भुपेन्द्र थापा (माधव)
यो आन्दोलन कुनै कागजमा कोरिएको सिद्धान्त थिएन-यो त
आमाको काखबाट चुँडिएको छोराको अन्तिम सास थियो,
खेतको डिलमा ढलेको किसानको पसिना थियो,
कारखानाको धुवाँभित्र हराएको मजदूरको सपना थियो।
गाउँ-गाउँमा पुगेर
भोकसँगै लडका ती रात ,दिनहरू,
जनताको आँसु पुछ्दै
परिवर्तनको गीत गाएका ती रातहरू
त्यहीँबाट उठेको थियो
यो लाल इतिहास।
किन सत्ताको महल यति अग्लो भयो?
किन जनताको आवाज त्यहाँ पुग्नै छोड्यो?
हिजो भुइँमा किसान संग थिए,
आज किन सत्ता र सक्तिको बार्दलिमा छन्?
हिजो मजदुरको भोक र शोकका कुरा गर्थे,
आज किन विलासिताको टावरबाट चिच्चाउछन्?
यो केवल दूरी होइन,
यो त सम्बन्धको विछोड हो।
रगतले सिर्जिएको माटोमा
आज अपमानको धुलो छर्किएको छ।
त्याग र बलिदानका कथाहरू
सुविधाको स्वरमा हराएका छन्।
मजदूर अझै पसिना बगाउँदै छन्
किसान अझै ऋणमै डुबेको छ।
दलित अझै अपमानित छन्
महिला अझै संघर्षमै छन्।
नेतृत्वले वर्तमानको ऐना हेर्नुछ।
इतिहासले पटक-पटक भनिसकेको छ।
जनताबाट टाढिएको शक्ति
आफ्नै भारले ढल्दैछ।
हामीले बैरिका गर्जन सुनेका छौँ?
किन फेरि उही गल्ती दोहोर्याउँदैछौँ?
यो कविता आरोप होइन-यो सम्झना हो।
यो आक्रोश होइन-यो चेतावनी हो।
अझै समय छ-फेरि गाउँ फर्किने,
फेरि जनताको हात समाउने,
फेरि आफ्नै इतिहाससँग आँखा जुधाउने।
रगतले लेखिएको बलिदानका गाथा,
कुनै दिन मौनतामा हराउनेछ।
इतिहासले लेख्नेछ-उनीहरूले जिते,
हामीले जितेर पनि हार्यौ।











तपाईको प्रतिक्रिया