काठमाडौं २४ भाद्र २०८२
हिजो १९ जना विद्यार्थीको मृत्यु र सयौँ घाइते हुनेगरी भएको सरकारी दमनको विरोधमा आज बिहानैदेखि देशभर विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। स्कूल र कलेजको पोशाकमा झोला बोकेर सडकमा निस्किएका विद्यार्थीहरूले “विद्यार्थी मार्न पाइँदैन” र “भ्रष्ट सरकार मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।
हिजोको जेनजी आन्दोलनमाथि प्रहरीले गरेको दमनको आक्रोश आज काठमाडौँका सडकमा स्पष्ट देखिएको छ। नयाँ बानेश्वर, जोरपाटी, र कलंकीलगायतका क्षेत्रमा स्वतःस्फूर्त रूपमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। सरकारले उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु लगाए पनि प्रदर्शनकारीहरूले त्यसको अवज्ञा गर्दै आन्दोलनलाई तीव्र बनाएका छन्।
कलंकीमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भएको छ। प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रदर्शनकारीहरूले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुर, सुनाकोठीस्थित निवासमा आगजनी गरेका छन्। प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि आगजनीमा उत्रिएका हुन्। यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा पनि प्रदर्शनकारीहरूले ढुंगामुढा र आगजनी गरेका छन्।
यसैबीच, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेका केही प्रदर्शनकारीहरूलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ। प्रहरी र प्रदर्शनकारीबीच तनाव बढ्दै गएको छ।
सरकारले कर्फ्यु लगाएर आन्दोलन दबाउने प्रयास गरे पनि प्रदर्शनकारीहरूको आक्रोश थामिएको छैन। विद्यार्थीहरूले सरकारको दमनकारी नीति र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाइरहेका छन्। आन्दोलनकारीहरूले नेताहरूको निवासतर्फ अघि बढ्ने क्रम जारी राखेका छन्।











तपाईको प्रतिक्रिया