तोमनाथ उप्रेती
अगादिरको गल्लीमा धुवाँको बास्ना छ,
रगत र बिद्रोहको गन्ध मिसिएको हावामा—
टिकटकका फ्रेमहरूमा उठेका चिच्याहटहरू,
इन्स्टाग्रामका रगतिला स्टोरीहरू,
र डिस्कोर्डमा भिजेको युवाको आत्मा—
सबै एक स्वरमा भन्दैछन्,
“हामी मौन होइनौं, हामी मोरक्कोका आवाज हौं।”
ल्क्लियाको रात च्यातिएको छ,
गोलीको गर्जनले ताराहरूको स्वर हराएको छ।
दुई आत्माहरू ढले
तर उनीहरूको नाम
युगको पत्थरमा कोरियो—
“सुधार” र “स्वाभिमान।”
जेन—जी तिमीहरू समयको नाडी हौ,
वेदनाको विद्रोह, आँधीको आवाज।
शिक्षा र स्वास्थ्यको मरेको सपना
तिमीहरूको रगतले पुनर्जीवित हुँदैछ,
र तिमीहरूको आँसुमा नुहाएको मोरक्को
अब निद्राबाट बिउँझिँदैछ।
अहँ, यो विद्रोह त केवल सडकमा होइन—
यो हरेक टुटेको नोटबुकमा,
हरेक अस्पतालको निस्वार्थ नर्समा,
र हरेक बालकको पेटमा गडेको भूखमा बिउँदिन्छ।
पुलिसका गोलीहरूले माटो फोडे पनि,
विचारका बीउहरू झन् गहिरो गाडिँदैछन्।
ओज्दा, इनेजगाने, तिज्नित
तिमीहरूका गल्लीहरू इतिहासका नयाँ अक्षर हुन्।
जलेका गाडीहरू
त्यो त केवल प्रतीक हुन्
साम्राज्यका जलेका विवेकका।
र पक्राउ परेकाहरू
सिङ्गो राष्ट्रका मौन जनताको प्रतिनिधि हुन्।
अजिज अखन्नोउचको राजमहलमा
आवाजको कम्पन पुगेको छ,
जहाँ सुनिन्थ्यो केवल आदेश,
अब सुन्न सकिन्छ
सडकबाट उठेको चेतना।
क्रान्ति केवल आगो होइन,
क्रान्ति त त्यो ज्वाला हो
जो शिक्षाको पाना र स्वास्थ्यको सुईमा
नयाँ जीवन भर्न खोज्दैछ।
यो आन्दोलन युवाको होइन,
मानवताको पुनर्जागरण हो।
जब तिमीहरूले “सुधार!” भन्दै हात उठायौ,
त्यो आकाशले देख्यो
तिमीहरूको मुटुमा कुनै द्वेष थिएन,
केवल सपना थियो
समानता, न्याय र सम्भावनाको।
र जब यो धूलो थामिन्छ,
इतिहास लेखिनेछ—
“अगादिरको बालुवामा फुटेका चिङ्गारीहरूले
मोरक्कोको भोलि उज्यालो बनाउने छन्।”











तपाईको प्रतिक्रिया