काठमाण्डौ २३ चैत्र २०८१
यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५१ प्रतिशत अर्थात् ४०.०९ अंक बढेर २७०३.३९ विन्दुमा बन्द भएको छ। गत साता २६६३.३० विन्दुमा रहेको नेप्सेले यो साता उल्लेख्य प्रगति हासिल गरेको हो। साताको ४ कारोबार दिनमध्ये ३ दिन नेप्से बढेको थियो भने १ दिन घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ३.७९ अंक, फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंकले बढेको छ। यी सूचकहरूको वृद्धिले बजारको समग्र सकारात्मक गतिलाई संकेत गर्छ।
नेप्सेसँगै यस साता कारोबार रकममा पनि वृद्धि भएको छ। गत साता दैनिक औसत ५ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएकोमा यस साता यो रकम बढेर दैनिक औसत ६ अर्ब ६६ करोड पुगेको छ। यो गत साताको तुलनामा ३१.११ प्रतिशतको वृद्धि हो। त्यस्तै, दैनिक औसत शेयर संख्या २५.०२ प्रतिशत र दैनिक औसत कारोबार संख्या ७.७८ प्रतिशतले बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशतले बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २२ अर्ब रहेको बजार पूँजीकरण यस साता ६६ अर्बले बढेर ४४ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ।
Advertisement
यस साता १३ मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ। व्यापार उपसमूहको परिसूचक ११.४३ प्रतिशतले बढेर ४७९६.३८ विन्दुमा पुगेको छ, जुन गत साता ४३०४.५५ विन्दुमा थियो। लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी र अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतले बढेको छ। यता, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने २.४० प्रतिशतले घटेर ७०३२.२९ विन्दुमा झरेको छ।
यस साता नेप्सेमा ६ कम्पनीको ५ करोड ७ लाख ४३ हजार १८४.११ कित्ता शेयर सूचीकृत भएको छ। मितेरी डेभलपमेन्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स, नेपाल एसबिआई बैंकको बोनस शेयर, बलेफी हाइड्रोपावर र ङादी ग्रुप पावरको हकप्रद शेयर तथा नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सूचीकृत भएका छन्।
यस साता राधी विद्युत कम्पनीको शेयरमूल्य १३.७३ प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य साढे १२ प्रतिशत र विशाल बजार कम्पनीको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी बढेको छ। उता, विन नेपाल लघुवित्तको शेयरमूल्य भने १०.३४ प्रतिशतले घटेको छ।
फ्लोरसिट विश्लेषणअनुसार ९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८८, राष्ट्रिय बीमा कम्पनी र कृषि विकास बैंक मोस्ट पपुलर बाइ स्टक सूचीमा शीर्ष स्थानमा छन्। त्यस्तै, चन्द्रागिरी हिल्स, कुथेली बुखारी स्मल हाइड्रोपावर र सयपत्री हाइड्रोपावर मोस्ट पपुलर सेल स्टक सूचीमा अग्रस्थानमा रहेका छन्।

बिजनेस पोष्ट









फेसबुकबाट तपाईको प्रतिक्रिया