अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौं  २८ आश्विन २०८२

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीलाई प्रदान गरिएको छ । बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्वीडिस एकेडेमीले जनाएको छ ।
उनीहरू बैंक र वित्तिय संकटबारेको अध्ययनकर्ता हुन् । नोबेल पुरस्कार समितिकाअनुसार तीन पुरस्कार विजेताहरूले अर्थतन्त्रमा बैंकहरूको भूमिकाको बारेमा गरेको अध्ययनले आम बुझाइमा उल्लेखनीय सुधार गरेको छ । विशेषगरी वित्तीय संकटको समयमा र बैंकलाई पतन हुनबाट बचाउन अनुसन्धानले महत्वपूर्ण योगदान पुर्याएको समितिको निस्कर्ष रहेको इण्डिया टुडेले उल्लेख गरेको छ ।

“आधुनिक बैंकिङ अनुसन्धानले हामीसँग किन बैंकहरू छन्, तिनीहरूलाई कसरी संकटमा कम जोखिममा पार्ने र कसरी बैंकको पतनले वित्तीय संकटलाई बढाउँछ भन्ने कुरा स्पष्ट गर्छ । यस अनुसन्धानको जग बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगले सन् १९८० को दशकको सुरुमा राखेका थिए । उनीहरूको विश्लेषण वित्तीय बजार नियमन गर्न र वित्तीय संकटको सामना गर्न धेरै व्यावहारिक महत्व रहेको छ,” नोबेलको पत्रमा भनिएको छ ।

सन् १९६९ देखि आर्थिक विज्ञानमा ५३ वटा पुरस्कार प्रदान गरिएको छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अहिलेसम्म दुईजना महिलाले पाएका छन् ।

तपाईको प्रतिक्रिया