हेटौंडा सिमेन्ट निजीकरणमा बिचौलिया र व्यापारी मिलेमतोका गन्धहरु आईरहेका छन् : बिजय गौतम (अन्तर्वार्ता)

BusinessPost बिजनेस पोष्ट

बिजय गौतम
केन्द्रिय सदस्य, नेकपा माओवादी केन्द्र
एवं मकवानपुर इन्चार्ज

१) माओवादी केन्द्रको पछिल्लो अवस्था र राजनीतिक अभियानहरुको बारेमा केही बताइदिनुहोस् न ?
अहिले बिशेषतः माओवादी केन्द्रले बेथिति र भ्रष्ट्राचारको विरुद्ध सुशासन र सामाजिक न्यायको पक्षमा राष्ट्रव्यापी रुपमा अभियानात्मक ढंगले कार्यक्रमहरु गरिरहेको छ। त्यसको महत्वपूर्ण कडीको रुपमा हालै उल्लासपूर्ण तवरले सम्पन्न भएको हुलाकी राजमार्ग केन्द्रीत तराई, मधेश जागरण अभियानलाई लिन सकिन्छ। यसको अर्को अध्यायको रुपमा जेठ २ गतेबाट सुदुरपश्चिम प्रदेशको बैतडीबाट मध्यपहाडी लोकमार्ग केन्द्रीत जागरण अभियान अगाडी बढ्दै छ। यसको अतिरिक्त खबरदारी र जागरणको अभियानकै रुपमा पार्टी र जबसका संगठनहरुको भेला, सम्मेलन, प्रशिक्षण लगायतका कार्यक्रम समेत निरन्तरतामा अगाडी बढेका छन्। जेठ मसान्तसम्म पुग्दा यसप्रकारका अभियानात्मक गतिबिधिका उत्कर्षहरु देखा पर्ने विश्वास लिएका छौं। यसबीचमा हामीले गणतन्त्रका बैरीहरुलाई जवाफ दिने गरी बिशाल प्रदर्शन गर्यौं। जसले सलबलाएका कथित राजावादीहरु आफ्नो जमिन, धरातल हेर्नुपर्ने ठाउॅमा पुगे।
आज आम जनसमूदायले देशव्यापी रुपमा हाम्रो पार्टी र नेतृत्वप्रति आशा, विश्वास र भरोसा गर्नु भएको छ। यसले उत्साहित मात्र गरेको छैन सॅग-सॅगै दायित्वबोध समेत गराएको छ। हामीले यसलाई बलशाली संगठन, प्रभावशाली बिचार र राजनीति तथा राष्ट्र निर्माणको हुटहुटीमा अभिव्यक्त गराउने कोशिस गरिरहेका छौं।

२) तपाइ माओवादीको मकवानपुर इन्र्चाज भएपछि के के गर्नुभयो । मकवानपुरमा माओवादीको अवस्था के हो ?
मूलतः संगठनात्मक कार्यभारलाई व्ववस्थित ढंगले सम्पन्न गर्ने कोशिस गरिएको छ। पार्टी वडादेखि पालिकास्तरका अधिवेशन तथा जबस र मोर्चा संगठनका जिल्ला स्तरका सम्मेलनहरु सम्पन्न गर्ने कामहरु गरिए। साथै राजनैतिक, बैचारिक तहका छलफल, प्रशिक्षण, कार्यशालाहरु सम्पन्न गरिए। नेता, कार्यकर्तालाई संगठनमा, संगठनलाई जनतामा र जनताका अभिमत पार्टीमा एकप्रकारले भन्दा भाईसभर्सा सम्बन्धलाई जीवन्त राख्ने कोशिसहरु भएका छन्। निराशाहरुलाई आशामा बदल्ने, जिल्लाभित्र देखापरेका नकार पक्षको भण्डाफोर गर्दै आशाको क्षितिजतर्फ अगाडी बढ्ने र बढाउने अनन्त कोशिसहरु जारी छन्। एउटा सुदृढ संगठन र जनआधारित एजेण्डाप्रतिको अथक प्रयत्नले पक्कै पनि राम्रो परिणाम दिनेछ। हामी विश्वस्त छौं कि, माओवादी केन्द्र मकवानपुर ०६४ को जस्तै शानदार जनमतका साथ देखापर्नेछ।

३) सरकारले हेटौंडा सिमेन्ट्सलाई नीजिकरण गर्ने निर्णय विरुद्ध तपाइहरुले विरोध जनाइ रहनु भएको छ । घाटामा गइरहेको संस्थानलाई नीजिकरण गर्दा किन विरोध ?
पहिलो कुरा, हेटौंडा सिमेन्ट उध्योग भित्रको समस्याको पहिचान र बस्तुनिष्ठ समाधानको पहल नभएर हौवा प्रेरित हॅुदा सरकार निजीकरणको गलत निर्णयमा अगाडी बढिरहेको छ । दोश्रो, लामो समयदेखि हेटौंडा सिमेन्टको भौतिक सम्पत्ति र बौद्धिक (गुडबिल) सम्पत्तिमा ॲाखा गाढेर बसेका केही बिचौलिया र व्यापारीको मिलेमतोका गन्धहरु आईरहेका छन्। तेश्रो कुरा, यस्ता उध्योगहरुले उत्पादन मात्रको काम गरिरहेको हॅुदैन। कालोबजारी नियन्त्रणदेखि राज्यको चरित्र, औधोगिक बातावरण, उध्यमशीलताको प्रवर्दन तथा रोजगारीको अवसर लगायत धेरै पक्षमा एकसाथ काम गरिरहेको हुन्छ।
यस्ता धेरै पक्षहरुमा आधारित भएर हामी निजीकरणको बिरोध गरिरहेका छौं। जुन उत्पादनको माग बजारमा कहिल्यै घटेन त्यसमा घाटा हुनु भनेको त्यहॅा आन्तरिक गढबढ छ भनेर त्यसमा आवश्यक करेक्सन गरेर बढ्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो। यसलाई नजरअन्दाज गरेर गरिने निजीकरण उल्टो बाटो हो।

४) माओवादी शान्ति प्रक्रियामा आइसकेपछि धेरै बर्ष सत्ता र शक्तिमा रह्यो । अहिले बाहिर हुँदा अलिकति छटपटी जस्तो पनि देखिन्छ । फेरी पनि जनताले माओवादीलाई विश्वास गर्नुपर्ने कारण के हुन् ?
अहिले माओवादी केन्द्रले गरिरहेको खबरदारी, भण्डाफोर र जागरणको प्रयत्नलाई छटपटीको रुपमा चित्रित गर्नु भनेको हाम्रो पार्टी मात्र नभएर सुशासनमाथिको प्रहार हो। सारमा राष्ट्र र जनता माथिको अन्याय हो। त्यसैले अहिले माओवादी केन्द्र सहि बाटो हिॅडिरहेको छ। बरु हिजोका दिनमा निरन्तरको सरकार सहकार्यमा कमजोरी देखिए होलान्। तर आज हाम्रो पार्टी र नेतृत्व जसरी जनताका बिचमा रमाईरहेको छ यसले नयॅा सम्भावनाको उजागर गरिरहेको छ। यसको पृष्ठभागमा माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासनको पक्षमा चालेका सशक्त कदमहरु स्मरणीय छ। यसबाट अत्तालिनेहरुले बिभिन्न फुर्को जोडेर बिरोध गरिरहेका छन्। जसको कुनै औचित्य छैन। त्यसैले आज सुशासन, सामाजिक न्याय र सम्बृद्धीका निम्ति अर्थात् समाजवादको उज्यालोमा मुलुकलाई लैजानका सक्ने निर्विकल्प शक्तिको रुपमा माओवादी केन्द्र नै देखापरेको छ। यसैले पनि नयॅा विश्वास र भरोसाहरु जागृत भएका छन्।

प्रकासित मिति २०८२-२-२

फेसबुकबाट तपाईको प्रतिक्रिया