बाढी प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख बराबरको सहयोग

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं,११ भदौ २०८३

कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको आर्थिक तथा उपकरण सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ जम्मा गरेको जनाएको छ। पछिल्लो विपद्बाट प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन सरकारसँगको समन्वयमा उक्त रकम प्रदान गरिएको हो।

यसका अतिरिक्त विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका उपकरणसमेत उपलब्ध गराउने भएको छ।

बैंकका अनुसार पाँच वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, तीन वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।

हालैको बाढी तथा प्राकृतिक प्रकोपबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्ला प्रभावित भएका छन्। ती क्षेत्रमा खोज तथा उद्धारसँगै प्रभावित नागरिकका लागि राहत र पुनःस्थापनाको काम जारी छ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्लो सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

बैंकले विपद्बाट प्रभावित समुदायप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको सुरक्षित खोज तथा उद्धारको कामनासमेत गरेको छ।

तपाईको प्रतिक्रिया