काठमाडौं २३ भाद्र २०८२।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलाई लक्षित गरी १,५०० खसीबोका र ३०० च्याङ्ग्रा खरिद गरी बिक्री गर्ने तयारी गरेको छ। चाडपर्वमा बजारमा खसीबोकाको मूल्यवृद्धि हुने भएकाले उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउन र बजार हस्तक्षेप गर्न यो योजना ल्याइएको हो।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार, खसीबोका र च्याङ्ग्रा खरिदका लागि ५ करोड रुपियाँ बजेट छुट्याइएको छ। अनलाइन बुकिङ प्रणालीमार्फत माग बढी आएमा खरिद सङ्ख्या थप गर्न सकिने उनले बताए। मुस्ताङबाट च्याङ्ग्रा र नवलपुर, हेटौँडा तथा दाङबाट खसीबोका खरिद गरिने छ। यी पशुहरू घटस्थापनाको दिन काठमाडौँ भित्र्याइने कम्पनीले जनाएको छ।
कम्पनीले अनलाइन बुकिङ प्रणाली खुला गरिसकेको छ, जसमा खसीबोकाका लागि ४,००० रुपियाँ र च्याङ्ग्राका लागि ५,००० रुपियाँ अग्रिम भुक्तानी गर्नुपर्नेछ। भदौ ३० सम्म बुकिङ खुला रहनेछ। उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमार्फत आफूलाई चाहिने खसीबोका वा च्याङ्ग्रा छनोट गर्न सक्नेछन्। एकपटकमा अधिकतम १० वटासम्म बुक गर्न सकिने व्यवस्था छ।
खसीबोका र च्याङ्ग्राको अन्तिम मूल्य तौलका आधारमा निर्धारण हुनेछ। कम्पनीले २०-२५ किलो, २५-३० किलो, ३०-३५ किलो र ३५-४० किलो तौल समूहमा आधारित छनोट विकल्प उपलब्ध गराएको छ। अग्रिम भुक्तानी रकम कुल बिलबाट कटौती गरिनेछ।
बुकिङ गरिएका खसीबोका र च्याङ्ग्रा घटस्थापनादेखि सप्तमीसम्म वितरण गरिनेछ। उपभोक्ताले बुकिङका क्रममा आफूलाई पायक पर्ने मिति छनोट गर्न सक्नेछन्। बुकिङ र भुक्तानी प्रक्रिया पूरा भएपछि एसएमएसमार्फत कोड र पशु बुझ्ने मिति पठाइने छ।
कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खरिद गर्दा प्रतिकिलो १० रुपियाँ छुटको व्यवस्था गरिएको छ।
दसैँको समयमा काठमाडौँ उपत्यकामा खसीबोका र च्याङ्ग्राको माग उच्च हुने र निजी व्यापारीले मनपरी मूल्य लिने गरेकोले बजार मूल्य नियन्त्रण गर्न कम्पनीले हरेक वर्ष यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसले उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय पशु उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको दाबी छ।










तपाईको प्रतिक्रिया