काठमाडौँ ३० बैशाख २०८३-नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म खुद नाफा र सञ्चालन आम्दानी दुवैमा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म टेलिकमले ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ करोड २४ लाख रुपैयाँ अर्थात् ९.८५ प्रतिशत बढी हो । गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमको सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा ६१ करोड २० लाख रुपैयाँ अर्थात् २.४२ प्रतिशत बढी हो ।
यस अवधिमा कम्पनीको कुल आम्दानी २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा कुल आम्दानी २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ थियो ।
नेपाल टेलिकमका अनुसार डाटा तथा भ्वाइस सेवाबाट हुने जीएसएम आम्दानी बढेका कारण सञ्चालन आयमा सुधार आएको हो । जीएसएम सेवाबाट प्राप्त राजस्व गत वर्षको तुलनामा ५७ करोड ७४ लाख रुपैयाँ अर्थात् २.७६ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।











तपाईको प्रतिक्रिया