काठमाण्डौ १७ असार २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नागार्जुन नगरपालिका वडा नम्बर ८ का निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद सजाय तोकेको छ। साथै, अदालतले बस्नेतको २६ करोड २५ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गर्ने निर्णय गरेको छ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले सोमबार बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) अनुसार ८ वर्ष र दफा ३०(१) अनुसार थप ३ महिना कैद तोकेको हो।
बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलमार्फत ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगमा दोषी ठहर गरिएको हो। आयोगले २०८१ पुस १४ गते उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
विशेष अदालतले बस्नेतसँगै दोषी ठहर भएका पद्मा कोलोनीका सञ्चालक कँडेललाई पनि सजाय सुनाएको छ। साथै, अदालतले बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा जम्मा गर्न आदेश दिएको छ।










तपाईको प्रतिक्रिया