रिसव गौतम
देशको पछिल्ला परिवर्तन हुन् रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको नयाँ सरकार र एमाले अध्यक्ष केपि ओलीको पक्राउ पछिको आन्दोलन । यी दुबै परिघट्ना स्वभाविक थिए । किनकी, हालैको जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी करिव दुइ तिहाई बहुमत सहित पहिलो शक्तिको रुपमा उदाएको छ । रास्वपाले प्रधानमन्त्रीको रुपमा चुनावमा होमिने क्रममै भावी प्रधानमन्त्रीका रुपमा वरिष्ठ नेता बालेन शाहलाई अघि सारेको थियो । फलस्वरुप चर्चित युवा नेता बालेन शाह नेपालको इतिहासकै शक्तिशाली प्रधानमन्त्रीको रुपमा शुक्रबार शपथ लिए ।
जेनजी आन्दोलनको जगमा भएको निर्वाचन र त्यस आन्दोलनको जश लिँदै रास्वपाले वाचापत्रमै करार गरेका गौरीवहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नयाँ सरकारको बाध्यता नै थियो । फलस्वरुप बालेन सरकारको पहिलो मन्त्रीपरिषद बैठकले नै सुरक्षाकर्मी बाहेकको हकमा तत्काल सो प्रतिबेदन कार्यान्वयनमा लैजाने निर्णय गर्यो । मन्त्रीपरिषद्को निर्णयसँगै नयाँ गृहमन्त्री तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ रकेट गतिमा प्रतिवेदन कार्यान्वयन गर्न लागे । आन्दोलनमा लाप्रवाही गरेर हिंसा भएको भन्दै ज्यान मुद्धामा अनुसन्धानका लागि पुर्बप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि ओली र सो बेलाका गृहमन्त्री रमेश लेखकलाई सरकारले गिरफतार गर्यो । ओलीको गिरफतारीसँगै एमालेले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । काँङगे्रसले भने सो घटनामा आधिकारीक धारणा बाहिर ल्याएको छैन । तर बहुसंगठन भएको एमालले भने सडक तताउन र टायर बाल्न थालिसकेको छ । सम्भवत मौसमले साथ दियो अथवा पानी परिरहेन भने अबको केही दिन वा साता एमालेका विभिन्न संगठनहरुले गर्ने आन्दोलनको सास्ती जनताले खेप्नुपर्नेछ । उल्लेखित दुबै घट्नाक्रम अपेक्षित जस्तै भएपनि त्यसले शेयर बजार कसरी अघि बढ्ला भन्ने आम चासो छ । त्यसमाथी प्रधानमन्त्री बालेन्द्र शाहले सपथ लिएपछि खुलेको पहिलो दिन बजार ७१ अंकले घटेको छ । के अब बजार झन् घट्दै जाला ? वा सतत् अघि बढ्दै जाला भन्ने चासोहरु छन् । चिन्ताहरु छन् ।
एकातिर दुईतिहाई बहुमतसिद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकार बनेको छ । १५ मन्त्रालयमा ४० बर्ष मुनीकै ९ मन्त्रीहरु सहभागी बालेन नेतृत्वको सरकारमा पढेलेखेका जोशिला युवाहरुको बाहुल्यता छ । त्यसकारण पनि शेयर बजारलाई एक किसिमको आशा छ । लगानीकर्ताहरु उत्साहित छन् । नयाँ भनिएका र धेरैजसो पढेलेखेका युवाहरु आइरहँदा बजारले आश गरेको छ । उद्यमी ब्यवसायीले आश गरेका छन् । बालेनले प्रधानमन्त्रीमा सपथ लिएकै दिन चौधरी गु्रपको अगुवाहीमा विश्वप्रसिद्ध होटल समुह म्यारियट इन्टरनेशनलसँगको साझेदारीमा ‘दि रिट्ज–कार्लटन्‘ ठेमेलमा निर्माण सुरु भएको छ । सो परियोजना बालेन सरकारप्रति सर्मथन र विश्वासका आधारमा सुरु गरिएको सिजी हस्पिटालिटिका प्रबन्धक राहुल चौधरीले शिलान्यासका क्रममा बताएका छन् । १५ अर्ब लागतको होटल क्षेत्रकै सबैभन्दा ठुलो लगानी बालेन सरकारलाई विश्वास गरेर सुरु गरिएको छ । यो रोजगारी र उद्यमशीलताको दृष्टिले बालेन सरकार प्रति लगानीकर्ताले गरेको विश्वास हो । कम बोल्ने, सिस्टमलाई बढी फलो गर्न चाहने र विकास निर्माणमा बढी जसो ध्यान राख्ने नयाँ प्रधानमन्त्री शाहको लागि यो खुशी कुरा हो । किनकी नेपाल होटल तथा पर्यटन क्षेत्रका लागि विश्वकै लगानी सम्भाब्य देश हो । यस क्षेत्रमा यस्ता थुप्रै स्वदेशी, विदेशी लगानी आवश्यक छ । जसले रोजगारी र आय आर्जनको दिर्घकालिन सम्भावनाको गोरेटो कोरोस् । त्यो एउटा उदाहरण हो । युवा नेतृत्व प्रति भरोशा समेत हो ।
पक्कै पनि ५ बर्षेको स्थीर म्यान्डेट पाएको बालेन सरकारले नयाँ उद्यम, लगानीको लागि ठुलो भरोषा दिनेछ । र, कानुनहरु, ऐन तथा नियमहरु सच्याएर ब्यवसायिक वातावरणको सिर्जना गर्नेछ । त्यसका लागि अर्थमन्त्रीमा अन्तराष्ट्रिय अनुभव संगालेका र भरपर्दा अर्थबीद डा स्वर्णिम वाग्ले अर्थमन्त्रीको सिटमा बिराजमान छन् । खासगरी बालेन र स्वर्णिमसँग देशले ठुलो आश गरेको छ । किनकी दुबैको अन्र्तराष्ट्रिय परिचय र ब्यक्तित्व बनेको देखिन्छ । उनीहरुलाई हेरेर अन्र्तराष्ट्रिय मिडियाहरुले समेत नेपालमा अव केही परिर्वतन हुन सक्नेछ भनेर लेखिरहेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले त मन्त्रीको रुपमा सपथ खाएकै दिन दोश्रो चरणको आर्थिक सुधारको कुरा गरिसकेका छन् । १५ वटा धेरै पुराना, काम नलाग्ने खारेजीदेखि राजस्व अनुसन्धान विभाग समेत खारेज गर्ने निर्णय गरेका छन् । साथै उनले देशको रुपान्तरणकारी बजेट निर्माणलाई प्राथमिकता दिने बताएबाट धेरै मान्छे प्रभावित बनेका छन् । अन्तराष्ट्रिय अर्थतन्त्रका ज्ञाता, विश्व बंैक तथा युएनडीपी जस्ता अन्र्तराष्ट्रिय संस्थाहरुमा वरिष्ठ अर्थशास्त्री भइसकेका वाग्लेबाट नेपाली अर्थतन्त्रले धेरै ठुलो आश गरेको छ । कतिपयले उनी जस्ता अब्बल अर्थशास्त्री अर्थमन्त्रालयको डाईभर सिटमा देख्न पाउँदा खुशीयाली मनाएका छन् । त्यसकारण एउटा त विकास प्रेमी प्रधानमन्त्री देशले पाएको छ भने अर्को निकै अब्बल अर्थशास्त्री अर्थमन्त्रीको रुपमा देशले पाएको छ । यस्तोमा देशको आर्थिक क्षेत्रले, शेयर बजारले आश गर्नु स्वभाविक हो । तर दुई महिना वा चारै महिनामा सबै कायापलट हुने होइन् । पहिला त निकम्मा कानुनहरु बदल्नुपर्छ, बिकासका अवरोधहरु हटाउने गरि पुराना ऐन, कानुनहरु परिर्माजन गर्नुपर्छ । अर्को, नीजि क्षेत्र र विदेशी लगानीकर्ता समेतलाई अत्यन्त विश्वासमा लिएर लगानी गर्नका लागि प्रोत्साहन गर्नुपर्छ ।
लगानी सम्मेलनहरु हुनुपर्छ । देश सम्बृद्धि र लगानीको दिशामा अघि बढेको कुरा विदेशसम्म विस्तार गर्नुपर्छ । धनाद्य हुदै गएको डायस्पोरालाई समेत लगानीको लागि आवहन र उनीहरुको मागलाई सम्बोधन गर्नुपर्छ । बैंक तथा वित्तिय क्षेत्रहरुमा पनि अहिले अधिक तरलताको अवस्था छ । जुन नयाँ सरकारको लागि लगनी विस्तारको दृष्टिले अवसर हो । बंैकहरुमा लगानीयोग्य रकम अधिक रहँदा नयाँ उद्यमी अथवा लगानीकर्ताहरुलाई लगानीको लागि सरकारले प्रोत्साहन तथा वातावरण बनाइदिन सक्छ । त्यसरी हुने लगानी विस्तारले देशको आर्थिक गतिशिलतामा सकारात्मक प्रभाव पार्नेछ । त्यसकारण नयाँ सरकारसँग अधिक सम्भावनाहरु छन् र, चुनौती पनि । त्यसको मुकाविला गर्न सक्षम प्रधानमन्त्री तथा अर्थमन्त्री देशले पाएको छ । शेयर बजारका दुरदृष्टि राख्ने ब्यवसायिक लगानीकर्ताहरुको लागि यो एउटा शुखद् सुरुवात पनि हो । क्षणिक रुपमै हौसिने र उत्तिखेरै निराश हुने लगानीकर्ताहरुले त त्यसरी नसोच्लान् । तर शेयर बजारका निम्ती सुभ दिन सुरु भएको छ । विकास निर्माण र परिवर्तन बाहेक अन्य सोचहरु नभएका राजनीतिक भन्दा प्राविधिक खालका प्रधानमन्त्री, मन्त्रीहरु देशले पाएको छ । स्थीर सरकार पाएको छ ।
अब पनि देशले विकासको गति समातेन भने, सिस्टममा देशलाई चलाउन सकेन भने राजनीति मात्रै जानेकाहरुबाट त्यो कसरी पुरा होला त ? त्यसकारण नयाँ सरकारसँग शेयर बजारले आश गर्ने ठाउँ धेरै छ । बजार भनेको ब्यवसायमैत्री वातावरण, स्थीर सरकार, नीतिगत स्थीरता, न्युन ब्याजदर र विज्ञ मन्त्रीहरु हुँदा नै बढ्ने हो । ती कुराहरु अहिले सबै छन् । अहिलेको चुनौती भनेको लगानीकर्ताको मनोबल उठाउने, शान्ति र स्थीरता कायम गर्ने, उद्यमी व्यवसायीहरुलाई लगानीका लागि प्रोत्साहन गर्ने, छिमेक देशहरुसँग आर्थिक कुटनीति बढाउने, राजस्व बढाएर विकास निर्माणका लागि स्रोत सुनिश्चित गर्ने र सम्बृद्धिको यात्रामा धुबे्र हात्तिझै लम्कने हुन् । त्यसतर्फ सरकार अघि बढनुपर्छ ।
अर्को, जेनजी आन्दोलनमा १९ जना युवाहरुको हत्या भएको घटनालाई लिएर गौरीबहादुर कार्की प्रतिबेदन अनुसार एमाले अध्यक्ष ओलीलाई गिरफतारी गरिएको छ । सो पश्चात एमालेले आन्दोलन घोषणा गरेपछि लगानीकर्ताहरु केही हच्किएका हुनसक्छन् । तर, एमालेले घोषणा गरेको आन्दालेनलाई दोश्रो ठुलो दल नेपाली काँग्रेसले सर्मथन गरेन । अन्य दलहरुले पनि अध्यक्ष ओलीको गिरफतारिको विषयलाई लिएर आन्दोलनको घोषणा वा कडा निन्दा गरेको देखिदैन ।
एमालेले आफनो अध्यक्षको गिरफतारिलाई लिएर विरोध वा शान्तिपुर्ण आन्दोलन सुरु गर्नु स्वभाविक छ । तर, पक्राउ परिसकेका ती दुई भिआइपिहरुलाई जेनजी आन्दोलन ताकाको सरकार प्रमुखको हिसावले घटनाको अनुसन्धान नै हुनुहुदैन भन्ने पनि त होइन । आम सर्वसाधारणझै उनीहरुलाई पनि कानुन बराबरी नै हो । फेरी अनुसन्धान गर्दैमा र सरकारले मुद्धा हाल्दैमा दोषि ठर्हने पनि होइन । दोषि करार त प्रमाण पुग्दा न्यायलयले मात्र गर्न सक्ने हो । त्यसकारण एमाले र त्यसका अध्यक्ष कानुनी लडाईमै नगइ सुख छैन । तत्कालको घटनाक्रमको हिसावले फाटफुट आन्दोलन हुने नै भए । तर एमाले आन्दोलनले शेयर बजारलाई लामो असर गर्दैछ । शेयर बजारले नयाँ स्थीर सरकार र त्यसको डाइभर सीटमा रहेका विकासप्रेमी प्रधानमन्त्री, मन्त्रीलाई हेर्छ । अत शेयर बजार अब सतत् अघि बढ्छ, पछाडी केही फर्किन्छ वा फर्किने भनेको हाम्रो अल्पकालिन एवं संक्रिड सोचहरु मात्र हुन् ।
प्रकासित मिति २०८२-१२-१६










तपाईको प्रतिक्रिया