भोटेकोशी बाढीमा मधेसका ५८ जना सम्पर्कविहीन, धनुषाका एकै परिवारका ४ जना रसुवाको टिमुरेबाट बेपत्ता

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं, १२ भदौ २०८३

प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेको छ । प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरुले सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेका हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेसका ५८ जना सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।उक्त कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका आठ, पर्साका पाँच, सर्लाहीको सात, रौतहट र सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन् ।

धनुषाका एकै परिवारका चार जना रसुवाको टिमुरेबाट बेपत्ता
यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण धनुषाका एकै परिवारका चार जना बेपत्ता भएका छन्।
​जिल्ला धनुषा, गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ स्थायी घर भई हाल रसुवाको टिमुरेमा बसोबास गर्दै होटल सञ्चालन गर्दै आएका परीक्षण ठाकुर र उनको परिवार भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएका हुन्।
​बेपत्ता हुनेहरूमा:
​परीक्षण ठाकुर (होटल सञ्चालक)
​राधादेवी ठाकुर (श्रीमती)
​संगम ठाकुर (छोरा)
​पुनम कुमारी ठाकुर (छोरी)
​काठमाडौँमा रहँदै आएकी छोरी पूर्णिमा ठाकुरका अनुसार बाढी आएपछि उहाँहरूसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन। परिवारका अन्य सदस्यहरू (धुन्चेमा बस्दै आएका छोरा हिमाल ठाकुर र काठमाडौँकी पूर्णिमा) सकुशल रहे पनि टिमुरेमा रहेका चारै जनाको अवस्था हालसम्म अज्ञात छ।
​सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि पहल गरिदिन परिवारले आग्रह गरेको छ। कुनै जानकारी प्राप्त भएमा ९७६७२३०२६५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया