नक्सा संशोधनका लागि एक लाख घुस लिने नापीका सर्वेक्षकविरुद्ध मुद्दा

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौं  २१ आश्विन २०८३– जग्गाको नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय बर्दिबास, महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार जग्गाको अंशबण्डा मुचुल्काअनुसारको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै साहले सेवाग्राहीलाई दुःख–हैरानी दिएको र घुस मागेको सूचना तथा उजुरी परेको थियो।

उजुरीका आधारमा अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा नापी कार्यालय बर्दिबासमा कार्यरत साहले जग्गाको अंशबण्डा मुचुल्काअनुसार नक्सा ट्रायल चेक गरी त्यसका आधारमा नक्सा संशोधन गरिदिने काममा आलटाल गर्दै सेवाग्राहीलाई दुःख–हैरानी दिएको र सो काम गरिदिन घुस मागेर एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

घुस लिएको पुष्टि भएपछि अख्तियारले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा प्रतिवादी कायम गरेको छ।

अख्तियारले एक लाख रुपैयाँलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवानाको सजाय मागदाबी गरेको छ।

आयोगले साहविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया