रौतहटमा हावाहुरीले सयौँ बिघाको केरा र मकै बाली सोत्तर

Bizness Post बिजनेस पोष्ट
|
१ महिना अगाडि

रौतहट ३ चैत २०८२– सोमबार राति आएको विनाशकारी हावाहुरीले रौतहटका किसानलाई मर्माहत बनाएको छ। करिब दुई घण्टासम्म चलेको तीव्र गतिको हुरीले जिल्लाको उत्तरी भेगमा ठूलो धनमालको क्षति पुर्‍याएको छ। विशेषगरी चन्द्रपुर नगरपालिकाको गैडाटार क्षेत्रमा लगाइएको केरा खेती र आसपासका क्षेत्रको मकै बाली हुरीले सोत्तर बनाएपछि किसानहरूको बिचल्ली भएको हो।

स्थानीयका अनुसार पाक्ने बेला भएका केराका बोटहरू जरैदेखि उखेलिएका छन् भने कतिपय बीचैबाट भाँचिएका छन्। सयौँ बिघामा फैलिएको व्यावसायिक केरा खेती नष्ट हुँदा किसानको लाखौँको लगानी बालुवामा पानी भएको छ। स्थानीय काजीमान माझीका अनुसार पाक्न लागेको फसल भित्र्याउने सपना बुनेका किसानहरू अहिले बारीमा ढलेका बोट हेरेर रुनु न हाँस्नुको अवस्थामा पुगेका छन्।

हावाहुरीको असर मकै बालीमा पनि उस्तै देखिएको छ। चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडाहरूमा लगाइएको मकै बालीमा हुरीले ठूलो क्षति पुर्‍याएको छ।

घोगा लाग्ने महत्वपूर्ण समयमा मकैका बोटहरू ढलेपछि यस वर्ष उत्पादनमा भारी गिरावट आउने निश्चित भएको छ। वृन्दावन नगरपालिका–१ मा मात्रै करिब २०० बिघा क्षेत्रफलको मकै बाली नष्ट भएको प्रारम्भिक अनुमान छ।

तपाईको प्रतिक्रिया