काठमाडौं २७ श्रावण २०८३
राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको आकर्षण बढ्दै गएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा जारी एक्स्पोको दोस्रो दिन पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता भेला हुँदा प्रदर्शनीस्थल दिनभरजसो व्यस्त बनेको थियो।
एक्स्पोमा पुगेका उपभोक्ताले आफूलाई उपयुक्त लागेका सवारीसाधनको मूल्य, प्रविधि, सुविधा र कार्यक्षमता बुझ्दै बुकिङसमेत गरिरहेका छन्। प्रदर्शनीमा सहभागी कम्पनीहरूका अनुसार महँगा तथा किफायती दुवै मूल्य वर्गका कार र मोटरसाइकलप्रति उपभोक्ताको चासो देखिएको छ।
डिल्लीबजारबाट एक्स्पो अवलोकन गर्न पुगेका दिनेश महर्जनका लागि नाइमा एक्स्पो आफूले खोजेको सवारीसाधन छनोट गर्ने उपयुक्त अवसर बनेको छ। दिउँसो ३ बजे प्रदर्शनीस्थलमा भेटिएका महर्जनले आफू एक्स्पोकै अवसर पारेर कार खरिद गर्ने तयारीमा रहेको बताए।

‘म नाइमा एक्स्पोकै अवसर पारेर कार किन्ने सोचमा थिएँ,’ उनले भने, ‘धेरै ब्रान्डका आकर्षक मूल्य र सुविधासहितका गाडी रहेकाले छनोट गर्न निकै सकस भइरहेको छ। बिहान साढे ११ बजेदेखि अहिलेसम्म १८–२० वटा गाडी चढेर हेरिसकेँ होला।’
प्रदर्शनीस्थलमा ठूलो संख्यामा अवलोकनकर्ता विभिन्न ब्रान्डका सवारीसाधन चढेर तिनका विशेषता बुझ्न व्यस्त देखिन्थे। विशेषगरी विद्युतीय सवारीसाधनतर्फ आकर्षण देखाएका उपभोक्ताले ब्याट्री क्षमता, मोटर, चार्जिङ, ड्राइभिङ रेन्ज र बिक्रीपछिको सेवाका विषयमा कम्पनीका प्रतिनिधिसँग विस्तृत जानकारी लिइरहेका थिए।
उपभोक्तालाई आकर्षित गर्न सहभागी कम्पनीहरूले विभिन्न अफरसमेत सार्वजनिक गरेका छन्। सवारीसाधन खरिदमा मूल्य छुट, एक वर्षको बिमा तथा सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराइएको छ।
दोस्रो दिन थप चार नयाँ मोडल सार्वजनिक
एक्स्पोको दोस्रो दिन बुधबार विभिन्न ब्रान्डले थप चार नयाँ मोडल सार्वजनिक गरेका छन्। यसअघि उद्घाटनको दिन मंगलबार विभिन्न कम्पनीले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए।

आयोजकका अनुसार दोस्रो दिन मात्रै २६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्। उद्घाटनको दिन २९ हजारभन्दा बढी अवलोकनकर्ता एक्स्पो पुगेका थिए। एक्स्पो अवधिभर करिब डेढ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
एक्स्पोमा सवारीसाधनको प्रदर्शनीसँगै मोबिलिटी क्षेत्रका समसामयिक विषयमा छलफल तथा अन्तर्क्रियासमेत सञ्चालन भइरहेका छन्। बुधबार आयोजित ‘लर्निङ सेसन’मा ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा छलफल भएको थियो।
छलफलमा प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधि र नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापाको सहभागिता थियो। पत्रकार टिकाराम यात्रीले सहजीकरण गरेको संवादमा ३०० भन्दा बढीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
यसअघि एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा छलफल भएको थियो। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा विभिन्न विषयमा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने आयोजकले जनाएको छ।
विद्युतीय सवारीसाधन मुख्य आकर्षण
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको एक्स्पोको दोस्रो संस्करण ६ दिनसम्म सञ्चालन हुनेछ। साउन ३१ गतेसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ।
नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि विभिन्न कम्पनीका नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका प्रमुख आकर्षण बनेका छन्। उपभोक्तालाई सवारी खरिदमा सहजता प्रदान गर्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले समेत विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।
एक्स्पोको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड र रेडबुल ‘पावर्ड बाई’का रूपमा रहेका छन्। बैंकिङ पार्टनरमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड तथा इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्।
त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस (BOSCH), एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड तथा राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड रहेका छन्।
हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड), हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) र फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन्।
नाइमा मोबिलिटी एक्स्पोको को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियनपे, अडियो–भिजुअल पार्टनरमा पायोनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल तथा म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड रहेका छन्।
त्यस्तै, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन्।












तपाईको प्रतिक्रिया