– लक्ष्मण गौतम
शेरबहादुर देउवाको कार्यकाल यसै पनि अन्तिम केही महिनामात्र बाँकी थियो। केही महिनापछि १५औँ महाधिवेशन गर्नैपर्थ्यो र कांग्रेसको विधानअनुसार उहाँ पुनः सभापति बन्न पाउनुहुन्नथ्यो। जेनजी आन्दोलनपछि तत्काल नियमित १५औँ महाधिवेशन हुनुपर्थ्यो, तर देउवाले गराउनुभएन। १५औँ महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन नै कांग्रेसलाई जोगाउने संजीवनी बुटी थियो। अब देउवा मात्र होइन, केन्द्रका ती सबै पुराना र बदनाम अनुहारहरू हटाउनु नै कांग्रेस जोगाउने एकमात्र विकल्प थियो।
विशेष महाधिवेशन भयो, नयाँ केन्द्रीय समिति बन्यो। नयाँ केन्द्रीय समितिमा हिजो देउवाको वरिपरि घुमेर फाइदा लिएका केही अनुहारहरू पनि आए, किनकि उनीहरूलाई नसमेटी विशेष महाधिवेशन सम्भव नै थिएन। कांग्रेस चुनावमा गयो र माटोमुनि पुग्नबाट जोगियो। त्यही माटोमाथिको जरालाई मलजल गर्न ‘जरा अभियान’ आयो।
जरा अभियानसम्म ठीक छ। जरा अभियानका प्रतिनिधिहरू जिल्ला-जिल्लासम्म आउनु पनि ठीक छ। तर अब बदलिएको कांग्रेस भनेको के हो? तिनै पुराना अनुहार, तिनै चुनाव हारेका अनुहार, तिनै बल्लतल्ल जमानत जोगाएका अनुहार, तिनै ५० हजार मतान्तरले चुनाव हारेका लज्जास्पद अनुहार, चुनावका बेला भाषण ठोकेर पनि १० हजार मत कटाउन नसक्ने तिनै पुराना पार्टी पदाधिकारीहरू? तिनै पुराना अनुहार र पुरानै चरित्र बोकेर कांग्रेस बदलिएको कसरी भयो?
के जरा अभियानका प्रतिनिधिहरू तिनै पुराना अनुहारसँग बसेर चिया पिएर र भाषण ठोकेर कांग्रेस बदलिने हो? नयाँ मान्छेहरू समेटिएको कहाँ छ? बदलिएको कांग्रेसमा नयाँ अनुहार र नयाँ ऊर्जा कहाँ छ? ५–१० जना रेस्टुरेन्टमा बसेर चाउमिन खाएको फोटो सामाजिक सञ्जालमा हाल्दैमा कांग्रेस बदलिन्छ?
मैले कसैको विरोध गरेको होइन। तर सत्य के हो भने पुरानै चरित्र, पुरानै अनुहार र पुरानै परम्परा बोकेर कांग्रेस बदलिँदैन। बदलिएको कांग्रेसमा पनि पद पाउन नेतृत्वकै चाकडी गर्नुपर्ने हो भने परिवर्तन भएको चाहिँ के हो? कार्यकर्ताको दक्षता, इमानदारी र योगदानको मूल्याङ्कन कहाँ छ? बदलिएको कांग्रेसमा विचार, अध्ययन, सिद्धान्त र आत्मसम्मानको राजनीति गर्नेले अवसर पाउने कि चाकडी गर्नेले? हामीले बदलेको शेरबहादुरको अनुहार हो कि कांग्रेसको चरित्र?
एउटा कुरामा चाहिँ स्पष्ट हुनुपर्छ—रास्वपा बदनाम भएर कांग्रेसमा आउने होइन। कांग्रेसमा आउन कांग्रेस आफैँ बदलिनुपर्छ। कांग्रेसको चरित्र बदलिनुपर्छ। पार्टी सञ्चालन गर्ने तरिका बदलिनुपर्छ। होइन भने, रास्वपाको ठाउँमा फेरि अर्को नयाँ पपुलिस्ट शक्ति आउँछ।
तिलोत्तमा–६, रुपन्देही
जय नेपाल।











तपाईको प्रतिक्रिया