वानेश्वर रक्तपात, इतिहासकै कालो दिन

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

रिसव गौतम
काठमाण्डौ सहित देशका विभिन्न शहरहरुमा आज सोमबार नयाँ पुस्ता अर्थात सामाजिक सञ्जालको उदयसँगै हुर्किएका जेन-जी पुस्ताले गरेको आन्दोलन एउटा भंकर दुखद घट्नामा परिणत भएको छ । पहिला त यो दुखद घडीमा दिवंगत सम्पुर्ण युवाहरुप्रति हार्दिक श्रद्धान्जली र घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना छ । खासगरी २४ बर्ष मुनीका जेनजी पुस्ताले केहीदिन अघिबाट सरकारले फेसबुक सहित २६ वटा समाजिक सञ्जाल पेल्टर्फम बन्द गरेको सहित भष्ट्राचार, अब्यवस्था र वेरोजगारी बिरुद्ध आजबाट आन्दोलनमा उत्रिएका थिए । तर अपसोच, आन्दोलन ज्यादै अप्रिय, दुखदायी र नेपाली इतिहासमै कहिल्यै नमेटिने बर्बर हिम्सात्मक एवं हृदयविदारक घट्नाको रुपमा दर्ज भएको छ । यस लेख तयार पर्दासम्म शान्तिपुर्ण आन्दोलनका क्रममा प्रहरीले गोली चलाएपछि भड्किएको बर्बर हिंसात्मक घटनामा २० जनाले ज्यान गुमाइसकेका छन् । २ सय बढी घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।


कलिलो नयाँ पुस्ता, जो हातमा कलम र झोलामा किताब लिएर आफ्नो गुमेको वाक स्वतन्त्रता फर्काउन मैदानमा उत्रिएका थिए । सुरुमा आन्दोलन शान्तिपुर्ण नै थियो । पक्कै पनि केही न केही र कतै न कतै आन्दोलनमा विभिन्न स्वार्थ समुहको घुसपैठ थियो नै होला । तर प्रहरीले संयमता गुमाएर बल प्रयोग बढाएपछि झण्डै २ दर्जन होनाहार युवाहरुले अनाहाक ज्यान गुमाएका छन् । । यो लेखिरहँदा आन्दोलनमा आएका ती कलिला युवाहरुको अनुहार झल्झल्ती याद आइरहेको छ । किनकी, म आफै पनि आन्दोलनको अवस्था अवलोकन गर्न वानेश्वर गएको थिएँ । धेरै स्कुल, कलेजबाटै सडकमा आन्दोलन गर्न आएका युवाहरुको बाहुल्यता त्यहाँ थियो । आन्दोलनमा उनीहरुको कलिलो अनुहार हेरेको मैले यो लेखिरहँदा हात थररर कापिरहेको छ । विचरा ती निर्दोश, ती राज्यबाट केही लाभ नपाएका, बेरोजगारको उपमा बाहेक केही नपाएका, अवसरका लागि विदेशीन बाहेकका विकल्प नभएका विद्यार्थी युवा-युवतीहरुमाथी गोलिको बर्षा इतिहाँसमै नमेटिने कलंकित घट्ना हो । यस घट्नाको जिम्मेवारी देशको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपि ओलीले लिने कि नलिने ? नैतिकताको आधारमा राजीनामा दिएर जेनजी समक्ष माफी माग्ने कि नमाग्ने? गृहमन्त्रीले राजिनामा दिने कि नदिने ? ति कलिला, सुदुर भविष्य निर्माणको चरणमा कलेज धाइरहेका, ती कोमल हृदय र निरश युवाहरुको छातीमा दागिएका गोलीको हिसाव–किताब सायद त्यसका मतियारहरुको ‘यमलोक’मा पनि हुनसक्दैन । आजको २१ औं शताब्दीको पनि एआई युगमा मान्छेमाथी मान्छेले गरेको, विधार्थीहरुमाथी भएको यो रुपको बर्बर हिंस्सा सारा संसारको लागि दुखदायी हो । यो संसारकै लागि दुखद घट्ना किन पनि हो भने आधुनिक मान्छेको लेख्ने, बोल्ने र रमाउने स्वतन्त्रता खोसिदाँ भएको बर्बर हिंसा हो ।

२१ औं शाताब्दीको आधुनिक मान्छेले पनि बोल्न, लेख्न र रमाउन पाउने सामाजिक प्लेटफर्म खोसिनु र त्यो स्वतन्त्रता चाहियो भन्दा यो रुपमा हिंसा विश्व मानव अधिकारको क्षेत्रमा इतिहासकै दुखद घट्ना हो । सरकारले, अथवा सरकारबादी दलहरुले भन्नका लागि भन्लान् युवाहरुले आन्दोलन उग्र बनाएपछि गोली चलाइयो । बल प्रयोग गरियो । तर त्यो कुनै कौडीको तर्क होइन । आन्दोलनरत पक्ष जहिल्यै पनि असन्तुष्टीहरु बढेपछि आन्दोलन गर्ने हुन् । आक्रोशहरु बढेपछि आन्दोलन गर्ने हुन् । त्यस्ता आन्दोलनहरुलाई शान्तिमा परिणत गर्नु, मागहरु सम्बोधन गर्नु कुनैपनि सरकारको अभिभावकीय दायित्व हो । तर यहाँ त लेख्न डराउनुपर्ने, बोल्न डराउनुपर्ने अवस्था सिर्जना भएको छ । अरुको अधिकार र अस्तित्वलाई बाधा नपुग्ने गरि लेख्न, बोल्न र रमाइलो गर्न पाउने स्वतन्त्रता उन्नत लोकतन्त्रमा हुन्छ । हामीले त्यत्रो आन्दोलन, जनआन्दोलन, युद्धको पृष्ठभुमीमा संघीय लोकतान्त्रिक नयाँ ब्यवस्था ल्याएका हौं । यो ब्यवस्था र नयाँ संविधानले शान्तिपुर्ण आन्दोलन गर्न पाउने, बोल्न पाउने, लेख्न पाउने अधिकार हरेक नेपालीलाई दिएको छ । फेरी लोकतन्त्रमा कोही पनि न सानो हुन्छ, न ठुलो हुन्छ । लोकतन्त्रको आधारभुत सिद्धान्त नै सबै बराबर हुन् । सबै समान हुन् । यही लोकतान्त्रिक गणतन्त्र ल्याएको १९ दिने ०६२–६३ को जनआन्दोलनमा, घनघोर सामन्ती भनिएको राजतन्त्रमा पनि आज घटेको वानेश्वर हिंसा भन्दा कम मान्छेको ज्यान गएका थिए । जसले त्यत्रो शासनशक्ता ढालेर नयाँ व्यवस्था ल्यायो । आजको जेनजी पुस्ताले जाबो एउटा वाक स्वतन्त्रता पक्षमा, समामाजिक सञ्जालको निर्वाध प्रयोगको संविधानप्रद्धत्त अधिकार खोज्दा राज्य संयन्त्रबाट जुन तहको बर्बर हिंसा भएको छ । युवाहरु मारिएका छन् ।
त्यो घोर अमानवीय, कलंकीत र जनता प्रतिको सरकारी धोका हो । राज्यको कर खाएर जनतामाथी नै घोर अन्याय हो । यसको जति नै भत्सना गरेपनि अपुग नै हुन्छ ।
जो कसैका पनि कलिला बालबालिका, छोराछोरीले अनाहाक अभिभावकीय पोजिसनमा रहेको राज्यबाटै गोली खानु पर्दाको पारिवारीक दुख र बेदना कति मार्मिक होला ? कति पिडादायी होला ? ती निर्दोश युवाहरुको रगतको हिसाव किताब हुन्छ कि हुदैन ?


उमेर नपुगेका, उरेन्ठेउला र पढ्दै गरेका कलिला युवाहरुले गरेको आन्दोलन अलिकति उग्र हुने कुरा पहिल्यै आन्दाज भएको कुरा हो । त्यस्तो होस्–हवास नभएको, अपरिपक्क, आलोकाँचो र निराश युवाहरुलाई सम्झाउने, उनीहरुको मागमा लचक हुने र पानीसानी छ्यापेर आन्दोलन मथ्थर पार्ने विकल्प सरकारसँग थियो । तर अभिभावकीय पोजिसनमा रहेर पनि सरकारले झन् बढी होस् गुमाएको छ र आजको दर्दनाक घट्ना घटेको छ । त्यसकारण आज अर्थात भदौ २३ गते नेपाली इतिहासकै कालो दिन हो ।
यो घट्ना नेपाली इतिहास मात्र होइन् विश्व इतिहासमै एउटा गम्भिर र अमानवीय घट्ना हो । प्रधानमन्त्री नैतिकताको आधारमा तत्काल राजीनामा दिउन् र नयाँ विकल्पमा देश जाओस् ।

प्रकासित मिति २०८२-५-२३

तपाईको प्रतिक्रिया