१ अर्ब ३५ करोड नाघ्यो नागरिक लगानी कोषको नाफा

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं २८ श्रावण २०८३

नागरिक लगानी कोषले खुद नाफा १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ पुर्‍याएको छ। कोषले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले नाफामा ७.७२ प्रतिशतको वृद्धि हासिल गर्दै यस्तो देखाएको हो।

समीक्षा अवधिमा कोषको कुल आम्दानी ७.२८ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। यसमा सेवा शुल्क तथा कमिसन आम्दानीको १ अर्ब ७९ करोड रुपैयाँ र ब्याज आम्दानीको ३६ करोड ४७ लाख रुपैयाँ योगदान रहेको छ।

कोषको खुद कोष मौज्दात बढेर ३ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ भने विभिन्न क्षेत्रमा गरिएको कुल लगानी ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। वित्तीय सूचक अनुसार कोषको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ४७ पैसा कायम भएको छ।

यद्यपि बजारमा अधिक तरलताका कारण मुद्दती निक्षेपको ब्याजदर घट्दा लगानी प्रतिफलमा गिरावट आएको छ। जसले गर्दा कोषको लगानी प्रतिफल अघिल्लो आर्थिक वर्षको ५.६८ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ।
सफ्टवेयर एकीकरण र घट्दो ब्याजदरको चुनौतीबीच कोषले सहभागीलाई आकर्षक प्रतिफल दिने रणनीति लिएको छ। यसका लागि डिजिटल रुपान्तरण, सेवा चुस्तता र सुरक्षित लगानी विविधीकरणमा जोड दिइएको छ।

तपाईको प्रतिक्रिया

Advertisement