राष्ट्रिय खाद्य बैंकले पायो नयाँ सञ्चालक समिति, आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाडौँ २५ असोज २०८२।

राष्ट्रिय खाद्य बैङ्कको पाँचौँ वार्षिक साधारण सभा शनिवार भक्तपुरमा सम्पन्न भएको छ । शेयर लगानीकर्ताहरुको बाक्लो उपस्थीतिमा सभा सम्पन्न भएको हो ।

सभामा बैङ्कका संस्थापक अध्यक्ष शङ्करनाथ उप्रेतीले आफूहरूको सपनाले मूर्तरूप लिन थालेको बताउँदै हालसम्मको प्रगति र आगामी योजनाबारे जानकारी गराएका थिए ।

शिक्षाविद् केदारनाथ श्रेष्ठको प्रमुख अतिथि रहेको उद्घाटन सत्रमा बोल्दै उप्रेतीले किसान को आली देखि उपभोक्ताको थाली सम्म भन्ने मूल नाराको साथ स्थापना भएको राष्ट्रिय खाद्य बैङ्क पब्लिक लिमिटेडको कृषि योग्य जमिनको खण्डीकरणलाई चक्लाबन्दी गरी जीवन निर्वाहमुखी खेती प्रणालीलाई नयाँ प्रविधि, प्राङ्गारिक मल तथा उन्नत बिउ बिजन प्रयोग गरी व्यावसायिक खेतीको रूपमा रूपान्तरण गर्दै रैथाने बाली नालीको संरक्षण गरी कृषि फसलको उत्पादकत्व वृद्धि गर्ने बैङ्कले प्रयास रहँदै आएको बताए ।

उनले बैङ्कले हालसम्म गरेका कामहरूका बारे पनि लिखित विवरण पेस गरे । १ हजार २० जना शेयर सदस्य रहेको बैकको पुजी एक अर्ब पुगेको र आर्थिक वर्ष ०८२/ ०८३ मा ७० करोडको प्रमोटर र ३० करोडको सर्वसाधारण शेयर वितरण गर्ने गरी ग्लोबल क्यापिटल आइएमइसँग आइपिओमा जाने सम्झौता भएको जानकारी दिए । यस्तै ललितपुर जिल्लाको एकान्तकुना, कुसुुन्तिको साढे चार आनामा बनेको साढे तिन तले घर ५ करोड ५० लाखमा खरिद गरी आफ्नो केन्द्रीय कार्यालयको स्थायी निजी भवन स्थापित गरेको र निजी भवनमा ३ महिना भित्र केन्द्रीय कार्यालय स्थापित गरिने पनि उनले साधारण सभालाई जानकारी दिए ।

कार्यक्रममा विशेष अतिथि पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पोषणविद् डा अरुणा उप्रेती, रामपुर विश्व विद्यालयका पूर्व भि सी कैलाशनाथ प्याकुरेल, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभामा प्राविधिक सन्तोष प्रसाईँ, संदिप पौडेल, नेप्सेका पूर्व अध्यक्ष प्रा.डा जीवनाथ धिताल र गुणस्तर विज्ञ डा. ईश्वर सुबेदीले विषयगत प्रस्तुति राखेका थिए । साधारण सभाले सञ्चालक समितिको नयाँ कार्यसमिति चयन गरेको छ ।

यस्तो छ नयाँ सञ्चालक समिति

राष्ट्रिय खाद्य बैङ्कको पाँचौँ वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले अध्यक्षमा किशोर कुमार प्रधान, सञ्चालक सदस्यहरुमा प्राडा भरत पहारी, प्राडा मोहन प्रसाद पन्थी, दुर्गा कुमार थापा, डा हरिकृष्ण दहाल, सुर्यबहादुर अधिकारी र पवित्रा कुमारी पोखरेल गरी ७ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । त्यसैगरी सभाले संस्थापक अध्यक्ष डा शंकर उप्रेतीलाई बैंकको सिइओको जिम्मेवारी सुम्पेको छ ।

त्यसैगरी सभाले आइपिओ निष्काशन गर्ने प्रस्ताव समेत सर्बसम्मत पारित गरेको छ । कुल पुँजीको ३० प्रतिशत आइपिओ निष्काशनको लागि खाद्य बैंकले गत महिना नै आइएमइ क्यापिटल लिमिटेडसँग सम्झौता गरिेसकेको छ ।

तपाईको प्रतिक्रिया