जेन–जी आन्दोलनमाथी भयानक खेलांची

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

भुपेन्द्र थापा (माधव)
झुटको कालो पर्दा भित्रबाट सपनाको सिंगापूरमा सुरुङ्ग नै सुरुङ्गको रेल यात्रा गराउने तर जनताका जीवनस्तरसँग गाँसिएका सामान्य भन्दा सामान्य विषयहरुलाई व्यवहारमा उतार्न नसक्ने, जनताका छोराछोरी र नेताका छोराछोरी बिचको जीवनशैलीमा देखा परेका गहिरो असमानता, राज्य सत्तामा आसिन भएका नयाँ पूराना बादशाहहरुले गरेका अन्याय अत्याचार, थिचोमिचो, कुशासन र भ्रष्टाचारले सिमा नाघेपछि नवयूवाहरुमा अधिकार र प्रश्नको जागरण पैदा भयो ।
एक्काइशौं शताब्दीको विज्ञान र प्रविधिको युगमा स्वाधिन मुलुकका स्वतन्त्र जनता ३५–४० प्रतिशत गरिबीको रेखामूनि किन हुन पुगे ? गरिब देशका नेताका छोराछोरीको विलासी जीवनशैलीप्रतिको जाग्रित प्रश्न सामाजिक रुपमा उठ्नु अनौठो होइन । बुबा पुस्ता र हजुरबुबा पुस्ता सिँगो राजनीति बाहेक उत्पादन र आयआर्जनमा जोडिएको देखिंदैन तर तिनी र तिनका पुस्ताको अकुत सम्पत्ति कहाँबाट आयो ? यसको स्रोत कतैबाट पनि पुष्टि गर्न सक्ने आधारहरु देखिंदैन । उता जनता रातदिन रगत पसिना बगाएर देश–विदेशमा श्रम बेच्न भौतारिंदै हिड्न बाध्य छन् । श्रम गर्ने मजदुर–किसानका घरपरिवार किन सधैं दुःख कष्टमा बाँच्न बाध्य छन् । एकछाक टार्न र एक झुम्रोको व्यवस्थाका लागि खाडी मूलुकको तातो घाममा आफ्ना सामान्य आवश्यकतालाई पूरा गर्न भोक, रोग र अभावको खेतीमा रगत पसिनाको सिंचाई गर्दैछन् । कयौंले पसिनाको खेतीमा बाली नभित्राई बाकसमा फर्किनु परेका कथा बेथा दिनौ सुन्नु परेकै छ । आफ्ना सबै चाहाना सिध्याएर पनि आफ्नो बच्चाहरुका आहारा र रहर पूरा गर्न उडेका कयौं घाईते, अपाङ्ग भएर फर्कन परेको छ ।

जनताका छोराछोरीले यति धेरै दुःख, कष्ट र विछोड व्यहोरे पनि शिक्षा, स्वास्थ्य र रोजगारी सहित उज्वल भविष्यको सपना किन देख्न सक्दैनन् ? कृषि प्रधान देशका किसान कहिले प्रधान भएनन् । संसारको पेट भर्ने किसान भोक भोकै मर्न बाध्य छन् । हातमा सिप र पसिनामा रुझ्ने मजदुर कहिल्यै अभावबाट मुक्त भएनन् । देशमै केहि उद्यम गर्छु भन्ने उद्यमीहरु आत्मदाह र आत्महत्याको सिकार हुन बाध्य छन् । लाखौं सचेत शिक्षित युवाहरु भविष्य र सपनाको पोका पन्धरा बोकेर विदेशीएका छन् । गाउँका खेतिवारी उजाड छन् गाउँ बृद्ध र बालआश्रममा परिणत भएको छ । विदेशीएका युवाहरु कहिले इराकमा सामुहिक रेटिएका घटना त कहिले बिपिन जोशी बन्नु परेको छ । राजनीतिको शिखरमा बस्नेहरु भ्रष्टाचार, तस्कारी र कालोबजारी गर्न व्यस्त छन् । लाउडा काण्ड देखि ललिता निवास, गिरीबन्धु देखि सुन तस्करीसम्म १०० घोटाला र तस्करीका ठूला–ठूला काण्डले मुलुकमा आतंक मच्चाएर गिरोह चलाउने नै लोकतन्त्रको हिमायति दावी गर्ने यी र यस्ता यावत समस्या र प्रश्नै प्रश्नको सम्भोगबाट गर्भमा हुर्केको विद्रोहसँगै दन्केको ज्वालामुखी नै जेन–जी नामक परिवर्तनकारी सुनामी हो । भाद्र २३–२४ मा भएको जेन–जी आन्दोलन पछि सत्ताच्युत शासकहरुमा चेत र चेतनाको आँखा खुल्यो भन्ने लागेको थियो तर त्यसको ठिक विपरित हुन पुग्यो । परम्परागत राजनीतिक पार्टी र असफल वयोवृद्ध नेताहरु आफ्ना विभिन्न अपराध, राष्ट्रघात, जनघात, झुट र लुटको लंका बचाउन हदैसम्मको हर्कतमा ओर्लिएका छन् । आफूहरुकै राजनीतिक कार्यशैली र भड्किलो जीवनशैलीका कारण जेन–जी सुनामी आयो ३६ घण्टामा सत्ता र शक्तिको लंकामा आगो लाग्यो तहस–नहस सँगै खरानीमा परिणत भयो । हाम्रो नीति, विधि र व्यवहारकै कारण मुलुकले आजसम्मकै सबै भन्दा ठूलो क्षति व्यहोर्नु प¥यो । ति कलिला बालबालिकाहरु अनहाकै जीवन गुमाउनु प¥यो । यति ठूलो नरसंहार मच्चाएर पनि जनताका आरोपीहरु पछि हट्न तयार देखिंदैनन् । जसरी पनि पार्टी सत्ता र राज्य सत्ताको शिखरमा निरन्तर रहिरहने उद्देश्य सहित विभिन्न अप्राकृतिक तानाबाना बुन्ने पार्टी भित्र र बाहिर आफ्नो पक्षमा माहोल कायमै राख्न जेन–जी आन्दोलनका माग र मुद्दालाई निस्तेज पार्न, आन्दोलन, विदेशीको इसारामा थियो भन्ने भ्रामक प्रचार गर्न, घुसपैठ, आतंक र हत्याकाण्ड अरुलाई थोपर्न, दलाल, भ्रष्ट, झोला र चम्चा नामक दृष्य–अदृष्य हुल–हुलैया परिचालन गरी रहेछन् । नेपालमा लोकतन्त्र संस्थागत हुनुको साटो गिरोह प्रवृत्तिले नेपाली समाजलाई चेपुवामा पारेको छ । जसका कारण सुधारका बाटाहरु कठिन हुन पुगेको छ ।

नवयुवाहरुको राजनीतिक चेतनासँगै जागरणले लोकतन्त्रमा नयाँ उर्जा ल्याए पनि राजनीतिक नेतृत्व र दलहरुमा आत्म मन्थन र त्यागको अभाव देखिन्छ । लोकतन्त्रका सुदृढीकरणका लागि अहिंसा, संवाद, पारदर्शिता र नैतिक बल अपरिहार्य हुन्छ । अन्यथा लोकतन्त्र कागजी दस्तावेजमा मात्र सीमित हुने खतरा हुन्छ । त्यसैले परमपरागत नेताहरु पार्टीसत्ता र राज्यसत्ताको नेतृत्व गर्न नीति एवं नैतिक रुपमा असक्षम छन् भन्ने कुरा स्थापित गर्न सचेत युवाहरुले असान्दर्भिक भईसकेका पुस्तालाई निस्तेज तुल्याउन हरेक पार्टीभित्र र बाहिरबाट युवापुस्ताको सक्रिय हस्तक्षपसँगै अग्रसरताको आवश्यक पर्दछ । आम किसान, मजदुर, कर्मचारी, पत्रकार, लेखक, नागरिक समाज, समाजसेवी, सामाजिक अभियान्ता लगाएत सम्पूर्ण प्रगतिशील देशभक्तहरुले सुख, शान्ति र समृद्धिको ठूला–ठूला आस्वासनको भ्रमजालबाट मुक्त भएर गलत नेतृत्वको तालमा ताली बजाउँदै हिड्ने गन्तव्य बिहिन भिडलाई अन्धकारको सुरुङ्गबाट निकाल्नु पर्दछ । जबसम्म नेतृत्वको गलत पाईला रोक्ने साहस र झुटो प्रचार प्रतिको खवरदारी गर्ने हिम्मत जुटाउन सके मात्र सहि र इमान्दार नेतृत्व समाजले जन्माउन सक्दछ । नेतृत्वलाई तालि मात्र होइन नियन्त्रणका लागि खबरदारी गर्न सक्ने आधारहरु पनि सँगसँगै निर्माण गर्न सक्नु पर्दछ । भाषण र घोषणाको अभिव्यक्ति होइन सत्य, तथ्य र वास्तविकता पहिचान गर्न सक्ने प्रगतिशील चेतना निर्माण गर्नु पर्दछ । जहाँ जागरुकता मौन रहन्छ कायरता र चाकडीवाद मौलाउँछ त्यहाँ आस्था होइन अन्धभक्त र अन्धविश्वासले मार्ग निर्देशन गरिरहने छ । विग्रियो, बासियो, वर्वाद भयो भनेर कराउन सजिलो छ । गुनासो गर्नु सहज छ । सडकमा कराउनु सरल छ । सामाजिक सञ्जालमा आक्रोस व्यक्त गर्नु पनि कठिन छैन । अरुलाई उक्साउनु पनि गा¥हो छैन तर सुधारका बाटाहरु पहिल्याउनु पनि सजिलो छैन । सुधारका लागि प्रक्रिया चाहिन्छ । पद्धतिप्रतिको प्रतिवद्धता र खबरदारी चाहिन्छ । नवयुवाहरुका समस्याको जड नै यहि हो । त्यसैले द्वन्द्वको मुल्य मुलुकले कति चुकाउनु पर्ने हो । अझै राम्ररी अनुमान गर्ने स्थिति छैन । न्याय, अधिकार, सार्थक सहभागिता, पारदर्शिता, जवाफदेहिता, प्रक्रिया र संवादसँग सम्बन्धित मूल्य–मान्यता फेरी एक पटक चेपुवामा परेका छन् । समकालिन विश्व राजनीतिमा फ्रान्सका इमानुएल म्याक्रोन, अष्ट्रियाका सेवास्टियन कुर्ज वा फिनल्याण्डकी साना मरिन जस्ता नेताहरुले युवा उमेरमै आफ्नो नेतृत्व क्षमता उजागर गरेर देखाएका सन्दर्भ सुनाएर मात्र नभई आफै सन्दर्भ बन्ने पहल सहित सम्पूर्ण प्रगतिशील, परिवर्तनकारी युवापंक्तिहरु एक हुन आवश्यक छ । विडम्बना त्यस्तो देख्न मुस्किल भएको छ । त्यसको फाईदा परम्परागत दलहरुले सत्ताभित्र र बाहिरबाट लड्ने काम देखिदै गर्दै आएका छन् । जेन–जी आन्दोलन र बलिदानको जगमा गठन भएको सुशिला कार्की सरकारले आन्दोलनका माग, मुद्दा र नाराप्रति त्यति चासो देखाएको छैन ।

हरेक आन्दोलनका आ–आफ्नै कार्यदिशा हुने गर्दछ । २०४६ सालको पञ्चायत विरुद्ध आन्दोलन पछि बहुदलवादीहरुले पञ्चायतकालिन विभिन्न काण्ड, दमन, हत्या, भ्रष्टाचार, अनियमितता र सत्ता उन्मादमा संलग्न कुनै पात्रलाई पनि कारवाहीको आवश्यक ठानेनन् । बरु उल्टै तीनै पञ्चहरुलाई सत्ताको शिरमा राखेर नयाँ–नयाँ भ्रष्टाचारको काण्ड मच्चाए । २०६२÷६३ को जनआन्दोलन दश वर्षे जनयुद्धको जगमा हजारौं सहिदहरुको बलिदान पछि सफल भयो । समावेशी, समानुपातिक, संघियता, धर्म निरपेक्षता सहित लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । माओवादीको सत्ता दोहणले पनि पूराना राजनीतिक पार्टी नेतृत्व पात्र अनि प्रवृत्तिलाई जवाफदेहि र दोष अनुसार कारवाहीको साटो झुट र लुटको स्वर्गमा सँगै भागबण्डा, आलोपालोसँगै सत्ताको सिनो गिद्धले झै मिलिजुली लुछिरहे । भाद्र २३–२४ को जेन–जी आन्दोलन र परिवर्तनको सत्ता पनि २०४६, २०६२÷६३ को नयाँ संस्कार भन्दा खासै फरक देखिएन । भाद्र २३–२४ मा तत्कालिन ओलि सरकारले गरेको नरसंहारको छानविन र दोषी उपर कारवाहीको बारेमा सरकार मौन देखिन्छ । सहिद परिवारले गरेका याचनामा कानमा तेल हालेर बसिरहेछ । घाईते अपाङ्ग योद्दाहरुको आवाज सुन्दैन जनताका छोराछोरीहरुको रगत पिएर मैमत्ता रक्तपिपासु दानवहरु छाती पिटेर सहिदको रगतमा आतंकारी विष घोलेर युवाको बलिदानमाथि विदेशी दुर्गन्ध मिसाएर समाजमा नयाँ आतंकको ढोल बजाउँदैछन । लाग्छ कार्की सरकार ओली, दहाल र देउवाकै सिफारिसमा निर्माण भएको हो । २०४६ सालदेखि यता र लाभको पदमा बसेका वडा देखि सिंहदरबारसम्म छानविन कहिले हुन्छ ? ठूला–ठूला राष्ट्रिय गौरवका आयोनजामा भएका घोटालाका फाईल कहिले खुल्छ ? ७८ जना परिवर्तनकारी सहिदको रगतले न्याय कहिले पाउँछन् ? कारवाहीको याचना र आमाहरुको चित्कार सिंहदरबारकी आमाले कहिले सुन्ने र बुझ्ने ? भ्रष्टाचार र अनियमितताको पहाड कहिले फोर्ने ? प्रदेश खारिज कहिले हुन्छ ? प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुन्छ कि हुँदैन ? पुर्नसमानुपातिक व्यवस्थामा जान सकिन्छ की सकिदैन ? यी सबै प्रश्नको उचित उत्तर विद्यमान कार्की सरकारले दिनु पहिलो कर्तव्य हो । सत्ताको घोडाबाट लडेका अपराधिक गिरोहहरु जेन–जी नेतृत्व र कार्की सरकारलाई लंकारी रहेका छन् । विद्रोहबाट उत्पन्न संकट संक्रमणमा घुसेर नेपाल आमाको अस्मिता माथि कुत्सित ÷ अपराधिक खेल खेलिरहे छन् । देशी–विदेशी दलालहरु राज्य बिहिनता र असुरक्षाका कालो भूमरी निम्त्याएर जनताहरुमा त्राहिमानको सिर्जन थोपर्दै छन् ।

विद्रोहको रक्तमुछेल भावभूमिमा कार्की सरकार सहिदको आमा, घाईतेको मलम, आन्दोलनको आवाज र राष्ट्रको अभिभावक किन बन्न सकेन् ? विस्तारै–विस्तारै कार्की सरकारको रुप कठपुतलीमा परिणत हुँदा रगतको मूल्य माथिनै भयानक खेलाचि भएको महशुस आममा देखा पर्दै गएको छ । जनसंख्या र मतदातामा युवाको बाहुल्यता अगाडी रहेता पनि देशलाई दिशानिर्देश गर्ने, नीति निर्माण गर्ने सत्ता र सरकारमा बसेर राष्ट्र हाक्ने थलोमा भने युवा प्रतिनिधिहरु असाध्यै पछाडी छन् तर जेन–जी आन्दोलन पछि गठन भएको कार्की नेतृत्वको सरकारले समेत जेन–जी वा कम्तिमा युवा उमेर समूहमा पर्ने व्यक्तिहरुलाई मन्त्रिपरिषदमा समेट्न सकेन ।
जसका कारण आन्दोलन प्रति न्याय गर्न प्रधानमन्त्रि कार्की चुकिरहेकी छन् । यथासिघ्र युवा क्षमताको उपयोग र विभिन्न निर्णय प्रक्रियामा सहभागी गराउन कार्की सरकारको पहल अगाडी बढोस्… तवमात्र आन्दोलनको मर्म र भावनाले स्थान पाएको महशुस हुनेछ ।

प्रस्तुत विचार लेखकका नीजि हुन् -सम्पादक
प्रकासित मिति २०८२-६-२९

तपाईको प्रतिक्रिया