काठमाडौँ ८ चैत्र २०८२।
सानिगाड हाइड्रो लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी कम्पनीले यो आईपीओ जारी गर्न लागेको हो।
कम्पनीको कुल जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यसको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको छ।
यीमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि २८ लाख ५० हजार कित्ता अर्थात् २८ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर छुट्याइएको छ। यो शेयर बझाङ जिल्लाको बुंगल नगरपालिकाका प्रभावित वडाहरूमा वितरण गरिनेछ। जसमध्ये अति प्रभावित क्षेत्रका वडा नं. १, २ र ४ का बासिन्दाहरूका लागि १८ लाख ५२ हजार ५०० कित्ता तथा अन्य प्रभावित क्षेत्रका वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरूका लागि ९ लाख ९७ हजार ५०० कित्ता शेयर बाँडफाँट गरिनेछ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ। यो शेयरको मूल्य ५ करोड ७० लाख रुपैयाँ बराबर छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्काशन अवधि छिटोमा चैत २२ गतेसम्म तथा ढिलोमा २०८३ वैशाख ७ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने निष्काशन अवधि छिटोमा चैत ११ गतेसम्म तथा ढिलोमा चैत २२ गतेसम्म रहनेछ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ छ। प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २५ वर्ष ३ महिना बाँकी छ। साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको छ।
स्थानीय बासिन्दाहरूले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकको बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै पावर हाउस विरावगर तथा बुंगल क्षेत्रबाट पनि आवेदन दिन सकिन्छ। फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ।











तपाईको प्रतिक्रिया