स्मार्ट टेलिकम कर्जा प्रकरण: बैंक भन्छ-‘कानूनअनुसार असुली,अनुसन्धानमा पूर्ण सहयोग’

Bizness Post बिजनेस पोष्ट
|
३ घण्टा अगाडि

काठमाडौँ  ३० बैशाख २०८३ ।

नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान ब्यूरो (CIB) ले बैंकिङ क्षेत्रमै तरंग ल्याउने गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएपछि बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ।

CIB को मिति २०८३ वैशाख ३० को प्रेस विज्ञप्तिअनुसार, ऋणी कम्पनी स्मार्ट टेलिकम प्रा.लि. को सम्पत्ति लिलाम बिक्रीसँग जोडिएको विषयमा अनुसन्धानका लागि पाण्डेलाई नियन्त्रणमा लिइएको हो। लिलाम गरिएका दूरसञ्चार उपकरण जडान भएका घर–जग्गा धनीहरुलाई कम्पनीले बुझाउनुपर्ने घरभाडा र विद्युत महसुल बक्यौता नतिरेको आरोपसमेत यस प्रकरणसँग जोडिएको छ।

बैंकको स्पष्टीकरण: ‘कानूनअनुसारै अघि बढ्यौं’

उक्त घटनापछि बैंकले विज्ञप्ति जारी गर्दै कर्जा असुली प्रक्रिया पूर्ण रूपमा प्रचलित कानून अनुसार अघि बढाइएको दाबी गरेको छ। बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ र सुरक्षित कारोबार ऐन, २०६३ ले दिएको अधिकार तथा आफ्नै कर्जा असुली निर्देशिका अनुसार निक्षेपकर्ताको रकम सुरक्षित राख्ने दायित्व अन्तर्गत कारबाही गरिएको हो।

बैंकले अनुसन्धानका क्रममा सम्बन्धित निकायलाई आवश्यक कागजात र विवरण समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

४ अर्ब ६० करोडको लिलाम, ३८ करोड रोक्का

बैंकका अनुसार २०८२ असोज ३ गते स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण तथा सामग्री लिलामीको सूचना प्रकाशित गरी बिक्री प्रक्रिया पूरा गरिएको थियो। उक्त लिलामबाट कुल ४ अर्ब ६० करोड रुपैयाँ उठेकोमा ४ अर्ब २२ करोड सहवित्तीयकरण कर्जा चुक्ता गरिएको छ।

बाँकी ३८ करोड रुपैयाँ भने सम्बन्धित निकायको निर्देशनअनुसार रोक्का राखिएको बैंकले जनाएको छ। सो रकम घर–जग्गा धनीहरुलाई तिर्न बाँकी घरभाडा, विद्युत महसुललगायतका दायित्व भुक्तानी गर्न प्रयोग गरिने र आवश्यक प्रमाणका आधारमा क्रमशः भुक्तानी गरिने बैंकको भनाइ छ।

बैंकको सञ्चालनमा असर पर्दैन’

बैंकले जारी अनुसन्धान प्रक्रियाले आफ्नो दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने दाबी गरेको छ। साथै, नेपाल राष्ट्र बैंक लगायत सरोकारवालाबाट प्राप्त सहयोगप्रति आभारसमेत व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया