काठमाण्डौ १६ कार्तिक २०८२
सरकारले काठमाडौँ उपत्यकाको दीर्घकालीन सहरी विकासका लागि आगामी ५० वर्षे गुरुयोजना तयार पार्ने भएको छ । यो योजनाले उपत्यकामा बढ्दो जनसंख्यालाई ध्यानमा राखेर ढल, खानेपानी, विद्युत्, सडक, फोहोर व्यवस्थापन र ढल प्रशोधन केन्द्रजस्ता पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले यो गुरुयोजना चाँडै तयार गरी कार्यान्वयनमा ल्याइने बताउनुभयो ।
“काठमाडौँ उपत्यकालाई सुन्दर र व्यवस्थित सहर बनाउन ५० वर्षे प्रक्षेपणसहितको गुरुयोजना बनाएर काम अघि बढाउँछौँ,” उहाँले भन्नुभयो, “ढल निर्माण, प्रशोधन केन्द्र, फोहोर व्यवस्थापन, विद्युत् वितरण, खानेपानी र सडक विस्तारका योजना एकीकृत रूपमा सञ्चालन गर्छौँ ।”
कार्यक्रममै पूर्वमुख्य सचिव लीलामणि पौड्यालले सहरीकरणका अन्य पूर्वाधारभन्दा ढल निर्माण र प्रशोधनमा प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । उहाँले योजनाबद्ध ढल व्यवस्थापन नहुँदासम्म काठमाडौँको सहरीकरण सफल नहुने बताउनुभयो ।











तपाईको प्रतिक्रिया