सेनासँगको समन्वयमा परिचालित भएका छन्।

पाँच जिल्लामा ठूलो क्षति

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने हजारौँ नागरिक प्रभावित भएका छन्।

सरकारका अनुसार विस्थापित करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक एवं सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवामा ३ र नुवाकोटमा १५ वटा राहत तथा व्यवस्थापन शिविर सञ्चालनमा ल्याइएको छ।

प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको सरकारले जनाएको छ।

राहत कोषमा ५ अर्बभन्दा बढी

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ। सरकारका अनुसार आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ।

यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको सरकारले जनाएको छ।

सरकारले राहत सहयोगका नाममा हुन सक्ने वित्तीय ठगी रोक्न आधिकारिक क्यूआर कोड तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’का आधिकारिक खातामा मात्र सहयोग गर्न आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय सहयोग पनि जुट्दै

बाढी प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत जुट्न थालेको सरकारले जनाएको छ।

एशियाली विकास बैंकबाट ५० लाख अमेरिकी डलर अनुदान तथा थप १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाबाट १० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको छ।

भारतबाट तीन चरणमा हालसम्म ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीनबाट ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको सरकारले जनाएको छ।

यस्तै, भारत र चीनबाट शव व्यवस्थापनका लागि २–२ हजार एयरटाइट ब्याग प्राप्त भएको छ। स्वीट्जरल्याण्डबाट संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १० लाख स्वीस फ्र्याङ्क सहयोग प्राप्त भएको पनि सरकारले जनाएको छ।

६७५ शव फेला, पहिचानको काम जारी

बाढीपछि रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा तथा नवलपरासी पूर्व र पश्चिमका विभिन्न स्थानबाट हालसम्म ६७५ वटा शव फेला परेको सरकारले जनाएको छ।

फेला परेका शवलाई एयरटाइट ब्यागमा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ। पहिचान गर्न नसकिएका शवको डीएनएलगायत पहिचानका आधार सुरक्षित राखेर सरकारले व्यवस्थापन गर्ने जनाएको छ भने परिवारले पहिचान गरेका शव सम्बन्धित परिवारलाई जिम्मा लगाउने प्रक्रिया जारी रहेको छ।

टेलिकमका १६१ टावर सञ्चालनमा

बाढीका कारण प्रभावित क्षेत्रमा नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएको थियो। सरकारले हेलिकप्टर तथा सडकमार्गबाट इन्धन, सोलार प्यानल र जेनेरेटर पुर्‍याएर सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

हालसम्म नेपाल टेलिकमका ९० वटा र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन्। बाँकी टावर पनि मर्मत गरी चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

वैकल्पिक सडक खुलेपछि रसुवा सडक सञ्जालमा जोडियो

बाढीले मुख्य सडकमा क्षति पुर्‍याएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको सरकारले जनाएको छ।

उक्त सडक सञ्चालनमा आएपछि रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। यस्तै, पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको तथा धादिङबेसी जाने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको सरकारले जनाएको छ।

सरकारले विपद्को कठिन परिस्थितिमा उद्धार, राहत र पुनःस्थापनाका कामलाई निरन्तरता दिने जनाएको छ। प्रधानमन्त्री शाहले प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उद्धार तथा पुनःस्थापनाका काम नतिजा नआएसम्म जारी रहने बताएका छन्।

तपाईको प्रतिक्रिया