सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे ८ प्रतिशत बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं  २७ श्रावण २०८३।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म वित्तीय प्रदर्शनमा सुधार गरेको छ। कम्पनीको सार्वजनिक वित्तीय विवरणअनुसार नाफासँगै खुद बीमाशुल्क आम्दानी, कुल आम्दानी, जीवन बीमाकोष र लगानीको आकारमा वृद्धि भएको छ।

कम्पनीले गत आवमा ३८ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवमा कायम ३५ करोड २ लाख रुपैयाँको तुलनामा ८.५५ प्रतिशत बढी हो। ब्याज आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग गरेको कम्पनीको वित्तीय विवरणबाट देखिन्छ।

गत आवमा कम्पनीको खुद बीमाशुल्क आम्दानी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ रहेको यो आम्दानी १५.७३ प्रतिशतले बढेको हो।

बीमाशुल्क आम्दानी बढेसँगै कम्पनीको खुद लाभ तथा दाबी भुक्तानी पनि वृद्धि भएको छ। यस्तो भुक्तानी अघिल्लो आवको ११ अर्ब ९६ करोड ४३ लाख रुपैयाँबाट १४.०८ प्रतिशतले बढेर गत आवमा १३ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको कुल आम्दानीमा समेत सुधार देखिएको छ। अघिल्लो आवमा १५ अर्ब १३ करोड ४७ लाख रुपैयाँ रहेको कुल आम्दानी गत आवमा करिब १३ प्रतिशतले बढेर १७ अर्ब ९ करोड ९० लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा कुल खर्च १४ अर्ब ५२ करोड ६२ लाख रुपैयाँबाट बढेर १६ अर्ब ४८ करोड ७८ लाख रुपैयाँभन्दा माथि पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आवमा ६.९९ रुपैयाँ रहेको ईपीएस गत आवमा ७.५९ रुपैयाँ पुगेको हो। कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२२.६८ रुपैयाँ रहेको छ।

यस्तै, कम्पनीको जीवन बीमाकोषको आकार उल्लेख्य विस्तार भएको छ। अघिल्लो आवको ४१ अर्ब ६० करोड ५१ लाख रुपैयाँ रहेको जीवन बीमाकोष गत आवमा बढेर ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

यद्यपि, कम्पनीको सोल्भेन्सी अनुपातमा भने गिरावट आएको छ। अघिल्लो आवमा ३ प्रतिशत रहेको सोल्भेन्सी अनुपात गत आवमा घटेर १.६५ प्रतिशत कायम भएको छ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ। जगेडा कोष भने ९२ करोड ३६ लाख रुपैयाँबाट घटेर ६० करोड ९२ लाख रुपैयाँमा झरेको छ। अर्कोतर्फ, महाविपत्ति कोषमा रहेको रकम ४२ करोड रुपैयाँबाट बढेर ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीले लगानी विस्तारलाई समेत निरन्तरता दिएको छ। कम्पनीको कुल लगानी अघिल्लो आवको ४१ अर्ब ६६ करोड २४ लाख रुपैयाँबाट बढेर गत आवमा ५२ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

Advertisement