काठमाडौं २८ श्रावण २०८३
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ५४ करोड ७६ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क भने १२.१४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ८.८२ प्रतिशतले बढेको छ। यस अवधिमा खुद दाबी भुक्तानी ९.५२ प्रतिशत र कुल खर्च १०.१२ प्रतिशतले वृद्धि भएको विवरणमा उल्लेख छ।
खुद नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि कमी आएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ९१ पैसामा सीमित भएको छ। असार मसान्तसम्म कम्पनीको मूल्य आम्दानी अनुपात १५२.७० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसा रहेको छ।
९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल लाइफको महाविपत्ती कोषमा १ अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। त्यस्तै, रिटेन्ड अर्निङ्गमा ७९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ९० लाख रुपैयाँ रहेको छ।











तपाईको प्रतिक्रिया