स्वयम्भू शाक्य
जीवन, वर्तमान मात्र होइन अतीत पनि हो । अतीतमा भए गरेका कुराहरु आज इतिहासकारुपमा हामी पढिरहेका छौं । सत्यता खोजिरहेका छौं । थाहा छ, सबै इतिहास सत्य नहुन पनि सक्छ तर आज युगकवि सिद्धिचरणले कोट्याउन खोजेको इतिहासमा सत्यता छ । राजाले मिथिला क्षेत्रका रामकथा श्रवण गर्दै हुर्केकी राम्री बिधवासँग विवाह गरिएको प्रेमप्रणयको कथा छ । भित्री जड्मा भातभान्छाको कुरो भएपनि राजाको मनमा जातभात र छुवाछुत छैन । जताततै आत्माले खोजेको मान्छे छ । मन परेकी रानीले जे भन्छ त्यही गर्नुपर्ने राजा रणबहादुर शाहको परिचय प्रस्तुत ऐतिहासिक खण्डकाव्यमा नखुलाएको भएपनि दरबारभित्र हुने गरिएको ईष्र्या र जलनको राजनीति पनि छ ।
मैथिली ब्राह्मण परिवारमा जन्मिएकी कान्तिमतीदेवी झाको बालविवाह पश्चात विधवा जीवन बिताईरहेकी थिइन् । बाला चतुर्दशीका दिन सद्घिज छर्न पशुपति आएकी कान्तिमतीलाई राजाले देखेपछि दरबारमा बोलाएर विवाहको प्रस्ताव राख्छ र उनी मान्दिनन् । पछि दुई शर्तमा विवाह गर्न राजी हुन्छे । यदि मैले राजासँग विवाह गर्नुपर्छ भने मै पटरानी हुन पाउनुपर्छ र मेरो छोराले राजगद्दी पाउनुपर्छ । राजाले शर्त स्वीकार गरी विवाह गरे । कान्तिमतीको कोखबाट गिर्वाणयुद्ध विक्रम शाहको जन्म भए ।
पूर्वशर्त बमोजिम महारानी सुवर्णप्रभाकी छोरा रणोद्योत शाहलाई अवैधानिक घोषणा गरी कान्तिमतीबाट जन्मिएका गिर्वाणयुद्ध विक्रम शाहलाई उत्तराधिकारी बनाएको थियो । पछि रानी कान्तिमतीले आफ्नो जीवनकालमा छोरा राजा भएको हेर्ने इच्छा व्यक्त गरेकोले राजा रणबहादुर शाहले गिर्वाणयुद्ध विक्रम शाहलाई राज्यभिषेक गरी आफू सन्यासी बनेर स्वामी निर्वाणानन्दको नामले कान्तिमतिसँगै विभिन्न मठ मन्दिरमा बस्न थालेका थिए । यसैबीच कान्तिमतीलाई शीतला रोग लाग्यो । उपत्यकामा महामारी भएको शीतलामाजुको पूजापाठ गरेता पनि थुप्रै मान्छे मरेको कारणले राजाले “काठमाडौँ उपत्यकाभित्र बिफोर नलागेका सम्पूर्ण केटाकेटीलाई परिवारसहित चारभन्ज्याङ कटाउनू” भनि आदेश दिएकोले थुप्रै नेवारहरू परिवारसहित दोलालघाट हुँदै तामाकोशी र भोटेकोशी तरेर पूर्र्वीक्षेत्रमा बसाई सरेका थिए । कति परिवार मस्र्याङ्दी तरेर पश्चिमतिर लागेका थिए । यसै क्रममा थुप्रै बालबच्चा बाटोमै बिरामी परे र कतिको मृत्युसमेत भएको थियो । यस्तो दर्दनाक पीडा समेटिएको नेपालभाषाको पुरानो लोकगीतमा विस्तृत वर्णन गरिएको पाइन्छ ।
राजाले शीतलामाजुको रोग शान्त होस् भन्नका निम्ति ब्राह्मणहरूलाई दान दक्षिणा दिनेदेखि अनेकौ देवदेवताहरूमा पाठपूजा र अनुष्ठानसमेत गर्न लागेका थिए । तर कान्तिमतीको जीवन बचाउन सकेन । उनी पागलजस्तै भई आफूले दान गरेको दक्षिणा फिर्ता लिने, देवदताहरूको मन्दिरमा तोडफोड गर्ने, महांकाल भैरवको नाम काट्ने, तलेजु भवानीलाई मृत घोषित गरी शबयात्रा निकाल्ने जस्ता नेपालकै इतिहासमा कहिल्यै नगरिएको अपवित्र कार्यहरु गरेका थिए ।
आज युगकवि सिद्धिचरणको मनमा ज्वारभाट चलिरहेको छ । मनमा थुप्रै कुराहरु सल्बलाइरहेको छ । यो अलमलको जिन्दगीमा कविज्यूले कोरेका कवितामाथि साहसपूर्ण कामकानिम्ति हाँक दिँदै प्रतिभालाई जोगाउन एउटा कथा तिम्रो सिरानीमा छोडेर जाँदैछन् । किनहोला युगकविले यति धेरै हाँक दिएको होला ? थुप्रै कथाहरुमा एउटा कथामात्रै किन छोडेर गएको होला ? अचम्म छ, त्यो कथाभित्र के छ ? कतै ईष्र्या र जलनको कथा त होइन ? कतै प्रेम र प्रणयको स्वरूप त होइन ? कतै पागलपनको व्यथा त होइन ? कतै मन विरक्त भएर सन्यासी भएको कथा त होइन ? होइन भने युगकविले किन एउटा मात्रै कथा छोडेर जानु भएको होला ? के एउटै कथाले कविज्यूको प्रतिभा जोगाउन सकिन्छ र ? के एउटै हाँकले अलमलमा परेका भावहरु सलबलाउन सक्छ र ? हो सकिँदो रहेछ । बालविवाह गरी टुटेको कान्तिमतीको जीवनलाई पक्रिने हो भने सिंगो गीत बनाएर गाऊँ गाऊँ लाग्न थाल्छ । जिन्दगीका पानामा संगीत भरेर कोइलीलाई पनि गीत गाउन लगाऊँजस्तो लाग्छ । प्यासा, रित्ता अन्तरिक्षका कणकणहरुमा पुर्याऊजस्तो लाग्छ । किनकि तिथिमिति हेरेर केही नभएको खाली स्थानमा आँट, हिक्मत र साहस बोकेर आँखैले देख्न नसक्ने कणकणहरुका कथाहरू लेखूँलेखूँ जस्तो लाग्छ । हो, जनलाई अगाडि बढाउने क्रममा ललकार वा हुंकारले प्रतिपक्षलाई सधैँ हाँक दिन मन लाग्छ । कोकिल आई मधुऋतु आयोे रे भन्दा सबैको मन हरियो भएर पुष्पमासमा मीठा रस र सुधा पिउन पाउने भो भनी खुसी हुँदैछन् । हो, यो त प्रेम संयोगको काल हो । जहाँ सुमनहरू फुल्ने छन् । नाङ्गो रुखले नयाँ वस्त्रधारण गर्नेछन् । सबै सुशोभित भएर आ–आफ्नो बाटोमा हिँडेको देखेर यो समयशिलामा विधिको विधानले ऋतुराजको नाम दिँदैछन् । त्यसैले होला युगकवि सिद्धिचरणले ऐतिहासिक पात्र कान्तिमतीको जीवनमा भए गरेका कुराहरु आज जनजनलाई बुझाउन कोशिस गर्दैछन् ।
“कविज्यू तिम्रो कवितालाई
यौटा यो हाँक म दिन्छु
तिम्रो प्रतिभालाई जगाउन
एक कथा छोडिजान्छु ”
हाँक सुनेको पनि धेरै भो
तर भइकन अलमल अलमल
थिएँ बसेको तर आज यहाँ
भावहरु सलबल सलबल ।
। १ ।
कान्तिमतीको जीवन पक्री
गाऊँ गाऊँझैँ लाग्छ
प्यासा रित्ता अन्तरिक्षका
कणकण पुरिदेऊँझैँ लाग्छ
हाँक सकारेँ, कोकिल आई
मधु ऋतु आयो रे भन्दा
हरियो वनले खोल्दैन कहाँ
सुमन भएजति आफूमा
हाँक छ यस्तो समय शिलामा
कोरेको विधि बाजेले उहिले
खोल्दै जान्छु टिप्नोस् टिप्नोस्
पाठकहरु हो लौ अहिले ।
नेपालको दक्षिण पूर्र्वीभागमा मिथिला प्रदेश हिमगिरीको तल्लो भागमा अवस्थित छ । पौराणिक कालदेखि नै हिन्दू र बौद्ध ग्रन्थहरुमा यसको विशेष चर्चा गरिएको छ । भौगोलिक र सांस्कृतिक दृष्टिकोणले अति सुन्दर मिथिलालाई तिरहुट वा तिरभुक्ति नामले पनि सम्बोधन गरिन्छ । त्यसैले मिथिला सभ्यता पौराणिक संस्कृति हो । जुन समाजको प्राणको रुपमा लिन सकिन्छ । राजा जनक र सीताको पवित्र जन्मभूमिमा मानव जीवनका सृर्जन र सपना बोक्ने हातहरूमा फसलयुक्त हराभरा र स्वर्णिमको आभा लुकेको छ । खेतखेतमा निहुरिएका धान र अनाजहरू, मीठा र रसयुक्त फलफुलहरू, सरल र शान्त मैथलीहरू, माटोको गर्भमा लुकेका अनुरागहरु प्रिय बनेर मन र मस्तिष्कमा गुन्जिरहेका छन् । प्रेमलहरु कोमल मनमा बास बसेर होला, त्यसको गहिराईसम्म पुगेर गरिमा र महिमालाई आज सोच्दैछन्, विचारिदैछन् । रितिरिवाज र मूल्य मान्यतालाई कला, कौशल र बौद्धिक विकास गरी आचार विचारमा परम्परादेखि परिष्कृष्ट पार्दैछन् । लयलयमा, तालतालमा मान्छे मात्र होइन हरिया जङ्गलमा पशुपन्छीहरू पनि खोलानाला र झरनासँग मुक्तकण्ठले मीठो गीत गुन्जाइरहेका छन् । कणकणमा ईश्वरलाई घचघचाएर यो लोक र परलोक बाटो देखाउन प्रार्थना गरिरहेका छन् । त्यसैले होला, यो देवभूमि र तपोभूमिमा हामी जन्मनुको अर्थ आफ्नैमा पूर्ण छ । मानव जीवनमा बाँच्नु मात्र होइन आफू बाँचेर अरुलाई उद्घार गर्ने हाम्रो विशेषता हो । तिर्खा लागेकाहरूलाई एक अञ्जुली पानी पिलाउनु हाम्रो संस्कार हो । बाटो बिराउनेलाई बाटो देखाउनु हाम्रो धर्म हो । देवताहरुलाई पुजेर सार्थक गर्न सक्नु हाम्रो गौरव हो । त्यसैले यो पवित्र भूमिमा एउटी भोलीभाली हेर्दै लोभलाग्दी सुन्दरवाला कान्तिमती हुर्किँदै छिन् । संस्कार र संस्कृतिको पहिचान बोकेकी तिरहँुतीका अलौकिक तेजिलो भाग्य भएकी अवर्णनीय बिलक्षणयुक्त कान्तिमतीको समयसँगै हाँस्दै खेल्दै बैसको उमेर चढ्दै छन् । आखिर समय न हो, समयले कान्तिमतीलाई कहाँकहाँ पुप्र्याउने हुन् । भाग्यले साथ दिएपछि समयले आफै चाँजोपाँजो मिलाउनेछन् । सुख र सयलहरू आफै आई खुट्टामा बस्नेछन् । के थाहा, कान्तिमतीकोे भाग्यमा के लेखेको छ । यो त भविष्यले बताउला ।
हिमगिरी तल मिथिला प्रान्त छ
सिर्जन सपना गर्भ लिई
शस्यसुश्यामल धान झुलेर
स्वर्णिम आभा पूर्ण भई ।
मिथिला प्रान्त छ सरल र शान्त
गुञ्जित लय कोमल कान्त
गरिमा महिमामय् वृतान्त
यसको कणकण पर्यन्त
त्यसमा यौटी भोली भाली
जन्मिथिन् ती सुन्दर वाला
संस्कृति सुन्दर धुस्दै भर्दै
हुर्केकी दिव्य निराला ।
कान्तिमतीको भाग्य दियो बलेजस्तै घप्पघप्प बल्दैछन् । हुने बिरुवाको चिल्लो पात न हो । कान्तिमती आफैमा दीप्ति हो । शोभा, सौन्दर्य र प्रभाको आभा हो । त्यसैले कान्तिमती कान्त बनेर सबैको प्रिय बनेकी छिन् । चम्किलो अनि प्रकाशमानजस्तो मिथिला प्रदेशकालागि धन्य तुल्याउन सफल भएकी छिन् । मिथिला राज्यका नरेश जनकका पुत्री सीताझै बनेर यो धरर्तीका लागि अनुपम उपमा बन्दैछिन् । उनी हाँस्दा हजारौं रङ्गीबिरङ्गी फूलहरू फुल्नेछन् । उनी रुँदा तपतप झरेको आँसु आफै मोती बन्नेछन् । भनिन्छ, आशालाई एकचोटि रोज्नुपर्छ जिन्दगीभर नपलाउँन्जेलसम्म मान्छे त्यसैमै लागिरहन्छ । किनकि आशा मान्छे बाँच्ने एउटा आधार हो । जीवन चलाउने एउटा गोरेटो हो । मान्छेहरु भन्ने गरिन्छ,मनले देखेका सबै कुराहरु आँखाले देख्न सकिन्न । आँखाले देखेका सबै कुराहरु मनले हेर्न सकिन्न । त्यसैले आशा त्यही पलाउँछ जहाँ सम्भावनाका कुराहरु हुने गरिन्छ । जहाँ जिन्दगीभर पाउन नसके पनि पाउँने आशामा लागिरहन्छ । यो नै जीवन हो । मनभित्र राम्रानराम्रा विचारहरु जन्मिन सक्छ । हामी त राम्रा विचारका पछि लाग्ने हो । जसरी नाउ चढेर नदी तर्न खोज्छ त्यस्तै हो जीवन । जहाँ आशाका थुप्रै किरणहरु हुने गरिन्छ । जहाँ आशाका थुप्रै चाहनाहरु पाउन सकिन्छ । जहाँ आशाका थुप्रै सम्भावनाहरु खोज्ने गरिन्छ । त्यहाँ अवश्य पनि एकदिन आशाले उच्च हृदयमा स्थान पाउनेछ । आँखा रसिलो भएर कतै तेजिलो ज्योतिले मनलाई मात्र होइन यो हराभरा सुन्दर धरर्तीलाई पनि एक दिन अवश्य आशाको सुनौलो किरण छर्नेछ । हो, तनमा बैश चढेपछि सबैको मन चन्चल हुनु स्वाभाविक हो । नअटाउने गरी रूपरङ तनमा चढेपछि मान्छेको मनमा पलाँश फुल्नु स्वाभाविक हो । त्यसैले सोप्हकलाले सजिएकी शशिमात्र होइन राति आकाशमा चम्किने ज्योतिका नक्षत्रहरुले पनि यो धरर्तीमा निहुँरिएर सत्यको गीत गाउँदैछन् । अरुणोदय्को त्यो झिसमिसेमा उषाकालको उज्यालोसँगै धरर्तीले नयाँ युग फेर्दैछन् । साँझपख पश्चिमतिर अस्ताउन लागेको रविले सबैसँग बिदा लिएर विश्राम लिन खोज्दैछन् । त्यसैले यो समयचक्रभित्र खोलानाला मात्र होइन हरिया वनगिरीले पनि यो संसारको रथ चलाइरहेका छन् ।
धप्प बलेको कान्ति थिइन् ती
कान्तिमती रे नाम पनि
मिथिलालाई धन्य तुल्याउन
जनक सुता झैँ फेरि यिनी
हाँस्दा फुल्छन् फूल हजारौं
रुन्छन् ता तपतप मोती
आशा पायो उच्च हृदयले
आँखामा रसिलो ज्योति
केवल तनमा नअटी रुप
फूलमा, शशीमा, तारामा
साँझ ,उषामा , खोलानाला
हरियो बनगिरी मालामा
यो कुरो सत्य हो, नासो कहिले पनि आफ्नो हुन सक्दैन । एकदिन त अवश्य फर्काउनै पर्छ । यो नै संसारको रित हो । जहाँ बाचुन्जेल आफूले मागेको पैचो तिरेर होस् । चाहे मृत्यु पश्चात पनि नासो बुझाएर होस् । आखिर यो जिन्दगीको हिसाब किताब बुझाउनै पर्छ । भाग्य र कर्मको खेलमा को जित्ने हो, को हार्ने हो ? यो त आ–आफ्नो धर्मकाँटामा जोखेर निर्कोल गर्ने हो । त्यसैले होला युगकवि सिद्धिचरणले रामसीताको रामायणको भक्तिगाथा आउँदैछन् । सत्य र असत्यका कुराहरू जनजनमा पुयाउनु फेरि एकपटक पौराणिक धार्मिक ग्रन्थका कुराहरु खोट्ल्दैछन् । मिथिला राजा जनकका धर्मपुत्री सीता मर्यादा पुरुष रामसँग विवाह गरेको खबरले राजा दशरथ खुसी भई रामलाई सिंहासनमा राख्ने प्रवल इच्छा रहेपनि रामलाई चौध वर्ष बनवास र कैकयीका छोरा भरतलाई राजा बनाउनुपर्ने वचनबद्धताका कुराहरु गदैछन् । राम बनवास जाँदा सीताले रामबिना अयोध्या मेरो लागि नर्क हो भनी रामसँगै लागे पछि राजा दशरथले पीडा सहन नसकी प्राण त्यागेको अयोध्या काण्डका बारेमा पौराणिक कथा सुनाउदैछन् । तसर्थ रामसीता हो कि सीताराम हो । पहिलो दर्शनमै आफ्नो जीवन ठानिएकी जानकी पतिभक्त र मातृपे्रमको अनुपम गाथाको वर्णन गरिदैछन् ।
राम र सीता भेट भएको
पहिलो पहिलो त्यो दर्शन
सम्झी केही लज्जित हुन्थिन््
मानौ आफ्नै हो त्यो जीवन
चौध वर्षको बनवास सुनी
पतिसँग जाने मन गर्छन्
घोर भयङ्कर वन हुन्छ भनी
पतिले जति सम्झाउँछन्
जो गत प्रभुको त्यै गत मेरो
आउँछु म त साथै भन्छिन्
गहनागुरिया वैश फुकाली
स्वामीकै पछिपछि लाग्छिन्
मिथिलाकी छोरी कान्तिमतीले भन्ज्याङबाट कान्तिपुर हेर्दा मानौँ रत्नझै उज्यालो भई आभूषणले सजाईएकी सुन्दरी दुलहीझै लाग्न थाल्छिन् । चार भन्ज्याङभित्र हरिया पाखापर्वतहरूको काखमा नदीनाला अनि झरनाहरूसँगै सुन्दर मनमोहक देवताहरूको बस्तीले मानौँ कान्तिपुर अमरावतीजस्तो लाग्न थाल्छन् ।
इतिहास बोकेका मन्दिरैमन्दिरको सहरमा कला कौशलले स्वर्णयुगको परिचय दिइरहेको थियो । यो पुण्यभूमिमा जिउँदो देवता कुमारीको पूजा गरिँदोरहेछ । सनातनदेखि चल्दै आएको तत्तिसकोटी देवताको आराधना हुन्दोरहेछ । आज कान्तिमती खुसी छन् । शैशवकालका थुप्रै सपनाहरू पूरा भएकोमा उनी कान्तिपुर देखेर उत्सुक छन् । कल्पनैकल्पनाको सहरमा आज आफ्नो कल्पना साकार भएकोमा कान्तिमतीको मन गद्गद् छन् । यो स्वभाविक हो । एउटा गाउँकी सोझी कान्तिमतीले कान्तिपुर कस्तो हुन्छ भन्ने कुरा सपनामा पनि चित्ताएको छैन । त्यस्तो व्यक्तिले आज कान्तिपुरसँग प्रत्यक्ष साक्षात्कार गर्दैछिन् । मनमा लागेका थुप्रै कुराहरु सोधखोज गर्न खोज्दैछन् । देवदेवताहरूको सहर भनी चिनिएको यो कान्तिपुरमा पशुपतिनाथको दर्शनले आफू धन्य भएकी ठान्दैछन् । पशुपतिको विशाल स्वरूपले मनभित्र थुप्रै प्रश्नहरु गर्दैछन् । यो मनुष्य चोलामा एकथरी मान्छे भजन कृर्तन गरेर शिवजीको भक्तिभाव गर्दैछन् । अर्कोथरी मान्छे यो मनुष्य चोलालाई छोडेर आफ्नो लाशमाथि आगो लगाउन दिँदैछन् । वैराग लाग्छ, मान्छेको जीवन । आफुले लगाएको आभूषण अरुलाई देखाउन चाहन्छन् । कोही मान्छे धर्मको नाममा ठगेर जीवन निर्वाह गर्दैछन् । अनौठो लाग्छ, कान्तिमतीलाई यो पशुपतिभित्र सित्राको व्यापार हुन्छ भन्ने कुरो के थाहा ? उसलाई त कान्तिपुरे जीवन हाम्रो भन्दा धेरै फरक छ भन्ने कुरा मात्रै थाहा छ । हो, भाग्यको खेलमा मान्छेले भेऊ पाउन सक्दैन । जसको भाग्य छ उसको डोकोमा दूध पनि अतिन्छ रे । त्यस्तै भो कान्तिमतीको जीवनमा । आखिर भाग्यलाई समयले साथ दिएपछि बगरको ढुङ्गा पनि ईश्वरको रूप लिनेरहेछ ।
भन्ज्याङमहाँ उभिई हेर्छिन्
कान्तिमती त्यो कान्तिपुरी
धप्प बलेको रत्न उज्यालो
पर्वतहरूको काखभरी
मन्दिर छाना स्वर्ण गजुर
पुण्य बलले झैँ युगयुगको
गर्छन् नमस्कार कर जोडी
धाम सनातन त्यो शिवको
शैशवदेखि नाना सपना
विविध कल्पनाले दर्शित
कान्तिपुरी त्यो हेर्न प्रत्यक्ष
कान्तिमती ती कति उत्सुक ।
कान्तिमतीलाई दिनभरिको थकाई एकैछिनमा मेटेजस्तो भइसकेको थियो । किनकि अब कान्तिपुर नजिक पुगिसकेको छ । बाटाभरि छप्प फुलेका लालीगुराँसहरु, ढक्कमक्क फुलेका सुनगाभाहरु, आभाझै सुन्दर पलाँसहरुले कान्तिमतीको मनमा सौन्दर्यको हरियो लिपिसकेका छन् । त्यसैले कान्तिमती कान्तिपुरको भञ्ज्याङमा उभिएर मनमा खेलिरहेका थुप्रै कुराहरूसँग संवाद गरिरहेकी छिन् । मान्छेको जीवनलाई कर्मले भिजाउनुपर्छ । ताकि जीवनमा पसिनाको मोती फल्न सकोस् । डरलाग्दो कठिनभन्दा कठिन बाटोमा पनि मान्छे निर्भय भएर हिँड्न सकोस् । चौतारीमा भारी बिसाएर एउटा मान्छेको जिन्दगी अर्को मान्छेले पढ्न सकोस् । निधार बलियो पारेर एउटा भरिया हिँडेको बाटोमा पैतालाका डोबहरु युगैयुगसम्म रहिरहोस् । यही नै मेरो प्रार्थना हुनेछ । भनिन्छ, एउटा भरिया मान्छे अर्काका निम्ति प्रेरणा बन्न सक्दैनन् । ऊ त भोको मान्छे हो । भोको मान्छेको कुनै अस्तित्व छैन । न विचार हुन्छ न भविष्यको कल्पना गर्न सक्छ । ऊ त जसरी भएपनि भोक मेटाउने मात्रै काम गर्छ । पेटको ज्वाला शान्त पार्ने मात्र कोसिस गर्छ । त्यस्तो मान्छेले अरुलाई कसरी प्रेरणा दिन सकिन्छ र ? जो खानका लागि मात्र सङ्घर्ष गरिरहेको छ । बाँच्नको निम्ति मात्रै टाउको उठाइरहेको छ । त्यस्तो मान्छेले भोलिको कुरा सोच्न सक्दैन । त्यसैले ऊ अहिलेको कुरा मात्रै सोचेर तिर्खा मेटाउन चाहन्छ । नअगाउन्जेलसम्म खान खोज्छ । ढुङ्गाजस्तै निदाउन चाहन्छ । एक पाउ कपडामै अमूल्य वस्तु पाएझैँ रमाउन थाल्छ ।
अर्काको नासो धेरै गाहो हुन्छ । उसलाई थाहा छ, मेरो गन्तव्यमा पुगेपछि यो भारीलाई बिसाएर एकछिन भएपनि ऊ मुस्कुराउन खोज्छ । किनकि ऊ परिश्रम गरी बाँच्ने मान्छे हो । ऊ चुप लागेर बस्न सक्दैन । ढुङ्गामाटोसँग खेल्ने उसको बानी छ । आफूभन्दा धेरै भारी उचाल्न सक्ने उसमा क्षमता छ । उसलाई उकालो र ओरालोको कुनै मतलब छैन । ऊ त जहाँ पनि जान सक्छ । चाहे बाँदर चढ्न नसक्ने ठाउँमा पनि हाँसीहाँसी ढुङ्गामाटो खोपेर ओडार बनाउन सक्छ । डाँडाकाँडामा पनि खनजोत गरी अन्नबाली लगाउन सक्छ । उदेक लाग्ने ठाउँमा पनि लटरम्भ फलफुलहरु फलाउन सक्छ । त्यो त त्यस्तो मान्छे पो हो । जो शीरमा नाङ्लो पीठमा भारी बोकेर पनि उसलाई कुनै गाह्रो महसुस हुँदैन । उसलाई कुनै थकाईको आभास हुँदैन । ऊ त कमिला हो । सानो मान्छे सानो गोरेटोमा पनि हिड्न सक्छ । आफ्नै कर्ममा विश्वास गरेर यो गाह्रोसाह्रो जीवनमा हिँड्ने गरिन्छ । त्यसैले भाग्यले ठगेको त्यो सानो मान्छे भाग्यबिना पनि बाँच्दैछन् । दुःख, व्यथा र आँसुलाई सम्हालेर कहिलेकाहीँ वनपाखामा जाँदा ऊ एक्लै रुँदै होलान् । के थाहा, उसले आफ्नो मनको व्यथा अहिलेसम्म कसैलाई पोखेको छैन । बाकसमा सबै पीडाहरु एक घिक्क बनाई धकनी राखेकोले होला आजसम्म उसको दुःख र पीडाहरूको भेऊ पाउन सकेको छैन । मन रोएको हुनसक्छ । तर मुहारमा मुस्कान छरेर आफ्नै छायाजस्तो घरपरिवारका निम्ति मङ्गल होस् भन्नका खातिर ऊ दिनरात परिश्रम गरेर एक भित्ता अगाडि बढ्दैछन् ।
बाँदरलाई पनि चढ्न कठिन
डाँडामा ती घर खेत
खोपेका छन्, रोपिका छन्
फूल बिरुवा लाग्छ उदेक
शिरमा नाम्लो पीठमा भारी
मानौ केही हैन सरी
टाँसिई हिँड्छन् भिरहरुमा
कस्ता श्रमका कमिला यी
कतिकति ढिक्का पीडा आँसु
छिदैकति गाह्रो साङ्ग्रो
घरबारीहरु जोडेका यी
भित्र्याउन मंगल हाँसो ।
कान्तिमती छलकपटबिना सङ्लो पानीजस्तो बगिरहेको थियो । पाप र धर्ममा आफ्नो जीवन समर्पण गरी जीवन गुजारा चलाइरहेको थियो । समाजमा बालविवाहको चलन थियो । कान्तिमती सानैमा विधवा भएकीले समाजले दिएको सेतो वस्त्र लाएर आफ्नै गन्तव्यमा हिँडिरहेको थियो । इच्छा र आकांक्षाहरु धेरै थिए । तर समयले थुप्रै इच्छा र आकांक्षाहरु मारे पनि उसको भित्री इच्छा कान्तिपुर सहर पुग्न पाए हुन्थ्यो भन्ने चाहना प्रबल थियो । त्यस्तै आज कान्तिमती कान्तिपुर पुगिसकेको छ । बिहानै उठ्दा जताततै कुहिरेकुहिरोले ढाकिएको यो कान्तिपुर सहर साँच्चै लोभलाग्दो छ । उषाको सुनौलो किरणसँगै शुभ दिनको प्रतिक्षामा सबैको मनमा आशा पलाउँदै छन् ।
हिमगिरी रातो मलमलले छोपेजस्तो, घामले मुकुट लाएर भूषित स्वणर््िाम महान् सम्राटजस्तो यो तपोभूमिमा देवगणहरूको बास भएकोले होला कान्तिपुर साँच्चै अमरावती भन्दा सुन्दर र सौन्दर्य छ । मनमोहक भएर वनपाखा पर्वतहरुले सिँगारिएर राखिएको छ ।
प्रिय शङ्क तिमी एकाबिहानै गुन्जिरहनु पर्छ । प्रिय घन्टा तिमी झिसमिसे उज्यालोमै गीत गाउनुपर्छ । आस्थाका धरोहर तिमीहरू सधैं उच्च बनेर सगरमाथाजस्तो गौरवशाली गाथाहरु सबैलाई सुनाइ दिनुपर्छ । प्रिय पवन तिमी शुभसन्देश बोकेर जनजनमा पलपलमा सास बनिदेऊ । प्रिय चिरबिर चिडियाहरु तिनीहरुले शान्ति चुहेको रसकण सबजनामा पिलाई देऊ । किनकि मङ्गलका ती चारु मुनाहरू टुना लगाएर ईश्वरका पाउमा बिन्ती चढाइदेऊ ।
यो अनित्य संसारमा नित्य पाउन गाह्रो छ । बस्तीबस्तीहरूमा ईश्वरको बास भएर होला देवदेवीहरुलाई यहाँ भक्तिभावले पूजापाठ गर्दैछन् । एकाबिहानै कान्तिमती नुवाईधुवाई गरेर गुजेश्वरी माताको दर्शन गर्न जान्छिन् । भोकाएका ती बाँँदरहरुले जे पायो त्यही खोसेर लगेको देखेर अन्याय गरेको हो कि भन्न पुग्छन् ।
समय त्यस्तो थियो जुनबेला मान्छेहरू नदीमा डुबुल्की मारेर नुहाउने गर्छन् । कलकल बगेको पानी कञ्चन थियो । कायाले पवित्र तीर्थमा नुहाएर यो देहमात्र शुद्ध पार्ने होइन मनलाई पनि धोई पखाली सफासुग्घर पार्ने गर्थे । ईश्वर साक्षी छ, कान्तिमतीले आज बागमतीमा नित्यकर्म गर्दा हर शिव मेरो सब पाप हर भन्दै आफ्नै पाराले नित्य आराधना गर्दै छिन् । भगवान शिवलाई एक अञ्जुली गंगाजल चढाएर जीवन गङ्गाजस्तै निर्मल होस् भन्न खोज्दैछिन । भक्तिभाव गर्दै हर हर महादेव भन्दै मेरा सब पापहरु मोचन भएर जानून् भनी प्रार्थना गर्दैछिन् । हो मनुष्यको जुनीमा कहिलेकहिँ पापहरु पनि गर्न सक्छन् । तर कान्तिमतीको मन,वचन र कर्मभित्र ती पापहरु पर्दैनन् । यदि त्यस्ता पापहरू छन् भने पनि ती पापहरू हरणका लागि ईश्वरसँग प्रार्थना गर्दैछिन् । त्यसैले कान्तिमती चोखो छ । हिउँ जस्तो सेतो छ । ध्यानमा मग्न हुँदा यो भौतिक संसारमा मेरो भन्नु केही छैन भनी मलाई सम्हालेर आराध्यदेवी इष्टदेवताको उपासना गर्दैछन् । हे आदिशक्ति गुजेश्वरीमाता मेरा मनका इच्छाहरू पुरा गराइदेऊ । मलाई बाङ्गोटिङ्घो बाटोमा होइन, सोझो सरल बाटोमा हिँडाइदेऊँ । मनका अशान्तिहरुलाई सदाका लागि शान्त पारिदेऊँ । यो ब्रह्माण्डमा प्रभुको सेवा गरेर मेरो जीवनको इहलीला समाप्त पारिदेऊँ । त्यसैले हे ईश्वर ! मैले अहिलेसम्म जानीजानी कुनै अपराध गरेको छैन । मन, वचन र कर्मले कुनै पाप गरेको छैन । तर बेहोशीमा मैले अपराध गरेको भए हे ईश्वर ! मलाई माफ गरि रक्षा गरिदेऊ । मेरो जीवनमा अलिकता प्रभुको रश्मीले छोइदेऊ । ताकि मेरो जीवन धन्य हुन सकोस् । गन्तव्यको बाटोमा म पुग्न सकोस् ।
कञ्चन कायालाई डुबाई
बागमतीको धारामा
हर शिव मेरो सब पाप हर
भन्दै मैिथल पारामा
निस्केकी ती कान्तिमती कन
खोइ कुन उपमा म दिऊँ
ध्यान समाधि कस्तै तोड्ने
सुन्दरको यो सान भन्नूँ
दर्शन गर्छिन् गुह्येश्वरीको
आदिशक्ति परमेश्वरी
जन्मदिने यो ब्रह्माण्ड जगत्
साराकी यौटै जननी !
यो कान्तिपुरमा कान्ति थपी कान्तिमतीले चैत्य र मन्दिरहरू दर्शन गर्दैछिन् । दिव्यजस्तो चमकिलो अलौकिक प्रकाशमानमा कान्त थपी निरालाका कुराहरु गर्दैछन् । मनमा अनुरक्त भई अनुरागीका म्लान थप्दैछिन् । गलागला मिलाएर चैत्य र मन्दिरका धुनहरु तयार पार्दैछिन् । त्यसैले यो मन्दिर ईश्वरको आफ्नै बासस्थान भएर होला सुन्दर, शान्त अनि अलौकिक शक्तिले कहिल्य नओइलिने फूलजस्तो प्रफुल्ल र प्रसन्न छ । मन हलुको भएर मनभित्रका बोझहरु पातलो भएर जानेछ । हो, साध्य साधन बन्न सक्दैन । तर साधन,साध्य बन्न सक्छ । समय लाग्न सक्ला । सुरताल मिलाउनुपर्छ । समुद्रको पानीको प्रवाहजस्तै, वर्षाकालमा जम्मा गरिएको पानीजस्तो, एक्कासी बर्सिएको मुसुलधारे वर्षाजस्तै, हतियारको तीखो धारजस्तै साम्यमात्र भएर बस्नुपर्छ । तब अभिलाषाहरु तल्लीनतामा उभिएर त्यसैत्यसै हाम्रो नजिक आउनेछ । मन्दिर वरिपरिका आँगनहरु त्यसैत्यसै स्वच्छ भएर मनुष्यले विहार गर्नेछ । त्यसैले कान्तिमतीको मनमा यो कान्तिपुरभित्र थुप्रै देवदेवताहरू बस्ने मन्दिर र चैत्यहरूमा हजारौं वर्षको इतिहास लुकेको देख्दा ऊ औध्री खुसी छे । भावनृत्यबाट विकास भएको यो डबलीमा युगौँयुगदेखि नृत्यगानाले भाव पोखिरहेका छन् । त्यसैले यो डबली नृत्य प्रदर्शनको जननी हो । जहाँ मान्छेहरु हेर्न जान्छन् । विचारहरु पोख्न थाल्छन् । संम्वादहरु युगौँयुगसम्म दोहोप्याई रहन्छन् । यो देवनृत्यबाट सुरु भएको नृत्यलाई मान्छेले रङ्गमा विभाजित गरेर आज डबली इतिहास बनिसकेको छ । हो पार्टी, सतल र भवनहरू कलाले भरिपूर्ण थियो । किनकि त्यो युग त्यस्तो युग थियो जुनबेला आफूले जानेबुझेका कुराहरु वषौ लगाएर भएपनि प्रदर्शन गरिन्थ्यो । आफूमा भएका कलालाई तिखार्न खोज्थ्यो । रामराज्य थियो । कसैले चोर्ने लुट्ने भय थिएन । धोकामा साँचो लगाउने चलन थिएन । सत्यको जीत थियो । लोभी, पापी र असत्यहरूको न्यून थियो । न्यायका लागि इन्साफ कडा थियो । स्वर्गका राजा इन्द्रनै किन नहोस् फूल चोर्न आएका इन्द्रलाई पनि पक्रेर इन्द्रजात्राका दिन सजाय गरी बेइज्जती गरेको थियो । त्यो त्यस्तो युग थियो । जुन युगको शेष अहिले पनि कान्तिपुरमा पार्टी, सतल र भवनहरुमा देख्न सकिन्छ । हामीलाई थाहा छ, बटुवाहरू हिँड्दाहिँड्दै थकाई मार्न पार्टीमा बस्ने गर्छन् । जहाँ विश्राम पनि हुन्छ । त्यहाँ टोल बासिन्दाहरूको छलफल गर्ने अखाडा पनि बन्छ । त्यसैले मान्छेहरु पार्टी पौवाहरु बनाएर समाजमा आफ्नो कृति राख्न खोज्छ । ईश्वरलाई बासस्थान दिएर सतलहरुमा गुठी गानाहरु चलाइरहेको हुन्छ । घरघरमा कलात्मक कृतिहरु राखेर टोलटोलको परिचय दिइरहेको हुन्छ । त्यो समय पैसाको समय थिएन । इमान्दार र नैतिकताको समय थियो । सत्यलाई शीरमा राखी हिँड्नेहरूको समय थियो । प्रजाहरुले खाएपछि खाने राजा थियो ।
पानी स्वच्छ र मीठो थियो । ढुङ्गेधाराबाट कलकल बग्ने पानी मान्छेहरुले पिउने गर्थे । बाटो इटाहरुले छापेर होला सफा र सुगर थियो । वर्षा हुँदा बाटो भरि रातो हुन्थ्यो । कति मजाले हेर्दै लोभलाग्दो त्यो समाजमा एक्ले अर्कालाई साथसहयोगले होला ढुङ्गा र माटो बनिरहेको थियो । समाज मजबुत थियो । अन्याय र अत्याचार हुँदैनथ्यो । काठ र ढुंगाका हजारौं मूर्तिहरु बस्तीबस्तीमा उभिरहेको थियो । कालभैरवको रोहोबरमा न्याय दिइन्थ्यो । अन्यायीहरुलाई कालभैरवले निल्ने गरिन्थ्यो । त्यसैले मान्छेमा डर थियो । धर्मप्रति अघात आस्था थियो । परम्परादेखि चल्दै आएका जात्रापर्वहरूमा उमङ्गले हृदयदेखि जनजनमा तन, मन र धन दिएर परम्परालाई चलाइरहेको थियो । नैतिक र धार्मिक शिक्षा दिइन्थ्यो । पञ्चतत्व र पञ्चशीलका कुराहरु सिकाउने गरिन्थ्यो । ईश्वरलाई साक्षी राखेर काम गरिन्थ्यो । त्यसैले होला त्यो युग त्यस्तो थियो जुन युगलाई स्वर्णयुग भन्ने गरिन्थ्यो । आज जे जति कला कौशलहरु छन् ती सबै त्यही युगका अवशेष हन् । जुन अवशेषले कान्तिपुरनगरको परिचय दिइरहेको थियो ।
कान्तिमतीलाई अचम्म लाग्छ, कान्तिपुरनगरमा पाइला टेक्दा मेरो देशमा यस्तो नगर पनि रहेछ भनी गर्व लाग्यो । हिमाल, पहाड र नदीनालाहरूको यो हाम्रो देशमा के को कमी छ ? यो त बुद्ध जन्मेको देश हो । जनक जन्मेको देश हो । ऋषिमुनिहरू जन्मेको देश हो । यो त तपोभूमि हो । जिउँदो कुमारीको देश हो । यो त ईश्वरैईश्वरहरुको बासस्थान हो । यस्तो देशमा मेरो जन्म हुनु सौभाग्यको कुरो हो । त्यसैले कान्तिमतीको मनमा यस्तो लाग्छ यो कान्तिपुरनगर सभ्यताको प्रतिक हो ।
मन्दिर वरिपरि आँगन सुन्दर
अथवा कहीँ स्वच्छ विहार
दबुली कहाँ छन् नृत्य अँगाल्न
मनोरञ्जनको उपहार
पाटी सत्तल भवन कुनै पनि
छैन कलाले नचुमेको
ढुंगेधारा कलकल पानी
सफा सुग्घर सजिएको
ईटहरूले छापी मजबुत
बाटोघाटो कति मज्जा
काठ र ढुङ्गा मूर्ति हजारौँ
पदपदमा भेट्नु छ यहाँ ।
अन्नपूर्णको त्यो कलशमा मान्छेको इच्छानुसार जसले जति लिए पनि कहिले सक्दैन । किनकि यो त ईश्वरको बाचा हो । बाचा सक्न यो ब्रह्माण्ड सक्नुपर्छ । तब मात्र ईश्वरको वाचा सकिनेछ । त्यस्तो अन्नपूर्णले भरिएको यो कलशद्वारमा राखेर महाशुभको कार्य गर्ने यो कान्तिपुरनगर बासीहरुको घरघरमा सुख, शान्ति र वैभव छ ।
मेरो देश मन्दिरैमन्दिरले भरिएको देश हो । जहाँ सिंहले सुरक्षा दिने गरिन्छ । भूत, प्रेत र फ्चिाशहरूलाई धपाउन तान्त्रिकैतान्त्रिकले भरिएको भव्य कलाहरू राख्ने गरिन्छ । ढोका मास्तिर बुट्टे तोरणमा क्षपकले सर्प निलिरहेको दृश्यले बाघाविघ्नहरूलाई हटाएर हरेक कार्यमा सिद्ध गर्नेछ । त्यसैले यो कला र कौशल मात्र होइन यो त मनुष्य जीवनलाई उद्धार गर्ने कला हो । जसको आफ्नै अर्थ छ । जसको आफ्नै सभ्यता छ । समग्र जीवनमा आइपर्ने सम्पूर्ण विघ्न बाधाहरुलाई हटाउने विधि छ । आहाँ यो कति राम्रो छ । यो भन्दा अझ त्यो धेरै राम्रो छ । जति हेर्यो त्यति राम्रो देख्ने सुन्दरताको प्रतीक छ । अर्थ नबुझ्न सक्छ । भाव थाहा नहुन सक्छ । तर त्यसभित्र पस्ने हो भने मान्छे हराउने छ । बोलिरहेका ती कला कौशलहरूमा आफ्नै इतिहासका पानाहरुले भरिएको छ । मान्छे सिद्ध हुन सक्छ तर ईश्वर बन्न सक्दैन । किनकि मान्छेले ईश्वरलाई पनि बन्धनमा पार्न सक्छ । आफ्नो कुरा पोखेर काम फत्ते गर्न सक्छ । सम्वाद गरेर ईश्वरलाई पनि सहकार्य गर्न सक्छ । तर मान्छे ईश्वर बनेको थाहा छैन ।
कान्तिपुर कला कौशलहरूको सहर हो । जहाँ शिल्पीहरूको बास छ । जहाँ ढुङ्गा र माटोमा आम्लान छ । जहाँ कला कौशल कहिले नमर्ने प्राण थपिदिएको छ । जहाँ चतुर मान्छेको चतुर कलाले हृदयलाई जोडिदिएको छ । त्यसैले कान्तिपुर नगरले ऋतु–ऋतुको गति पक्रेर ऋतु अनुसार गीत गाउन खोज्छ । ऋतु अनुसार खेतबाली लगाउने गर्छ । ऋतु अनुसार खानेकुराहरु खाने गर्छ । ऋतु अनुसार ईश्वरलाई पुज्ने गर्छ । यो त चाडपर्व र संस्कृतिको नियम हो । जहाँ जे माग्छ त्यही कर्म गरेर कान्तिपुरका मान्छेहरुले जीवन बिताउने गर्छ । माटोलाई ईश्वर ठानेर पूजा गर्छ । ढुङ्गालाई ईश्वर बनाई ढोक्ने गर्छ । नदीलाई पवित्र तीर्थ मानी नुहाउने गर्छ । एउटा पौरखी हातले भोलिका लागि आफ्नो जन्मभूमिलाई अघात माया गर्ने गर्छ । हो, जीवन संगीतझै लय र तालमा बग्न टोलटोलमा तानपुराहरु बजाउने गर्छ । नृत्यहरु गर्ने गर्छ । जात्राहरु गर्ने गर्छ । त्यसैले होला तिम्रो माटो, मेरो पानी, उसको ढुङ्गा ल्याएर यो मठ मन्दिर र चैत्यहरु बनाउन सबैले पसिना बगाएकै हो । आस्था र भरोसा सबैले गरेकै हो । निस्वार्थ सबैले श्रम गरेकै हो । यो दुई दिनको जीवनमा मान्छेले कृति राखेकै हो । त्यसैले मेल फुली शक्ति बलेको बेला एउटा प्रतिकको रुपमा, एउटा बिम्बको रूपमा, एउटा प्रतिरुपको रुपमा हामीहरुले पनि आ–आफ्नो आधिकार दिएर एउटा आस्थाको पुञ्ज राखेकै हो । तर यो आस्थाको केन्द्रबिन्दुले के गर्यो के गरेन त्यो त इतिहासले भन्ने छ ।
अनि ऋतु ऋतुको गति पक्रेर
बादन गायनमा बाँधी
लय जीवनको दिन्छ नुहाई
सारा उज्यालो छुनलाई
तिम्रो माटो मेरो पानी
उसको ढुङ्गा ल्याएर
निर्मित मन्दिर यो नेपाल
पसिना सबको खर्चेर
मेल फुलेको शक्ति बलेको
नेपालीको जीवनको
राजा यसमा एक प्रतीक
हामीहरुले थापेको
हामी जुनसुकै जातजाति भए पनि हामी नेपाली हौँ । चाहे गोपाल वंशका पुर्खा होस् ,चाहे किराँतीका पुर्खा हुन् ,चाहे आर्यहरूका पुर्खा हुन् ,चाहे मङ्गलका सन्ततिहरू हुन् । हामी त नेपाली हौ । नेपालका रगत हुन् । आफ्नो जन्मभूमिलाई प्राण भन्दा धेरै माया गर्ने हामी गौरवशालीका सन्तान हुन् । त्यसैले यहाँ हामीहरु अलमलमा पर्नुपर्ने आवश्यकता छैन । कसैले कसैलाई भेदभाव गर्नुपर्ने आवश्यकता छैन । किनकि हामी त नेपाल आमाका सन्तान हुन् । हामी त आफ्नै रगतका हाँगाविगा हुन् । मूल जरो त एउटै हो । तर रुखका पातहरु धेरै भएर फलेका हुन् । त्यसैले हामी एक ढिक्का हुनुपर्छ । काम परेको बेला सबैलाई सहयोग गर्नुपर्छ । बैरीले सताएको बेला अरिङ्गालझै प्रतिकार गर्न सक्नुपर्छ । किनकि हामी त वीरगाथा बोकेका वीरका सन्तान हुन् । खुकुरीको थारमा हिँड्न सक्ने जाति हुन् । ठाडो भिरपाखामा चढ्न सक्ने वहादुर हौ । परि आएको बेला आफ्नो ज्यानको मतलब नगरी बैरीसँग युद्ध गर्न सक्ने क्रान्तिका ज्वाला हौ । त्यसैले हामी अनेकमा एक हुनुपर्छ । एकमा अनेक रुप देखाउन सक्नुपर्छ । तब पो नेपाली भएर नेपालको शिर उच्च राख्न सकिन्छ । जसरी गौतम बुद्धले विश्वमै शान्तिको ज्योति फैलाएका थिए । त्यसरी नै वीर योद्घाहरूको इतिहास बोकेको यो भुमिमा ईश्वर आफै नेपालीहरूलाई रक्षागर्दै आएको छ । त्यसैले हामी त रङ्गीबिरङ्गी फूलहरु हौ । एउटा फूलबारीमा हजारौं रूपरङ्गका फूलहरु फुल्न सक्छ । हजारौं रङ्गका फूलहरुले सौरभ छर्न सक्छ । हजारौं रङ्गका फूलहरूले एकटा देखाउन सक्छ । हजारौं रङका फूलहरुले रमणीय पार्न सक्छ । आखिर सुन्दर, शान्त र विशाल नेपाल न हो । पुर्खाहरुले बालेको जगमग जगमग बत्ती हाम्रै हो । हिजो गोरेटो थियो आज चौडा बाटो भइसकेको छ । हिजो सानो बस्ती थियो । आज बस्तीहरु धेरै भइसकेको छ । हिजो पुर्खाले बालेको बत्ती आजसम्म बलिरहेको छ । हिजो ईश्वरलाई मात्र होइन आफूले आफैलाई पनि पूजा गर्थे । आत्मा, ईश्वर हो भनी आफूले आफैलाई पनि ईश्वर ठान्थे । त्यसैले होला हाम्रा पुर्खाहरुले मानव धर्मलाई आफ्नो धर्म मान्ने गर्थे । एउटा मान्छेले अर्को मान्छेको पीडा बुझ्ने गर्थे । बइेमानी, स्वार्थ र छलकपटलाई टाढै राखेर मानवले मानवलाई सेवा गर्थे । यो नै जीवनको उत्तम बाटो हो । जुन बाटो हिँड्दा अन्याय हुँदैन । अत्याचार हुँदैन । सबैको इच्छा, आकांक्षा र सपनाहरु साकार हुने छ । अँधुरोलाई पन्छाएर उज्यालोतिर लाग्नेछन् । मात्र तागत र पौरख चाहिन्छ, मात्रै इच्छाशक्ति चाहिन्छ बस् यति भए पुग्छ । हामी सबै नेपालीको मनमा हरियो पलाउनेछ । ऋतु अनुसार मलजल गरेपछि विशाल काया बन्नेछ । हाम्रा तागत र पौरखहरु नेपाल आमाको सेवामा लगाउनु छ ।
कुन हो गोप र कुन किराँत
कुन आर्य कुन मङ्गोल
सबको संगम एउटै ढिक्का
नेपाली यी अनमोल
सब जातिको फुलबारी यो
फूलहरु हौ सब हामी
फूल्छौ, खुल्छा,ै सौरभ छछौ
सुन्दर नेपाल बनाई
पुरखाहरुले देखाएको
जगमग बत्ती हाम्रो छ
मानवताको अर्चनलाई
यो नै बाटो राम्रो छ
आशा, सपना सारा हाम्रा
हुन् यसैकै सञ्चित सौरभ
लागत पौरख सारा हाम्रा
थप्न यसैमा हुन् गौरव
आज आराध्यदेव पशुपतिनाथमा मेला लागिरहेछ । बाल चतुर्दशीका दिन सद्वीर छर्ने मान्छेहरूको घुइचो थियो । खन्तरपन्तर काइँकुइँ स्वरले सुरलय मिलाउन लागे जस्तो लाग्यो । मानौ बटुवा आफ्नो घरको संघारमा पुगेजस्तो, दिलभारी भएकाहरु कतै त्यसलाई बिसाएजस्तो, चौताराको सितलताले आश्रयको हात पठाएजस्तो, कान्तिमतिलाई त्यस्तै भो । राजाले कान्तिमतीलाई देखेपछि राजाको आँखा खै के भएर हो चिम्लन सकेको छैन । मनमा कान्तिमतीको राजाले कसैलाई भन्न सकेको छैन । यो कस्तो समय हो । राजाको मन त्यसैत्यसै पग्लिरहेछ । बास दिएपछि उकुसमुकुस भएको कुरा एउटा विधुवा नारीलाई आफ्नो ठानिरहेछ । मानौँ युगौँयुगदेखि हराइरहेको आफ्नो अस्तित्व पाएजस्तो यो के हुँदैछ ? अब के हुने हो ? राजाको मनमा कति सजिलै कान्तिमती पसेको हो ? किन कान्तिमतीको हँसिलो मुहार हेर्न खोज्दैछ ? कुन ठाउँ, कुन कुलघरानाकी हुन् । सेतो वस्त्र लागेकी कतै विधुवा त होइन ? कतै समाजमा बस्न गाह्रो भएको त होइन ? यस्तैयस्तै तर्कनाहरु मनमा खेलिरहेको थियो । कहिले शान्त हुन्छ । कहिले ज्वालामुखी फुत्न थाल्छ । यो मनमा आगो लागेपछि खै कसरी निभाउने हो ? पानी कहाँबाट त्याउने हो ? त्यसैले यो बलिरहेको मुटु कतै खरानी हुने त होइन ? कतै साथसहयोग नपाइकन त्यसै मर्ने त होइन ? त्यसैले यो पोलिरहेको मुटुमा मलमपट्टी कसले लगाइदिने हो ? थाहा छैन मुटुलाई सोध्नुपर्छ । के भइरहेको छ ? के खोजिरहेको हो ? एउटा बालबिधवा यौवनले भरेकी कान्तिमतीलाई राजाले देख्दैमा यति धेरै माया किन भएको होला ? हलचलले मान्छेलाई हल्लाउन थालेपछि तर्कवितर्क हुनु स्वाभाविक हो । आज राजाको सवारी छ । ठाउँठाउँमा सिगारिरहेको छ । बाटो वारिपारि राजालाई दर्शन गर्न आउने मान्छेहरुको भिर छ । आफ्नो बाबासँग कान्तिमती पनि उभिएर हेर्न थाल्छिन् । नेपालेश्वरको सुस्तरी हिँडाइमा रैतीहरूले पनि ताली बजाएर स्वागत गदैछन् । जजकारगर्दै तुमुल ध्वनिको उत्सव चल्दैछ । यो नै हाम्रो रित हो । परम्परादेखि चल्दै आएको आफ्नो मूल्य र मान्यता हो ।
कान्तिमतीलाई आज के भइरहेको छ थाहा छैन । भविष्यले कहाँ लग्न लागेको हो थाहा छैन । योवनको धारमा आफूतिर लागेर कतै पूर्णबिराम लाग्न लागेको पो हो कि थाहा छैन । आँखा जुध्छ मन छल्किन्छ साहस शीर केही झुक्न थाल्छ । हृदयमा के भएर हो कुन्नी प्रथम नजरमै दुइटा मुटु टाँसिएजस्तो हुन्छ । योे के भइरहेको छ । कान्तिमतीको मनमा हलचल पैदा भैरहेको थियो । तर्क र वितर्कका बाढीहरू आइरहेको थियो । ठिक र बेठिकका कुराहरु चलिरहेको थियो । त्यसैले कान्तिमतिको मनमा आज थुप्रै कुराहरुको जन्म र मृत्यु भइरहेको थियो ।
छिणमात्र अडी राजा हिँड्छन्
निहुँ क्यै थापी फर्किन्छन्
कुन जिल्लाकी कसकी छोरी
तर्क विपुल मनमा खेल्छन्
हलचल मान्छे हल्लिन थाल्यो
राजाको हुन्छ सवारी
खलबल मान्छे पन्छिन थाले
बाटाको वारी र पारि
कान्तिमतीे पनि उभिई हेर्छिन्।
आफ्नो बाबाको सङमा
नेपालेश्वर हिँड्छन् सुस्तरी
जयजयको तुमुल ध्वनिमा ।
आँघीजस्तो हुइहुइ उद्दण्ड विचार चलेपछि दण्डको भय कहाँ हुन्छ र ? सजायको डर नभएपछि अरुलाई वशमा राख्ने चाहना किन बढ्दैन र ? त्यसैले उद्दण्ड विचारमा बिजुली चम्किन सक्छ । आगो बन्न सक्छ । दुनिया सब हाहाकार भएपनि राजाको मनमा किन आसक्ति बदैछ । बाटो असजिलो र दुर्गम थियो । तर बीच बाटोमा एउटा पार्टी देखेपछि एकछिन भएपनि विश्राम त गर्ने नै भो । बटुवाहरुले धर्मशाला सम्झेर एकछिन भए पनि आराम त लिने नै भो ।
यो मनुष्य जीवनमा काम, क्रोध, लोभ र मोहले सघै सताइरहेको हुन्छ । त्यस्तै भो आज राजाको मनमा कामदेवले सताइरहेको छ । कान्तिमतीको अङ्गअङ्गमा डुबेर आकर्षणले धारामा नुहाइरहेछ । मन्त्रमुक्त भएर पाइलै चाल्न नसकी छिनछिनमा बेहोस भइरहेको छ । नजर नौलो थियो तर किन हो पुरानो पहिचानजस्तो लागिरहेछ । थाहा छैन तर राजालाई कान्तिमतीबिना अब जीवन निरर्थक भइसकेको थियो । दिउँसै सपना देखेर विपनाका कुराहरु खोज्दैछ । प्रेम मायामा डुबेर चुम्बनका कुराहरु सोच्दैछ । नदीको दोभानजस्तो एउटै भएर हिड्ने कल्पना गर्दैछ । आतुर छ । छटपटी छ । आफ्नो इच्छालाई चाँडै पूरा गर्ने धोको कसरी होला भनी समय खोज्दैछ ।
कान्तिमतीको अङ्गअङ्गमा
आकर्षण धारा छचल्की
राजा तस्र्यो मन्त्रमुग्ध भो
पाइला चाल्नै नसकी
भेट त नौलो पहिलेकै हो
किन्तु पुरानो पहिचान
सहसा बिम्झी खोज्छन् खोज्छन्
लिन चुम्बन दुइटा प्राण
दुईतिरबाट आइरहेका
बाढीको धारा जस्तो
यौटा भैकन टाढा बग्न
आतुर छन् छटपटी कस्तो ।
आज चैन बिग्रेर होला राजालाई निन्द्रा लागिरहेको छैन । मनमा विभिन्न कुराहरु खेलेर मन शान्त हुन सकिरहेको छैन । कहिले घाम लाग्छ । कहिले पानी पर्छ । कहिले हावाहुरी चल्छ । कहिले बिजुली चम्किन्छ । मनमा के के भएर भ्रान्ति हुँदैछ । मन बिग्रेर मनका बाटाहरू भत्किदैछ । अध्यारोमै दिउँसोजस्तो हिँडेर कहीँ पुग्नुपर्ने जस्तो भइसकेको छ । यो आसक्तको जरोले राजालाई समातेपछि अब के हुने हो ? राजमहल फिक्का लागिसक्यो । वैभवहरु सबै काम नलाग्ने भइसक्यो । सुख सुविधाहरु सबै त्यागिसक्यो । मुटुमा व्यथा लागि सक्यो । हो मन विसञ्च भएपनि तन त्यसै बिरामी हुँदोरहेछ । न खान मन लाग्छ , न सुत्न मन लाग्छ , न हेर्न मन लाग्छ , न सुन्न मन लाग्छ मन बिरक्त भएपछि मनभित्र के के उम्रिदो रहेछ । मन पग्लेर गएपछि सबै कुराहरु बगेर खाली हुदोरहेछ । आली त तिम्रो र मेरो छुट्याउने संकेत हो । त्यो माटोको आलीले कति दिन छुट्याउला हेर्न बाँकी छ । खनजोत गर्दा वर्षाले पनि आली भत्काउन सक्छ । तासिएर फ्नि नरहन सक्छ । आखिर माटो न हो माटोसँग मिसिएर हराउन पनि सक्छ । त्यसैले यो बीचको आली कति दिनमासम्म टिक्ने हो ? यो त समयले बताउनेछ ।
एउटा हृदयले अर्को हृदयसँग सम्बन्ध गाँसेपछि, एउटा नयनले अर्कोे नयनलाई मितेरी लगाएपछि , एकले अर्कालाई आफ्नो ठानेपछि ,सबै कुराहरु आफ्नै जस्तो हुने हो । ऊ रोए मलाई दुख्न थाल्छ । ऊ हाँसे मलाई सुखको अनुभूति हुन्छ । आफू त प्रेमीसँग हराएर कताकता पुग्न थाल्छ । यो प्रेमको सगरमा दुवै जना दुवैकी मारेर मानौ ढुकुर चराझै प्रेमको गीत गाउनेछ । त्यसैले यो भरथेकको संसारमा ढुंगालाई माटो चाहिन्छ माटोलाई ढुङ्गा । यदि यस्तो नहुने हो भने संसार कसरी चल्न सक्छ र ? माटो र ढुङ्गाबिना यो जग कसरी बलियो हुन सक्छ र ? प्राणी त आउँछ जान्छ । सुख र दुःखका कुराहरुको अनुभूति गर्छ । सामाजिक बन्धनका कुराहरु सुनाउने गर्छ । नियमहरूका कुराहरूको चर्चा गर्छ । यही त हाम्रो संसार हो । जहाँ आफ्नै रीतिरिवाज चल्छ । जहाँ आफ्नै संस्कारले बाँधेको हुन्छ । त्यहाँ अरुले केही गर्न सक्दैन । यो त स्वफुर्त स्वनियम हो । यो त स्वफुर्त स्वधर्म हो ।
आँखा त्यस्तो अङ्ग हो ,जसरी एकचोटि देखेपछि जिन्दगीभर सम्झिरहन्छ । चाहे राम्रो होस् या नराम्रो । एकचोटी आँखाले मन पराइपछि सधैं आँखाले त्यही कुरा खोजिरहन्छ । मनले त्यही कुरा मागिरहन्छ । किन होला यो मान्छेको मनमा यति धेरै माया किन लाग्ने होला । अनौठो छ, कान्तिमती सुन्दरी छे । यौवनले उम्लेको शरीरमा कान्तिको तेज छ । आभा जस्तै चम्किएको उसको मुहारमा दिव्यप्रकाश छ । त्यसैले होला कान्तिमतीको रूपरङ्गले लठिएका राजाले दिनलाई नै रात पारेपछि जनताले बौला नभने अरु कसले भन्न सकिन्छ र ?
बीचको आली माटोको त्यो
कति छिन रहला लौ हेरुँ
हृदयहृदयले नयननयनले
भइसके यी एकैज्यू
माटो ढुङ्गाहरू रुख प्राणीको
तर यो हाम्रो संसार
छ सामाजिक बन्धन यसमा
नियमहरूको भारमार
नेत्र हृदयमा कान्ति भदै
राजा फर्के महलमहाँ
राजमहलको वैभव सारा
फिक्का लागे आज यहाँ
चैन बिगार्ने, निद उखेल्ने
रात बिताए राजाले ।
राजाको दिलमा बास बसेर होला कान्तिमती आज दरबारमा बसिरहेकी छे । हर्दम् कान्तिमतीनै सम्झेर राजा बहुला हुन मात्रै बाँकी छ । राजाको गन्तव्य कान्तिमती भएपनि कान्तिमतीलाई पाउनु उसको अन्तिम इच्छा बन्न पुगेको छ । तसर्थ राजालाई जसरी भएपनि कान्तिमती चाहिएको छ । उसलाई कान्तिमतीको नामञ्जुरसँगै कुनै मतलब छैन । रैतिहरूले के भन्छ वास्ता छैन । यो सामाजिक बन्धनलाई तोडेर भएपनि राजालाई विधवा कान्तिमतीको आवश्यकता छ । त्यसैले कान्तिमती राजाको प्राण हो । कान्तिमती राजाको देह हो । कान्तिमती राजाको चाहना हो । कान्तिमती राजाको छायाँ हो । आफ्नो प्राणलाई नपाएपछि यो शरीरको कुनै औचित्य छैन । आफ्नो देह नभएपछि यो संसार आफू रहने छैन । आफ्नो चाहनालाई बिर्सिने हो भने जीवनको कुनै अर्थ छैन । आफ्नो छायालाई छोड्ने हो भने यो शरीरको कुनै मतलब छैन ।
अपितु यो झलझल सम्झिरहने मायाले आँखालाई सताएपछि, मुटुलाई कुटुकुटुु खाएपछि, देहलाई कमजोर बनाएपछि ,चारैतिर जहाँ हेर्यो त्यही कान्तिमती देखेपछि यो चोला नदीझैँ बग्ला भनी रोक्न खोज्छ । समयलाई अलि ढिलो जानु भने आदेश दिन्छ । किनकि यो त भौतिक माया मात्र हो । आत्मीय माया हो त आत्माले खोजेको अर्को आत्मा हो । पर्वत, खोला, चउर र वनमा देख्ने कान्तिमती हो । नभई नहुने प्रिय कान्ति हो । म वियोग भएर बाँच्न चाहन्न । मेरो लागि वियोगको कथा सुन्नु छैन । मलाई त जसरी भएपनि संयोग चाहिन्छ । त्यो संयोगभित्र कान्तिमती अटाउनुपर्छ । मेरो भनेर ऊ बाँचेको देख्नुपर्छ । मलाई अगाडि उभिएको हुनुपर्छ । ताकि मेरो आँखा खुल्दा कान्तिमती देख्न पाओस् । ताकि मेरो देहले कान्तिमतिसँग स्पर्श गर्न सकोस् । मेरो यही चाहना छ । मेरो यही अन्तिम इच्छा छ । त्यसैले म कान्तिमतीसँग मात्र जीवन बिताउन चाहन्छु । धेरै टाढाटाढासम्म डुल्न चाहन्छु । जति मिलन भएपनि नपुग्ने यो मेरो दिलमा जूनीजूनीसम्म माया गाँस्न चाहन्छु । जीवनलाई उपभोग गरेर एउटै पाइलामा हिँड्न चाहन्छु । एउटै पाइलामा मर्न चाहन्छु । मलाई यति भए पुग्छ । हे ईश्वर ! मलाई कान्तिमतीसँग चाँडै विवाह गरिदेऊ । दुवैको शरीर एउटै बनाइदेऊ । आत्मा अलगअलग भएपनि दुवैको आत्माको संगम बनाइदेऊ । यो जीवनको अन्तिम बाटोसम्म पुग्ने दुवैको बाटो एउटै बनाइदेऊ । नत्र म पागल भएर मर्नेछु । यादैयादमा तर्पेर जानेछु । मेरो यहाँ कुनै अस्तित्व हुने छैन । म बाँचुको कुनै अर्थ छैन । म राजा भएर के भो, मैले चाहेको कुरा नपाएपछि , कान्तिमतीलाई मैले आफ्नो बनाउन नसकेपछि यो जीवन जिउँदो लास हुनेछ । मन अशान्ति भएर त्यसैत्यसै मर्ने छ । मेरो लागि कान्तिमती सबथोक भएपनि हराएर जानेछ । त्यसैले म कान्तिमतीसँगै बाच्न चाहन्छ । म कान्तिमतीसँगै निदाउन चाहन्छु ।
दिलमा हर्दम् कान्तिमती नै
छाइरहेको किन होला
जे गर उसकै छाया झलझल
टम्म रहेको यो चोला
पर्वत खोला, चउर र वनमा
देख्छौ उसैलाई मात्र
ऊ नभई किन हुन्न मलाई
के ऊ नै मेरो प्राण
जन्म जन्मको क्रुर वियोग
आज बनी यो संयोग
जति मिलनले पनि नअघाई
गर्छु म यसको उपभोग ।
आज महारानी कान्तिमती सुतिरहेकी छे । उसलाई सन्चो छैन । कतै शीतलामाजुको महामारीले छोएको त होइन । कतै निको नहुने गरी रोग लागेको त होइन । राजालाई पीर पर्नु स्वभाविक हो । शीतलामाजुको हाहाकार छ । धेरै बालबच्चाहरू मरिसके । बाँचिएका आफन्तहरूले भाकल गर्दै पाठपूजा गर्दै थिए । त्यस्तो समयमा कान्तिमतीलाई पनि महामारीले सताएर इन्तुचिन्तुको अवस्थामा छ । आफ्नो हृदयशलाई जसरी भएपनि बचाउनुपर्छ भनी मन्दिरहरूमा पूजापाठ अर्चना गर्दैछ । हे ईश्वर ! मलाई कान्तिमती चाहिन्छ । कान्तिमतीबिना मेरो जीवन अँधुरो छ । त्यसैले मसित जे छ त्यो सबै लिएर गए हुन्छ । म खालीखाली शुन्यमा पनि बाँच्न सक्छु । यो संसारलाई त्याग्न सक्छु । तर कान्तिमतीलाई बचाइदेऊ । उसको जीवन फेरि एकचोटि फर्काइदेऊ । म मर्न सक्छु । मेरो आयु उसलाई दिन चाहन्छु ।
यो आतुर दिलमा कान्तिमतीकै कुरो छ । कहिले उठ्ने होला । कहिले बस्ने होला । कहिले अङ्कमाल गर्ने होला । कहिले आँखा खोल्ने होला । मलाई यसैमै पीर छ । मलाई यसैमै आतुर छ । यो बोलेको आगो कहिले निभ्ने हो ? यो परेको पानी कहिले रोक्ने हो ? हे ईश्वर ! मेरी प्रियतमलाई रक्षा गरिदेऊ । नानाथरीका ब्याधीले नसताइदेऊ । ऊ बाँच्नुपर्छ, नत्र म मर्ने छु । ऊ हिँड्नुपर्छ, नत्र म लड्नेछु । होइन भने मेरो जीवन त्यही आगोले भष्म भएर खरानी हुनेछ । त्यसैले यो रोगको पर्खाल भत्काउनुपर्छ । बीचमा परेको रोगलाई निको पार्नुपर्छ । होइन भने उसको अंकमाल र चुम्वनको बाटो छेकिनेछ । डाँडापारी सूर्य अस्ताउन लागेर सधासधाका लागि रात पर्नेछ ।
पुजा, अर्चन लेऊ मेरो
मसित छ जे लेऊ सारा
तिमी नभए म रहन्नँ कहीँ
तिमी हौ मेरो एक सहारा
सन्चो नभई सुतिरहन्छयौ
उठ्दििनौ किन उठ्दििनौ
मेरो छटपट आतुर दिलमा
अङ्कमाल किन भर्दिनौ
रोग तिमी किन बीचमा आई
यो पर्खाल बनिदिन्छौ
अङ्कमालको अनि चुम्बनको
सब बाटो छेकिदिन्छौ ।
ए झारफुके अनि वैद्यहरू हो, मेरो कान्तिमतीलाई के रोग लागेको हो निको पारिदेऊ । यो हलचल नभएको शरीरलाई तिनीहरुले चलाइदेऊ । जे चाहिन्छ त्यही लगेर भएपनि यो मेरो अशान्ति आत्मालाई शान्त पारिदेऊ । जसले निको पार्छ उसलाई म पुरस्कार दिन चाहन्छु । राज्यको ठूलो ओहोदामा राखी तिम्रो गुणलाई सम्झिन चाहन्छु । त्यसैले हे झारफुके अनि वैद्यहरू यो अचेत आत्मालाई बिउँझाइदेऊ । जसरी भएपनि पाठपूजा गरेर ईश्वरलाई प्रसन्न पारिदेऊ । नत्र ऊ सुतेर मर्ने छ । आँखा नखोली चिर निन्द्रामा पुग्नेछ । सधासधाका लागि यो संसार छोडेर ऊ एक्लै जानेछ । हे ईश्वर ! म कान्तिमतीलाई एक्लै कहाँ छोड्न सक्छु र ! ऊ त मेरो बाटो हो । बाटो नभए म कसरी हिँड्न सक्छु र ? कान्तिमती धेरै दिनदेखि सुतिरहेकी छे । रगतको कमीले होला, कञ्चन देह पहेँलो भइसकेको छ । ओइलिएको पुष्पजस्तो अब सुकेर झर्न मात्र बाँकी छ । यो टम्म भरेको प्रेम र मायामा आज किन थोपाथोपा भई चुहिँदैछ । यो अन्नपूर्णले भरिएको कलश आज किन छल्किदैछ । मेरो आशा, मेरो भरोसा, मेरो सपना, मेरो विपना ती सबै चक्नाचुर भएर ऐना झैँ फुट्दैछ । अस्ताउन लागेको सूर्यजस्तो, ग्रहण लागेको चन्द्रजस्तो अब के हुने हो ? कालो अनि अँध्यारोमा मेरो जीवन कसरी चल्ने हो ? मलाई कसले निल्ने हो ? थाहा छैन, यो अलपत्र परेको जीवनमा खै को आएर धकल्ने हो ? आकास खस्ने हो कि, पाताल भाँसिएर जाने हो ? मेरो निम्ति आज के के भएर बित्ने हो ?
झारफुके अनि वैद्यहरु हो
पर्खाल यो पत्काऊ
दिन्छु भए जति म पुरस्कार
लौ उसलाई फर्काऊ
पाठ र पूजा गर्नु छ जे गर
पार निको उसको रोग
धेरै दिन भो ऊ सुक्दैछ
छागी त्यस्तो कञ्चन देह
आज छ ऊ रगतबिनाकी
बौलाएको पुष्पसमान
झर्नु छ अब केवल बाँकी ।
गोलमाल भई सब गडबडी भएपछि बिस्तारै नासिनु स्वभाविक हो । अन्नबालीमा असिना परेपछि सबै बिग्रेर जानु स्वभाविक हो । त्यसैले तह नमिलेको यो अस्वाभाविक जीवनमा घामले मात्र होइन पानीले पनि बिगार्न सक्छ । बिजुली चम्कि मेघ गर्जे पछि नभमा कताकता पीडा भएको अनुभूति गर्न सक्छ । आज रविलाई कालो बादलले छोप्दैछ । घामका किरण पनि कतै नदेख्ने गरी फेको फर्दैछ । रात परेजस्तो दिउँसै अँध्यारो भएर मुसलघारे वर्षाको सम्भावना बढैछ । किन होला यति चाँडै त्यो कालो बादलले चाँदीजस्ता सेता बादललाई निल्न खोज्दैछ । कतै मेरो धरर्तीमा प्रलय हुने त होइन ? कतै मेरो आकाश रुने त होइन ? होइन भने आज किन यस्तो दुर्दशा भोग्दैछु । कहिल्यै नभोगिएका दुःख पीडाले सताइरहेछ । भो, यो जीवन अब बाँच्नु सक्दिन होला । टुक्राटुक्रा भएर अब यो जीवन बित्ने होला । मेरो त के छ र कान्तिमती न हुन् । एउटा सहारा अब सदाका निम्ति टुटेर जाने भो । चुँडेर जाने भो । मेरो मन र मुटु नै उडाएर लाने भो । त्यसैले यो छोटो जीवनमा म अभागी बनेर फेरि एकचोटी माटोको भाँडो फुटेजस्तै फुटेर काम नलाग्ने भो । यो शरीरको छाया अब सघाका निम्ति हराएर जाने भो । मुटुको माया अब बिस्तारै बिस्तारै हिउँझैँ पग्लेर जाने भो । लाखौंलाख वर्ष जिएका नभका तारानै किन नहोस्,कैयौं समय निलेका नौलाखे डाँडाकाँडा नै किन नहोस् एकदिन समयले बोलाउने छ । लौलाखे ताराहरू यो धरर्तीमा खस्ने छन् । डाँडाकाँडाहरू भड्किएर जानेछन् । यो अनित्य संसारमा मेरो भन्नु केही छैन । आफ्नो देह त एकदिन आगोले खानेछन् । धँुवा उडेर पञ्चतत्वसँग बिलिन भएर जानेछन् । त्यसैले हिजो ठिक थियो । आज गोलमाल भो । गडबडीले सन्ध्यासम्ममा रवि अस्ताएर जाने भो ।
मान्छेको जीवनमा रसरंग त क्षणभरको थोपा हो । हो, सबकच्चा छन् यहाँ । अजम्बरी कोही छैन । सब छोडेर जानुपर्ने यो चोलामा आज कान्तिमती पनि निभ्न लागेको बत्तीजस्तो पिलीपिली बलेर विस्मृतिमा बिलिन हुँदैछन् । यो नै संसारको रित हो । रोइ कराई यतिको निर्धन मानव जीवनमा के हुन सक्छ र ? माया र ममता छ भन्दैमा मैले भन्ने जस्तै कहाँ हुन सक्छ र ?
गोलमालको अनि गडबडको
असिना बर्सन खोज्दैछ
जीवनको त्यो एक सहारा
चुँडिन चुँडिन अब लाग्दैछ
लाखन लाखन वर्ष जिएका
एकएक नभका तारा
कयौकैयौं समय मिलेका
नौलाखे डाँडाकाँडा
मानिसको तर छोट आयु
माटाभाँडा यो काया
फुट्दछ सानो धक्कामा नै
के छाया अनि के माया ।
वर्तमानबिना न अतीत छ न भविष्य । यो त समयको चक्र हो । समय घट्नु र बढ्नु यो त मान्छेको मनको कुरा मात्रै हो । पल, शताब्दी बनेर अनन्तसम्म नहिडेको भए चेतनाको रूप मनको बीचमै अडेर बस्नेछ । त्यसैले कान्तिमतीको सुन्दर रूपरङ्गमात्र होइन यतिको सुन्दर सृर्जनलाई त्यतिकै खेर फाल्नका लागि मात्र होइन, बाल्यजरा अनि मृत्युका कुरा मात्र होइन, समयले निल्छ भने आतिएको मात्र होइन, समय सकिएपछि काल आएर एकदिन सबैलाई लग्नेछ । न कसैले रोक्न सक्छ न कसैले छेक्न सक्छ । काल त अदृश्य बनेर मान्छेको प्राण लिएर जानेछ ।
हो, फ्सिनामात्रै चुहाउनु पर्छ नसोचेको काम पनि फत्य हुनेछ । आकुलव्याकुल भइरहेको यो दिलमा आशाका किरणहरु पनि त्यसैत्यसै पलाउनेछ । हो कान्तिमतीलाई विफर भएको थियो । तर अपार पाठपूजा र श्रद्धाभावले यो नभमण्डलमा हाहाकार शान्त भयो । जनमा आज खुसी छ । देवपत्तनको राजमहलमा एउटा छुट्टै बिहानीको जन्म भइसकेको छ ।
यो भवसागरमा ईश्वरको बास छ । बुझ्नेले बुझ्छ, नबुझ्नेलाई बुझाउन कठिन छ । त्यसैले हे ईश्वर ! यो मनुष्य जन्म तिम्रोनिम्ति बाँचिएको हो । तिमीले कोरेको निश्चित मापदण्डभित्र मान्छे जन्मिएर मर्ने गरिन्छ । जे छ तिमीमा छ । तिमीले गर्न नसक्ने केही छैन । तिम्रो दृष्टि मात्रै पुग्नुपर्छ त्यहाँ त्यसैत्यसै घाम लागेर आउनेछ । अँध्यारो भए उज्यालो बनेर आउनेछ । निभ्न लागेको बत्ती त्यसैत्यसै बलेर जानेछ । समय सीमासम्म सबैले सबैलाई माया गर्नेछ । प्रभु ! तिमीले बाटो देखाइदेऊ । हिँड्न नजानेहरुलाई हात समाई दोहोप्यादेऊ । बोल्न नजान्नेहरूलाई बोली फुटाइदेऊ । देख्न नसक्नेहरुलाई आँखा बनिदेऊ । निश्चयनै तिम्रो भरोसामा मान्छेहरु बाँचिरहेका छन् । आशाका थुप्रै चाहनाहरू पलाइसकेका छन् । मात्र मान्छेले श्रम गर्नुपर्छ । पसिनाले यो धरर्तीमा माटो गिलो पारिदिनुपर्छ । तब देख्नेछ यो धरर्ती कसरी हाँस्नेछ । रंगबिरङ्गी फूलहरु कसरी फुल्ने छ ।
हामी देख्न सक्दैनौ , निश्चयनै माथि कोही बसिरहेको छ । अदृश्य भएर मनुष्यको चोला चलाउँदै छन् । विधिविधानमा ऊ पनि बाँधिएर मान्छेलाई पनि सिकाउँदैछन् । चाहनामात्र राख्नुपर्छ । साहसमात्र बदल्नुपर्छ । मान्छेले के गर्न सकिन्न र ? सुनगाभाजस्तो कापमा उम्रेर, कमलको फूलजस्तो हिलोमा पनि फुलेर उन्मोचन हुन्छ भन्ने यो संसारमा उदेक मान्नुपर्ने कुरा के छ र ? त्यसैले मृत्युको मुखमा पुगिसकेको कान्तिमती आज फेरि कान्तिमती भएर उभिएको छ । बाटो फुलेर पनि फेरि आफ्नै ठाउँमा आइसकेको छ । धन्य प्रभु ! तिम्रो दृष्टि हामीमा परेकोले होला कान्तिमतीमात्र होइन यो कान्तिपुरबासीहरुको तर्फबाट पनि प्रणाम छ । ईश्वरको पाठपूजाले आज जनजनमा सुख र शान्ति छाउँदा हामी सबै खुसी छौं । त्यसैले ईश्वर छ । निश्चयनै हामीहरुलाई माया गरिरहेको छ । तर हामी ईश्वर देख्दैनौ । ईश्वर खोज्दैनौ । ईश्वर भेट्दैनौ । ईश्वरका नजिक जान कहिले चाहँदैन ।
छ, छ, है ईश्वर निश्चय नै छ
जे पनि गर्न ऊ सक्छ
गर्न नसक्ने केही छैन
हाम्रो आज्ञा ऊ खोज्छ
निश्चय नै छ कोही माथि
हामीले देख्न नसक्ने
सहित विधान उसको मान
गर्न सके के छ र नहुने
मृत्युको कला पुगिसकेकी
महारानी कान्तिमती
फिर्ता फेरि ल्याउन सकियो
पूजापाठको धन्य विधि ।
एउटा अर्धाङ्गिनीको सबै सुख र बैभव भन्नु नै स्वामी हो । स्वामीबिना बाँच्न त सकिन्छ तर हाम्रो समाजले छुट्टिएर बस्नुको अर्थ गहिरो छ । कसैको मनमुताब होला । कसैको बाध्यता होला । कसैको सोच विचारले होला । कसैको ईश्वरले बोलाएर होला । नानाथरीका बन्धन र बाध्यताहरुले मान्छे–मान्छेको हेराइमा फरक हुन सक्छ । त्यसैले हे ईश्वर ! स्वामीसँग छुट्टिएर बस्न चाहन्न् । उसोको सुख र सुविधा भनेकै आफ्नै स्वामी हो । उसको जीवन भनेकै स्वामी हो । चाहे खान पाओस् या नपाओस्, चाहे दुःख होस् या नहोस् तर त्यसोको अन्त्य कहिले नहोस् । छुट्टिएर कहिल्यै बस्न नपरोस् । त्यस्तो समय कहिले नआओस् । योग–योगसँग वियोग–वियोगसँग बसेर यो बारबारको जन्म र मरणबाट आत्माको मोचन सतसतमा भईरहोस् ।
सुनपानी छर्के पछि अशुद्ध पनि शुद्ध हुन्छ । मनले ईश्वर सम्झेर पाठपूजा गरे पछि रविदेवले पनि कुहिरो फारी हिमचुली देखाइदिन्छन् । त्यसैले यो मनभित्र क्लेस राख्नु हुँदैन । कसैलाई कुदृष्टिले हेर्नु हुँदैन । बाटो त आफ्नो आफ्नो छ । जे जसरी हिँडे पनि अन्तिममा पुग्ने त मसानघाट हो । जहाँ मान्छे मर्दाको नाममा जनाइने गर्छ । जहाँ मान्छे खरानी बन्छ । यो भौतिक शरीरलाई त्यहीबाट बिदा दिइन्छ । त्यसैले मान्छेको मन विशाल छ । यो विशाल मनभित्र मेरो मात्र होइन हाम्रो पनि अटाउन सक्नुपर्छ । होइन भने यो जीवनलाई स्वार्थी भनिनेछ । बाँच्नको लागि मात्र मान्छे भएर बाँचिनेछ ।
यो बुझ्ने नसक्ने संसारमा मिलन अनन्त छ । जीवनका गीत बुझ्न कठिन छ । सम्बन्ध त धेरै होलान् तर जाने बुझेका कुराहरुको भेद र अन्त आफ्नै छ । अणुअण्ुाको आफ्नै कथा छ । तृप्ति र मुक्तिका आफ्नै व्यथा छ । यो चिर सम्बन्धमा अँगालो मात्र हालेर हेर नित्य–अनित्यमा आकाश जमिनको फरक छ । त्यसैले यो सुख सुविधा र धन दौलतका कुराहरु, योग र वियोगका फनफन घुम्ने कुराहरु, सृष्टि चक्रभित्र मर्नु र बाँच्नुका कुराहरु, यो र त्यो भित्र सारा संसारका कुराहरु, मनभित्र कसरी अटाउने हो ? मनले कहिले बुझ्ने हो ? नित्य र अनित्यभित्र, योग र वियोगभित्र समयले कसरी बुझाउने हो ? स्वामी म कसरी तिमीसँग छुट्टिएर बस्न सक्छु र ? मेरो जीवन भनेकै तिमी हौ । मेरो आराधना भनेकै तिमी हौ । मैले ईश्वरलाई त पुकारौला तर मेरो हृदयले सधैँ पाठपुजा त तिमीलाई नै गर्ने हो । तिमी मान नमान मेरो निम्ति ईश्वर हौ । तिमी भन नभन मेरो निम्ति वरदान हौ । म यो जीवनमा कसरी वियोग भएर बाँच्न सक्छु र ? मुटुमा प्वालैप्वाल पारी म कसरी हाँस्न सक्छु र ? त्यो सम्भव छैन । सम्भव नभएका कुरा म कसरी असम्भव भन्न सक्छु र ? असम्भव कुरा म कसरी सम्भव भन्न सक्छु र ? त्यसैले मैले जीवन जिउने हो भने नमरुन्जेलसम्म तिमी रहनुपर्छ । दुःख, व्यथा, कष्ट सहेर भएपनि मेरो निम्ति तिमी बाँच्नुपर्छ । नत्र मेरो के भरोसा छ र ? आजभोलि म कुनै बेला भड्किन सक्छु । साथसहयोग नपाएपछि म कुनै बेला टुटिन पनि सक्छु । अपितु म बियोगको जरा काट्न चाहन्छु । अनन्तसम्म मिसिन चाहन्छु । जहाँ योगैयोग मात्र रहनेछ । जहाँ प्रेमैप्रेम मात्र हुनेछ । त्यहाँ म मात्र होइन तिमी पनि रहनुपर्छ । नदीजस्तै कलकल गर्दै हामी दुवैको जीवन सलल् बग्नुपर्छ ।
यो पाएको वैभव सुखको
अन्त नहोस् कहिल्यै भन्छु
स्वामीसित कै छुट्टिटनुपर्ने
समय नआओस् भनी ठान्छु
योगबियोग फनफन घम्छ
सृष्टि चक्र यै हो भन्छ
योगवियोग सुखदुख सारा
केवल मनको हो चाल
स्वामीसितको आज छ योग
यमया नै मन यो रोकी
अनन्तभित्र म मिसिइदिन्छु
वियोग जरा नै काटी ।
स्वामी ! हामी एकदिन त मर्नुपर्छ । त्यो मरणको समय कस्तो हुने हो ? हामीले कसरी प्राण त्याग्ने हो ? यो संसार छोड्दा कति दुःख हुने हो ? आफ्नै स्वामीको अगाडि मैले आँखा कसरी चिम्लिने हो ? म कसरी आजै सम्झिन सक्छु र ? मृत्यु लहरलाई आजै कसरी छोड्न सक्छु र ? मेरो जीवनको नाउले गन्तव्य पप्ुर्याएपछि मैले ओर्लिन कसरी भन्न सक्छु र ? हे स्वामी ! मैले धेरै प्रेम फएँ । मान–समान पाएँ । एउटा बिधवा नारीले राजमहलमा महारानी भएँ । मैले के पाएनँ ? मैले के देखेन ? एउटा हुकुमले मैले के गरेन ? कति तागत रहेछ म भित्र । तिमी छौ र म छु । म छु र तिमी छौ । हाम्रो अपार मायाले आजसम्म सुन्दर जीवन बिताइरहेकाछौं । स्वामी यो मात्र हाम्रो जीवन होइन । हाम्रो जीवनमा समयको सागर छ । त्यो सागरमा जीवनको नाउँ चलाउन सक्नुपर्छ । थाहा छैन , तर समयले हामीलाई वारपार गर्नेछ । वारीका मान्छेहरु पारी आउनेछन् । पारिका मान्छेहरू वारी जानेछन् । यो वारीपारीको जीवनमा जो जसरी भएपनि गन्तव्य नपुगेसम्म दुःखैदुःखमा बाँच्नुपर्नेछ । त्यसैले जीवनको नाउँ माझीले होइन आफैले चलाउने हो । जहाँ जे फ्ुग्नु पर्ने हो त्यहाँ जीवनको नाउँ छोडेर जाने हो । यो पीडा, यो छटपटी, यो चिन्ता, यो धड्कन सबैले बिदा मागेर आफ्नो बाटोमा लाग्ने हो । जहाँ सबैका प्यारा बसिरहेका छन् । त्यहाँ हामी पनि गएर बस्नुपर्छ । यो भवसागरमै बिसाएर दिनहरूको हिसाब किताब बुझाउनुपर्छ । कर्म र अकर्महरु तुलामा जोक्नुपर्छ । प्रेम, माया र सद्भावका कुराहरु मुटु खोलेर देखाउनुपर्छ । पाइलैपाइलाका कुराहरु एकएक गरी सुनाउनुपर्छ । त्यसैले हे प्यारा स्वामी राजेश्वरी हामीले बोकेर आएको आयु अब सकिन लागेको छ । धेरै छैन अब थोरै मात्र बाँकी छ । कति दिन बाँच्ने रहने हो ? कति दिन पर्खिएर बस्नुपर्ने हो ? यो थोपाथोपालाई थाहा होला । यो त हामीले बोकेर आएको आयुलाई थाहा होला । हामीलाई के थाहा, एकछिन पछि के हुने हो ? कसरी मर्ने हो ? यो त सब निधारमा लेखिएको हुन्छ । यो त सबै ईश्वरले पहिले नै तय गरी पठाएको हुन्छ । हामी त निमित हौ । जाउ भनेपछि जाने, आउ भनेपछि आउने । बाँकी त ईश्वर हो । ईश्वरले रचना गरेको यो संसारमा हामी त दुई दिनको पाहुना हो । बस्छ र जान्छ । के के हुने हो यो आँखाले नदेख्ने परलोकमा पुगेपछि कसरी बस्ने हो ?
राजेश्वर नै स्वामी मेरो
पाइनँ मैले के मात्र
मेरो आज्ञा ! मेरो आग्रह
कति तागत मेरो भित्र
तर यो जीवन हैन यहाँको
विस्तृत छ समयको सागर
खोज्दछ जसले जीवन डुङ्गा
छोप्न छोप्नलाई प्रतिफल
यो पीडा यो छटपट चिन्ता
आह र धड्कन सब मेरा
माग्छु विदा है जान्छु म ता अब
छन् जहाँ मेरा प्यारा ।
यो अविरल बग्ने नदी कहाँ गएर टुङ्गिने हो ? यो कलकल सुमधुर स्वर कहाँ गएर रोक्ने हो ? पर्खपर्ख म पनि पछिपछि आउनेछु । जहाँ अबिरल नदी बगिरहेको छ । त्यहाँ म पनि पुग्न चाहन्छु । सुमधुर कलकल गीतहरु नदीले कहाँसम्म गाउने हो ? म पनि त्यहीसम्म पुगेर सुमधुर गीतहरू सुन्नेछु । स्वरमा स्वर मिलाएर म पनि गीतहरू गाउनेछु । सुरु कहाँ अन्त्य कहाँ हो थाहा पाउनका लागि यो जीवन त्यसैमै लगाउनेछु । पर्ख तिमी बिस्तारै हिँड तिमीले हिँड भन्दैमा म तुरुन्तै कहाँ आउन सक्छु र ? मलाई त यहाँ धेरै अलमल छ । ती अलमलहरु एकएक गरी गाँठो फुकालेर सबैलाई हिसाब किताब गरेर आउनुपर्छ । प्रेमप्रेमसँग, मायामायासँग, मुटुमुटुसँग, नजरनजरसँग सबैलाई बिदा लिएर तब पो म आउन सक्छु । किनकि यो जीवनमा ममात्र बाँचिरहेको छैन । मेरो जीवनभित्र मेरो स्वामी छ । मेरो लालाबाला बच्चा छ । मेरो घरपरिवार छ । मेरो श्रीसम्पति छ । सबैसँग बिदा लिएर आउनुपर्छ । कसैले रोके छालछाम गरेर भएपनि निस्किनुपर्छ । गाह्रो छ यो मनुष्य जीवन । सबैले सबैलाई पत्याउन कठिन छ । सबैले सबैलाई बुझाउन गाह्रो छ । यो समयचक्रभित्र सबै काम भ्याएर अन्त्यमा हामीले छोडेर जानु छ । मलाई पश्चाताप छ । हिजोका दिनहरू गईसके । आज साँझ पर्न लागिसक्यो । भोलि मर्नु छ । त्यो छोटो समयमा छिटोछिटो काम सक्नुछ । भ्याइएला नभ्याइएला तर मैले मेहनत गर्नुपर्छ । मैले भ्याउनुपर्छ । मैले कोसिस गर्नुपर्छ । समयले छडि गएपछि टुलुटुलु हेर्नु बाहेक अरु के पो गर्न सकिन्छ र ? त्यसैले यो जीवन अनौठो छ । दिनरातले टुक्राटुक्रा पारेर आखिर हाम्रो जीवन एक दिन समाप्त पार्नेछ । एक दिन रित्तो हुनेछ । खालीखाली भएर यो रित्तो शबलाई पनि खाली गर्न दाह संस्कार गर्नेछ । गंगा साक्षी छ । आगो बल्न थाल्छ । धुँवा उड्न थाल्छ । यो हाड र छालाको शरीर अब एकछिनपछि खरानी बन्नेछ । रुने रुन्छ, हाँस्ने हाँस्छ । मान्छेजस्तो बैगुणी यो संसारमा कतै पाइँदैन । धन्य भो चोला, मान्छे खरानी बनेर माटो बनिसके । अविरल बग्ने नदी कलकलगर्दै कहाँकहाँ पुगिसकेँ । गगन रुन नसकी बादलले टम्म ढाकिसकँे । सुख र दुःखका कुराहरु मान्छे–मान्छेहरुले गर्दै थिए । त्यसैले अब मेरो चेत खुलिसकेँ । मान्छे शून्यमा हराउँदोरहेछ भन्ने कुरा बुझिसक्यो । बस् यति भए पुग्छ । आज म बाँचिरहेको छु । भोलिका लागि बिदा लिएर नदीसँगै बग्नेछु ।
अविरल सुमधुर कलकल कलकल
टुङ्गिन्छ कहाँ गई यो स्वर ?
यसको स्वरमा यसकै लयमा
म पनि मिसिऊँ पखपख छिनभर
पखपख छिनभर साथ म लाग्छु
स्वामीसित गै माग्छु बिदा
यो त मिलन हो माग्नु बिदा किन
स्वामीसित छुट्टिनु मेरो ।
हजुरको बोलि कति मीठो सधैं सुनौसुनौ लागिरहन्छ । हँसिलो मुहार सधै हेरुँहेरुँ लाग्न थाल्छ । मेरो अगाडि हजुरको राज हुनुपर्छ । मेरो नजरले सधैं हजुरलाई देख्न पाउनुपर्छ । नत्र म पागल बन्न सक्छु । मेरो इच्छा, आकांक्षा र चाहना हजुर हो । मेरो हर दिनको प्रार्थना हजुर हो । त्यसैले म ईश्वरलाई बिहानी पूजापाठ गरेता पनि मेरो लागि ईश्वर भन्दा ठूलो हजुर हो ।
बोलि बचन अमृतजस्तो भएपछि मन पराउनु स्वभाविक हो । ईश्वरजस्तो बान्की परेपछि मन पग्लिनु स्वाभाविक हो । त्यसैले कान्ति, कान्तिमती भएपछि मलाई अरुको के चाहाँ ? जनताको सागरबाट सम्मुख भएपछि मलाई अरुको के थाहाँ ? यतिको उच्च र स्वच्छ बनेपछि म त छक्क पर्ने नै भो । भित्र नपुगिने गहिरिएको अनुभवको कुरा के थाहा ?
रानी भन्छिन् राजालाई
शब्द हजुरको कति मीठो
कसबाट सिकी बक्सेको हो
बोल्न अमृत घोली यस्तो ?
राजा भन्छन् शब्द टिपी यी
जनताको सागरबाट
तिम्रो सम्मुख राखैँ कान्ति
छैन मलाई अरु थाह
किन यी यतिको उच्च र स्वच्छ
छक्क मलाई अति लाग्छ
भित्र नपुगिने गहिप्याइमा
चोबेको अनुभव हुन्छ ।
यो धरर्तीमा जन्मेका सबै प्राणीहरू एकदिन मर्नुपर्छ । कोही ढिलो होला, कोही चाँडो होला । आखिर एकदिन त जानुछ । यो संसारबाट बिदा मागी आफूले आफैलाई पनि छोडेर जानुछ । त्यसैले तिमी देख्छौ कि देख्दैनौ म त हरपल मृत्युलाई देखिरहेछु । आजभन्दा भोलि नजीक आएको हेरिरहेछु । प्रिय तिमीलाई कस्तो लाग्छ । मलाई त किन हो कुन्नी बगिरहेको खोला रोइरहेको सुनिरहन्छु । बाल्वै बालुवामा मान्छेहरुले घर बनाइरहेको देखिरहेछु । यो के भइरहेको छ ? यो के हुन लागेको हो ? के थाहा, ईश्वरको लीला अपरम्पार भएर होला म पनि बालुवामै घर बनाउँदै छु । नदीको छालले आज हजारौं धरहरु भत्काए पनि भोलि फेरि हजारौं घरहरु बन्नेछन् । यो नै नदी किनाराका रीत हो । छियाछिया भएर मुटुमा प्वालैप्वाल भए पनि समयकै प्रतिक्षामा मान्छेहरु बाँचिरहेका छन् ।
हाम्रो जीवन त खोलासँगै बनाएको घरजस्तै हो । कुन बेला भत्किने हो । जगमा पानी परेपछि आयु छोटो भएर कुन बेला कोल्टो फेर्ने हो । शुरु र अन्त्यका बीचमा हामी बाँचिरहेको भएपनि कुन बेला त्याग, तपस्या र साधना गर्ने हो ? यो सतबीज छर्ने मेलामा थुप्रै दाह्री र जट्टावालाहरूको भेला भएपनि कुन बेला सितराको व्यापार हुने हो ? पशुपतिमा थुप्री जोगीहरूको ताँती भएपनि कुन जोगीले महादेवको दर्शन पाउने हो ? के थाहा, सबै जोगीहरु जोगी हुन सक्दैनन् । सबै जोगीहरू गोरखानाथका अनुयायी हुन सक्दैनन् । घरव्यवहार त्यागेर यो संसारबाट विरक्त भई निष्काममा लागेका ती सन्यासीहरुले धुनी जगाई भस्म रंगाई जपतप गर्दैछन् । मन बाँधेर ईश्वरकै शरणमा जड्ताको त्यो द्वार उघार्न खोज्दैछन् । त्यसैले यो चेतनाको आगोले मान्छेहरूलाई धेरै पोलेपछि मान्छे सत्य र शिवको दर्शनमा लाग्नेछन् । यो नै अन्तिम सत्य हो । यो सत्य मान्छेहरूले चाँडै बुझ्नुपर्ने हो । समय सकेपछि मन आतिएर मात्रै केही हुन्न । बाँकी जीवन सत्यमा पनि बिताउन सकिन्छ । तर ढिलै आँखा खोल्नेहरू ईश्वरको भक्तिभाव गर्दैमा पुण्य कमाउन सक्छ, सक्दैन भन्न सकिन्न । किनकि त्यो अकर्म छिनभरमा पापमोचन हुन्छ, हुँदैन थाहा छैन । त्यसैले यो सन्यासीहरूको महापर्वमा आत्मा–आत्माहरुको संगम छ । भाव र पुण्यको दोभान छ । मनमा मात्रै ईश्वरको भक्तिभाव राख्ने हो भने नराम्रो बाटोतिर केहीहदसम्म रोक्न सकिन्छ । त्यसैले यो जीवन कहाँ गएर टुङ्गिने हो ? कहाँ गएर सकिने हो ? काल आई लग्दैमा के जीवन टुंगिसकेको ठान्ने हो ?
पशुपतिमा कति जोगीहरूको
आज छ ताँती लागेको
धुनी जगाई भस्म रँगाई
जपतपमा मन बाँघेको
जडताको यो द्वार उघारी
चेतनताले चम्क रे
सत्य र शिवको दर्शन आतुर
आत्माको यो जमघत रे
भन्न सकेको छैन कसैले
उसपार जाँदा के हुन्छ
मृत्यु आई लैजाँदैमा
के जीवन अनि टुङ्गिन्छ ?
यो संसार प्राणीहरू आउने जाने थलो हो । यहाँ कति आए, कति गईसकेँ । यो त युगौँयुगदेखि चलिरहेको छ । हामी देखिरहेका छौं । जाने अहिलेसम्म फर्किएको छैन । किन होला त्यहाँ के हुने हो ? कसरी बस्ने हो ? कोसँग कुरा गर्ने हो ? कसले खुवाउने हो ? थाहा छैन, किनकि त्यहाँबाट फर्केर एकजना मान्छेले पनि यहाँ यस्तो हुन्छ भन्न सकेको छैन । यो कस्तो अनौठो खेल हो । जहाँ भित्र पस्न सकिन्छ तर बाहिर निस्किन सकिँदैन । यो युगौँयुगदेखि चलिआएको छ । खेल कसैले चलाएको हो ? किन नफर्किएको हो ? म जान भनि बसिरहेको मान्छेलाई काल आएर किन पक्रेर लग्ने हो ?
यो संसारमा जाने त गइसक्यो तर आउनेहरू कसरी आएको हो ? किन आउनु परेको हो ? कसले पठाएको हो ? हे ईश्वर ! तिमी भित्रैभित्रै चाल चालेर मान्छेको निधारमा जीवनका बाटाहरु किन कोर्छौ ?सुख र दुःखका कुराहरु किन गछौ ? के मान्छे जन्मियो भन्दैमा सबै कुराहरु निधारमै नलेखेको भए पनि हुन्थ्यो ? तर तिमीले त्यसो गरेनौ । तिम्रो गुप्त कुराहरु खोल्न कति मान्छेहरुले प्रयत्न गरे, कति मान्छेहरुले त्याग तपस्या गरे । तर यही तथ्य हो भनी कसैले कुनै कुरा खुलाउन सकेको छैन । त्यसैले यो अलमलमा परेको जीवनमा नदीको किनारजस्तै वारीपारी पाप र धर्म बसेर मान्छेहरुलाई हेर्दैछन् । जन्म र मरणका कुरा गर्दैछन् । सत्य र असत्यका कुराहरु गर्दैछन् । लोभी र पापीका कुराहरु गर्दैछन् । नित्य र अनित्यका कुराहरु गर्दैछन् । यो संसारमा सबै मिथ्था कुराहरु मात्र होइन समयमै ब्युँझिने हो भने जूनीजूनीका लागि यहाँ सबथोक पाउन सक्नेछन् ।
उस्तै हामी देखिरहेछौं
जाने कोही फर्किनन्
आएका पनि कसरी आए
आजतक भन्न सकेनन्
गुप्त कुरा यो खुल्न निमित
कतिकतिले कति यत्न गरे
पक्कापक्की यही हो भन्ने
तत्व भएन स्पष्ट हरे
सत्य नजानी अलमल छन् सब
जन्म मरणको यो घेरा
संसार चल्यो सारा मिथ्या
खालि ब्युँझन खोजेका ।
मान्छेले यस्तो गछुँ उस्तो गछुँ भन्नु सब फजुलको कुरो हो । यो त आफूले गरेर देखाउन सक्नुपर्छ । मान्छेले सुख मात्र होइन दुःख पनि भोग्नुपर्छ भन्ने कुरा देखाइदिनुपर्छ । तब पो यो मनलाई सुख र दुःखका कुराहरु थाहा हुन्छ । नत्र मनले चाहेको कुरा मात्रै खोज्न थाल्छ । अरुलाई उपेक्षा गरेर आफ्नो कुरा मात्रै उचित ठान्छ । त्यसैले यो मनलाई जतिसुकै दुःख भएपनि सुख ठान्यो भने सुखजस्तै हुनेछ । दुःख ठान्यो भने दुःखजस्तै हुनेछ । तिमी एकचोटी चारैतिर उभिरहेका शान्त र सुन्दर गिरिमालालाई हेर्नु । क्षणक्षणमा बलिरहने त्यो बादललाई पनि हेर्नु । कलकल बग्ने त्यो नदीहरूलाई पनि हेर्नु । बिहानीको उषा र सन्ध्याको रविलाई पनि हेर्नु । तिमीले केही पाउनेछौ । स्वर्गजस्तो हाम्रो नेपालमा तिमीले केही गरेर जानुछ ।
कान्तिमती यो देशको निम्ति हटिरहेछ, गइरहेछ । ऊ आफै पग्लिएर आज केहीसँग मिलन आतुर छ । उसलाई कसैले लिन आउनु आवश्यक छैन । ऊ आफै जाने ठाउँमा गइरहेको छ । गन्तव्य पुग्न आफ्ना पाउ चलिरहेको छ । त्यसैले उसलाई रोगब्याधिको बल्सी हालेर ताग्नु पर्दैन । काललाई कुनै दोष नहोस् भन्नका खातिर रोगव्यथा लाग्नु पर्दैन । समय आएपछि ऊ आफै खुरुखुरु जानेछ । कसैले जाऊ भन्नु आवश्यक छैन । कसैले आऊ भन्नु आवश्यक छैन । रोग लागेर यो शरीरलाई धजाध्वजा पारेर शिथिल पार्नु पनि आवश्यक छैन । त्यसैले हे काल ! तिमीले छोपेर सनातनदेखि चल्दै आएको मेरो धर्म निभाउनु पर्छ भन्नु पर्दैन । म आफै सक्षम छु । तिम्रो त्यो नियमलाई म उलंघन गर्न चाहन्छु । किनकि मउपर तिमीले त्यस्तो व्यवहार नगर्नु । तिम्रो सनातनदेखि चल्दै आएको धर्म भनी ननिभाउनु । तिमीले त सबैलाई एउटै नियम लगायौ । म पापी होइन, तिमीले बोलाएको समयमा आउनेछु । म विकृत जान्दिन, मेरो पालो आयो भने तिमीले नबोलाए पनि आउनेछु ।
यो जीवन विकृतिको लागि होइन । यो जीवन रोगव्याधिको लागि पनि होइन । यो जीवन्त उपकारको निम्ति हो । मैले जे लिएर आएँ त्यो सकेपछि त्यही बाटो भएर आउनेछु । त्यसैले हे काल ! तँ रोग लिएर नआ । रोग त हारिसकेको छ । अब तेरो केही चाल्नेवाला छैन । मलाई ढाल्न नखोज । तँ आफै ढलेर गइस् । हो, मृत्यु त जन्मको अर्को पाटो हो । मलाई थाहा छ, म पनि एकदिन मर्ने छु । तर मलाई अंकुशले तानेको मन पर्दैन । अंकुशले त भाग्नेहरूलाई फे तान्ने हो । म अहिलेसम्म भागेको छैन । मलाई किन अंकुश लगाउँदैछौ । हे शीतलामाई तिम्रो नजर ममाथि पनि परेको थियो । तिम्रो छायाँ मेरो शरीरमाथि पनि छाएको थियो । तर तिमीले बिस्तारै छोडिदियौ । यो चल्न नसक्ने अशक्त शरीरलाई तिम्रो कृपाले बिस्तारै चलाइदियो । यो नै मेरो लागि सौभाग्य हो । हे प्रभु ! म रोगब्याधिलाई इज्जत राखेर कालो मृत्युवरण गर्न चाहन्छौँ । म रूप गुमेको आयु राख्न चाहन्न । हीनताबोघले बाँच्न चाहन्न । जे छ आफैमै समाहित गरी सुन्दर अनि स्वस्थ हृदयको उपहार दिन चाहन्छु । त्यसैले हे मेरा स्वामी ! हे मेरा राजा ! तिमी वीर छौ र तिमीले मलाई मात्र होइन प्रजालाई पनि त्यस्तै व्यवहार गछौ । तिमी उद्धार र दिलदार भएकोले तिमीले प्रजालाई पनि खुल्ला हृदयमा राखेर उद्धार गछौ । हे ईश्वर ! म त धुलोको कण हुँ । राजाको सेवक हुँ । मेरो धर्म राजालाई सेवा गर्नु हो । राजाकै शरणमा मर्ने हो ।
म गइरहेछु , म हटिरहेछु मेरो यो देश निमित
पग्ली म स्वयम् यसै मिल्न आतुर–आतुर भित्र
जाने ठाउँमा जान्छु म आफै चाली पाउ ससम्मान
रोगव्यथाले बल्सी हाल्न पर्दैन मलाई तान्न
रोगजरो तानीतानी विकृत तुल्याई यो जीवन
मृत्युलहरले छोपी लाने यसको हो यो नियम सनातन
तर म नियम त्यो उलंघन गर्छु यस्तो मउपर हुन दिन्नँ
स्वामीको हो यो मेरो जीवन विकृत यो हुन्नहुन्न
रोग तँ आइस् हारिस् तर तेरो केही लागेन
ढाल्न मलाई खोजिथिस् तर आफै तँ ढलिस् अब जान
मृत्युलहर भै छोपिन आउँछु पाउन तिम्रै चिर चैन
रोगज्वरोको अंकुश हाली तान्न मलाई पर्दैन
शीतला तीखा बल्सी हाली तान्न सकिनस् जसलाई
रोगव्यथाको इज्जत राख्छु कालो मृत्यु स्वयम् ओढी
रूप गुमेको आयु म राख्दिनँ हीनता आफूसित जोडी
थाहा छ यो पनि सुन्दरता हो स्वस्थ हृदयको उपहार
मेरो स्वामी मेरो राजा वीर, उदार र दिलदार ।
जीवन एउटा कठिन सफर हो । जहाँ नानाथरीका विघ्नबाघाहरू आइपर्छ । त्यस्तै यो वनजङ्गललाई पनि थुप्रै दुःख र पीडाहरु नभएको होइन । तैपनि चुप लागेर बसिरहेको छ । आफूले दिन सक्ने जति दिएर पनि शिशरमा नाङ्गो भएर बाँचिरहेकैछ । आफू मेटिएर भएपनि यो जगत्मा कल्याणका लागि कामहरु गरिरहेकैछ । हो, कोकिल सबैको प्रिय छ । सुरिलो अनि मिठो गानाले सबैको मन जितिसको छ । उसलाई के थाहा, मेरो स्वरमा जादु छ ।
मन मुग्ध भएर सबैजनाको हृदय पग्लिरहेको छ । छहरा भन्छन् म झरझरगर्दै छाङ्गोबाट खसिएको धुन हो । कहाँकहाँ कताकताबाट झरेको पानी हुँ । लौ मलाई लिएर जाऊ । नत्र म खोलाखोलाहुँदै नदीमा समाहित हुन सक्छु । मेरो जीवन यसैमा धन्य छ । भाबकुसुमहरू योगयोगमा गाभ्न सकुँ । तिम्रो छेउमा आएर मेरो हृदय खोल्न सकुँ । तिम्रो अन्त्य बनिकन म बोल्न सक्छु । किनकि तिमी मेरी स्वामी हौ । आफू रित्तो भएर मसित आत्मसमर्पण गरी टाँसिन आयौ भने यो सम्भव छैन । म तिमीलाई रित्तो पारेर आत्मा समर्पण गरेको देख्न सक्दिन । त्यसैले म लिन्न । तिमीले आफ्नो निम्ति केही नराख्ने हो भने म ढुंगाको मूर्ति बन्न सक्दिन । म ढुङ्गाको मूर्ति होइन ।
कोकिल बोल्छन्, छहरा भन्छन्
लौ लौ मेरो पनि लेऊ
धन्य म हुन्छु भावकुसुम यी
गाभ्न सके तिम्रो छेउ
हाँक सकारे सम्पद खोल्छु
तिम्रो आत्मा बनीकन बोल्छु
सबकुछ मेरो स्वामी भनिकन
मसित तिमी टाँस्सिन आयौ
आफ्नो निम्ति केही नराखी
आत्मसमर्पण यो ल्यायौ
लिन्नँ म लिन्नँ म भन्दै छु है
ढुंगाको मूर्ति म हैन ।
लिनु मात्र जीवन होइन, दिनु पनि हो । श्रद्धा भक्तिभाव मात्रै गर्नु होइन, प्रेमको माया खन्याउनु पनि हो । उच्च धवल हिमालको कम्मरसम्म टम्म बादल रहे पनि आखिर भूस्थल तल नै हो । त्यसैले सूर्यको किरणले बादल फाटी भूखण्डमा परेजस्तै, माया ममताले स्वछन्द भई हाँसेजस्तै, सुन्दरले भरिपूर्ण संस्कृति र कलाका मधुर परागजस्तै, महिमामय मधुर विशालजस्तै यो कान्तिपुरनगर परम्परादेखि तरज शैलीमा बाँचिरहेको छ । मन भारी भएपछि जीऊ भारी हुनु स्वाभाविक हो । आखिर मान्छेको मन न हो । मनमा थुप्रै कुराहरु खेल्न थालेपछि मन अशान्ति हुनु स्वाभाविक हो । आगोको ज्वाला बढेपछि मन पोलेर यताउता भौतारिनु स्वभाविक हो । त्यसैले मन स्वच्छ पार्नुपर्छ । हरियोपरियो रोपेर हराभरा पार्नुपर्छ । तब पो मन भारी हुँदैन । तब पो जीऊ दुख्न थाल्दैन । यो बन्धनभित्र कति बसूँ भनी नैरास्य मात्र हुने हो भने मान्छे घरव्यवहार छोडेर सन्यासी हुनेछ । तर त्यस्तो होइन समाजभित्र थुप्रै बन्धनहरु हुन सक्छन् । त्यसलाई त बिस्तारै थितिमा बसाल्नुपर्छ । बेथितिलाई एकएक गरी हटाएर बन्धनलाई तोड्न सक्नुपर्छ । तब पो मान्छे–मान्छे भएको सार हुनेछ । तब पो समाजका निम्ति केही गरेको ठानिन्छ । नत्र मान्छे–मान्छे मात्र भएर मर्ने छ । त्यो बन्धनभित्र दुःखपीडा सहेर बाँच्नुपर्नेछ । त्यसैले मलाई नरोके हुन्छ । मलाई नछेके हुन्छ । मेरो आत्मा त अमर र अजर छ । मेरो नित्य, सत्य र सनातन पुण्य थलोमा छ । तैपनि म किन काँपीरहेछु । निर्भयताको खुसियालीमा हाम फाल्न म किन रोइरहेछु ? समय बिसाई मेरो सिर्जनामा चातुर्य गरी म किन नफालूँ । स्वामी ! म माथि पर्खिरहन्छु । सरोसरोको माला लिएर म बसिरहन्छु । मधुर मिलानको उत्सव भर्दै आत्मा–आत्मा एक हुन खोजिरहेछु । सुन्दर, शीतल अविनाशीको काखमा बस्न अब कान्तिमती चिरनिन्द्रामा पुग्दैछ ।
जीवन पूर्ण भएर अब सघासघाका लागि बिदा हुँदैछ । माया र ममता अब सबै सम्झना बनेर रित्तो भइसक्यो । अब कान्तिमतीलाई मैले खोज्न सक्दिन । यो संसारबाट बिदा लिएर गएको मान्छेलाई म भेट्न सक्दिन । जति खोजे पनि अब पाउँदैन । त्यसैले होला आज मेरो आकाश खसेर म घाइते भएको छु । यो धरर्तीमा अट्न नसकी म पनि बाहिरिदै छु । किनकि यो मनमा आगो लागिसकेको छ । अब यो आगो निभाउन सक्दिन । बलेर कुन दिन भष्म हुने होला । म आफूलाई नै थाहा छैन । त्यसैले म रोइरहेछु । कान्तिमती आउने आशामा डाकी रहेछु । खै सुनेको कान्तिमतीले, हिजो त थुप्रै मायाप्रितिका कुराहरु गर्थे । खै आज केही बोल्दैनौ ? यो कस्तो दीन हो ? यो कस्तो समय हो ? यस्तो दीन दिनुछ भने हे ईश्वर ! हाम्रो भेट किन गयौ ? म यता ऊ कता बाक्लो पर्दा बीचमा रहेर न मैले उसलाई देख्न सके न उसले मलाई देख्न सक्यो । यो कस्तो वियोग हो ? यो कस्तो पीडा हो ? जति म नियालेर हेरुँ, जति म सोचेर बोलूँ खै मैले त केही देखिएन । खै मैले त केही सुनेन ।
कान्तिमती अब दीर्घ निदाइन्
जीवन उनको पूर्ण भयो
मेरो माया मेरो ममता
सम्झना बनी रिक्त रह्यो
पिर अपार मनमा छाडी
कान्तिमती अव दूर गइन्
जति म रोऊँ , जति म डाकूँ
उनले अब केही सुन्दिनन्
बाक्लो पर्दा बीचमा हाम्रो
के छ त्यहाँ थाहा छैन
जति म नियालूँ जति म सोचूँ
केही पनि देख्न सक्दिनँ ।
मान्छे मर्दा कति पीडा हुँदोरहेछ । मनमा थुप्रै कुराहरु खेलिरहँदा बोल्न नसकी आँखाको इशाराले मात्रै बोल्दोरहेछ । यो कति पीडादायी व्यथा हो । समय सक्न लागिसक्यो । शतिm हराएर गइसक्यो । पलपलमा कालले मुख खोली अब निल्न मात्रै बाँकी छ । शुन्यशुन्यमा हराएर मान्छे शुन्य हुन खोज्दैछ । त्यस्तो भो कान्तिमतीको आत्माले शरीर छोडिसकेको छ । अब छाया मात्रै बाँकी छ । काया त हलचल बिनाको मुर्दा बनेर दागवतीको खोजीमा छ । हो कान्तिमती आज भष्म भई खरानी हुने भो । मेरो पुतली सुन्दरताको अनुपम रुप बोकेर आएकी थिइन् । आज फितुलो बनी रुपरङ हराइसकेकी छे । अब फर्किदैन कान्तिमती । सदाका लागि मलाई एक्लो पारी आफ्नो बाटो लागिसकेँ । मेरो सपनाहरु सबै चुडिएर लगिसके । अब मैले दुर्गति भोग्नुपर्छ । एक्लै जीवन बिताउनुपर्छ । सहाराबिनाको यो जिन्दगीमा संगमको दोबाटोमा कुर्नुपर्छ । फूल त झरिसक्यो । पात त झरिसके । अब त मेरो जीवनमा काढैकाढा मात्र बाँकी छ । सुकेर अब ओइलिएर जानु मात्रै बाँकी छ ।
छायामात्र छ अब बाँकी
काया कहाँ शुन्य भयो
भष्म खरानी आज हुने रे
मायाको मेरो पुतली
कस्तो फितलो कस्तो छोटो
स्वप्न फूलेको रूप कली
सुन्दरताको ज्वाला बोकी
आएकी ती कान्तिमती
फर्किन् रे अब फर्किन् रे अब
प्रेम र रुचिको बाग्मती
चुँलियो, छिनियो मेरो सपना
दुर्गर्ति मेरो अब कस्तो !
शोक बिरहको बाढी उर्र्ली
म भएँ अब मुढो जस्तो
फूल झप्यो पात झप्यो सब
मेरो जीवन ओइलायो !
म सुकेको मुडोजस्तो भएर पनि किन ठिङ्ग उभिरहेको छु । थाहा छैन किन नढलेको होला । ढल्नु त पर्ने हो । सुकेको पातजस्तो खस्नु त पर्ने हो । जरा नभएपछि रूप त ढल्नुपर्ने हो । तर किन भइरहेको छैन । कतै मैले घनघोर दुःख पाउनको लागि त होइन ? कतै मैले अभागी जीवन बिताउनुपर्ने त होइन ? होइन भने म बाँच्नुको कुनै अर्थ छैन । हे ईश्वर ! म पनि कान्तिमतीसँग ढलेको भए हुन्थ्यो । कान्तिमतीसँग जान पाएको भए हुन्थ्यो । तर किन कान्तिमतीलाई मात्रै लगेर मलाई किन छोडेर गयो ? के म पापी हुँ र ? नत्र कान्तिमतिसगै मलाई पनि लग्नुपर्ने हो ? प्राण त एउटै थियो तर किन एउटै प्राणलाई चिरेर आघी प्राण मात्रै लिएर गयो ? मलाई सहनै नसक्ने गरी घाइते बनाई तिमी एक्लै किन स्वर्ग गयौ ? कतै प्रेम सम्बन्ध नाटक त होइन । मसँगै बदला लिन खोजेको त होइन । होइन भने तिमीले किन मलाई छोडेर गयौ । म बाँचिरहेको छु । तिमीले आफ्नो प्राण त्यागिसक्यो । म हेरिरहेको छु , तिमीले कति चाँडै आँखा चिम्ली सक्यो । यो मेरो धड्कन, छटपट र पीडालाई यति चाँडै किन बिर्सिसक्यो । तिमी त गयो गयो, म किन मर्न सकिएन । तिम्रो चित्तामा म किन सुत्न सकिएन ? तिमी आगोसँगै बलिरहेको थियो । शरीर टुक्राटुक्रा भएर आगोले खाइरहेको थियो । तर म ठिङ्ग उभिएर त्यसैत्यसै हेरिरहेको छु । गंगा साक्षी राखेर वायुसंग तिमी आकाशमा उडिरहेको बेला तिम्रो खरानी मेरो शरीरमा पनि पर्दै थियो । मेरी रानी, तिमीले यस्तो निर्मम र क्रुर अवस्था किन लियौ ? मान्छे भएर यति तुच्छ र निर्धन किन भयो ? म लाछी केही गर्न नसकेर तिमी बलिरहेको टुलुटुलु हेरिरहेको थिएँ । म अभागी मसानघाटमै बसेर भाग्य खोजिरहेको थिएँ ।
आज सुकेको मुढो जस्तो
म छु व्यर्थै ठिङ्ग उभेको
यस्तो भइकन म किन नढलेको
आश्चर्य मलाई लाग्छ
कान्तिमतिसगै मर्न नसकी
अझ किन यो चलमल गर्छ
धड्कन, छटपट, पीडा मेरो
आज भए पनि अन्त्य सबै
यो जीवनको पुर्जा सारा
आज चलेकै देख्छु कठै
बज्र परिकन देह ढले पनि
प्राण अझै बाँचिरहेछ
निर्मम यस्तो क्रुर अवस्था
मानिस यतिको तुच्छ र निर्धन
कस्तो लाछी कमजोर ।
युगकवि सिद्धिचरण बहुभाषा र बहुपक्षीय साहित्यमा योगदान दिने स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक हुन् । नेपाल भाषा र नेपाली साहित्यका एक हस्तसिद्धि स्तम्भ युगकवि राणाशासनका विरुद्ध क्रान्ति र हड्ताल शब्दको पहिलो शखङ्कोष गर्ने क्रान्तिका अग्रदुत हुन् । कान्तिमती खण्डकाव्यको रचना २००४ सालमा भएतापनि प्रकाशन २०७२ सालमा मात्रै भएको हो । गोरखपत्र संस्थानमा कार्यरत रहँदा प्रस्तुत काव्यको रचना गरिएको थियो । मातृका छन्दमा लेखिएको प्रस्तुत काव्यमा ७७ श्लोकहरु छन् । पहिलो खण्डमा १६८ दोस्रो खण्डमा २०० तेस्रो खण्डमा ८२ र चौथो खण्डमा ४८३ पंक्तिहरू रहेका छन् ।
राजा रणबहादुर शाहको नाम उल्लेख नगरी नायक पात्र राजा रणबहादुर शाह र कान्तिमतीको जीवनमा आधारित प्रस्तुत ऐतिहासिक काव्य वियोगान्त खण्डकाव्य हो । यसमा राजा र कान्तिमतीबीच भएको प्रेम, वैवाहिक सम्बन्ध, पात्र चरित्र, राष्ट्र प्रेम र मृत्युको वर्णन गरिएको छ । कान्तिमती शितलामाजुको रोगले च्यापी निधनसम्मको अवस्थालाई जोडेर खण्डकाव्य समाप्त गरिएको छ ।
राजा शोकाकूल बन्न पुगेको यथार्थ सत्यलाई काव्यमार्फत युगकविले जनमानसमा पस्केको देखिन्छ । पौरस्त्य दर्शनको प्रभाव परेको प्रस्तुत काव्यको मुख्य पात्र कान्तिमती र राजाको योग–वियोगको मनोदशालाई चित्रण गरिएको छ । कान्तिपुरको प्रकृति, कला, संस्कृति र रितिरिवाजलाई अवलोकन गर्दा पशुपतिनाथमा राजाले दृष्टि परी प्रेम प्रणयलाई समेत दृष्टिगत गरी युगकविले घटनाक्रमको प्रस्तुतिमा मानव धर्मलाई जोडिएका छन् ।
यो भौतिक शरीर र नाशवान र मायावी छ । मान्छेले जतिसुकै सुख सुविधा भोगे पनि आखिर रोग र मृत्युले दुःखी बनाउँछ । त्यसैले हामीले यो शरीर र आत्मालाई अलग छुटाउन सक्यौ भने निश्चय नै भय र दुःखबाट मुक्त भई आत्माले सुख पाउनेछ । त्यसैले राजाको मनमा उत्पन्न भएको रागनै दुःखको कारण हो । विषयवासनाप्रतिको राग र भौतिक जगत्को गहिरो चिन्तन गर्दै तमोगुणको कारण मान्छे दुःखी भएको कुरा युगकवि सिद्धिचरणले प्रस्तुत काव्यमा उल्लेख गर्नुभएको छ । यो शरीर आत्माको डेरा हो । जन्मेपछि मृत्यु हुनुपर्ने भएकोले सुख र दुःख दुईदिनको लालासा मात्र हो । कान्तिमतीको मनमा तृष्णा छ । त्यसैले कान्तिमतीको मृत्यु हुनु अगाडि स्वामीको मात्र सम्झना गरिरहेको देखिन्छ ।
रानी कान्तिमतीकै नामबाट खण्डकाव्यको नामकरण गरिएको प्रस्तुत काव्यमा नवीन वर्णनामक शैलीमा परम्परा विपरीत ब्राह्मण विधवासँग प्रतिलोम प्रेमविवाह गरी त्यसबाट जन्मेका सन्तानलाई राजगद्दीमा राख्ने जस्ता इतिहासमै नभएको कालखण्डलाई आधार मानी रचना गरिएको प्रस्तुत ऐतिहासिक खण्डकाव्य करुणरसले अन्त्य गरिएकोे छ ।
प्रकासित मिति २०८२-७-२२










तपाईको प्रतिक्रिया