मोरिसभिल, नर्थ क्यारोलाइना २३ जेठ २०८२।
पूर्व शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोख्रेल तथा स्थानीय नेपाली समुदायबिच शिक्षा विषयमा केन्द्रित रहेर हालै एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा नेपालमा रहँदा शिक्षण पेसामा आबद्ध भइसकेका र एक दशकभन्दा लामो समय अमेरिकामा रहेर शिक्षण पद्धतिलाई नजिकबाट नियालेका नेपाली विद्वत वर्गले नेपाल र अमेरिकाबिच शिक्षण विधिमा भएका भिन्नता र एकरूपताका बारेमा आ- आफ्ना विचार प्रस्तुत गरेका थिए।
सो अवसरमा नेपालको पाठ्यक्रम तथा शिक्षणमा गर्न सकिने परिवर्तन र सुधारका बारेमा पनि छलफल भएको थियो ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) का संस्थापक अध्यक्ष ईश्वर देवकोटाले खादाले स्वागत गर्दै नेपालका विद्यालयमा पनि यहाँ जस्तै विद्यार्थीले क्षमता र रुचिअनुसार कलेजका केही कोर्स विद्यालयमै अध्ययन गर्न पाउने अवसर प्रदान गर्ने नीति भइदिँदा उत्तम हुने धारणा राख्नुभयो ।
एनसिएनसीका वर्तमान अध्यक्ष डा. विकास शाक्यले अमेरिकी शिक्षणमा जस्तै नेपालमा अनुसन्धानलाई अझ बढी समावेश गर्न सके उचित हुने बताउनुभयो ।
यसै संस्थाकी पूर्व अध्यक्ष डा. सुष्मा प्रधानले बालबच्चाको शिक्षणमा विद्यालयले अभिभावकलाई समेत समेटेर लग्नुपर्ने कुरामा जोड दिनुभयो ।
योगमाया विश्वविद्यालय परिषद् सदस्य तथा साहित्यकार डा. नीलम कार्की निहारिकाले कोर्षका किताबबाहेक अतिरिक्त पुस्तक पढ्ने वातावारण सिर्जना गर्न र त्यसका लागि उमेर र तह अनुसारका पुस्तक प्रकाशन र पुस्तकालय व्यवस्थापनमा जोड दिनुभयो। अहिले केही सामुदायिक विद्यालयले अनुकरणीय कार्य गरेका हुँदा त्यस्ता विद्यालयलाई नमूनाको रूपमा प्रस्तुत गर्दै शिक्षकलाई बेलाबेला तालिमका साथै निश्चित वर्षपछि लाइसेन्स नवीकरणको अवधारणा प्रभावकारी हुने उहाँको धारणा थियो ।
डा. श्रीकान्त अधिकारीले यहाँ लिएको सिप र ज्ञानलाई स्वदेशले उपयोग गर्ने अवसर दिने नीति अबलम्बन गर्नसके राष्ट्र लाभान्वित हुने बताउनुभयो ।
यसै गरी पाठ्यक्रम निर्माणमा अनुभवी विनोद ढकालले अनिवार्य र सर्वसुलभ विद्यालय शिक्षामा जीवनोपयोगी विषय पाठ्यक्रममा समावेश गरी बालबालिकाहरूलाई सानैदेखि व्यक्तित्व विकास, डिजिटल साक्षरता, खुसी भएर जिउने कला जस्तालाई विषयवस्तु समावेश गर्ने कुरामा पाठ्यक्रम निर्माण गर्ने निकायको ध्यान जानु जरुरी भएको धारणा राख्नुभयो ।
नर्थ क्यारोलाइनी नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले सानै उमेरदेखि ‘हेल्थ फुल लिभिङ’सम्बन्धी नैतिक शिक्षा दिन सके एक सज्जन राष्ट्र सेवक तयार गर्न सकिने र नेपालमा भैरहेका विभिन्न तहका विद्यार्थीहरूलाई सामावेशिक नियमावली तय गरी सोही स्तरबाटै समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष मनोज प्रधानले स्कुल जोनिङ छुट्याएर सम्बन्धित क्षेत्रभित्रका विद्यालयमा त्यै क्षेत्रका बालबालिका समेट्न सके बाटोमा ट्राफिक व्यवस्थापन लगायत ठाउँ, समय र स्थानीय स्रोतसाधनको सही उपयोग हुने कुरामा जोड दिनुभयो ।
आरम्भ नेपाली पुस्तकालयकी संस्थापक मेघा फ्लिक्सले पठनपाठनका साथै बालबालिकाको मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी भएको बताउनुभयो । अद्यापि विद्यार्थीलाई शारीरिक सजाय दिने घटना सुनिएकामा त्यसतर्फ ध्यान आकर्षित गराउँदै त्यस्ता क्रियाकलापलाई निरुत्साहित पार्ने नीति लिनु पर्ने उहाँको सुझाव थियो ।
डा.ऋषि बस्ताकोटीले ठाउँ र तहअनुसारको सुहाउँदो प्रयोगात्मक विधिमा ध्यान दिन जरुरी भएको बताउनुभयो ।
साहित्यकार शिशिर खनालले प्रविधिलाई आधार बनाएर सानै कक्षादेखि सामुदायिक विद्यालय स्तरमै सुरुवात गर्न सके एक्काइसौँ शताब्दी सुहाउँदो शिक्षा हासिल गर्न गराउन सकिने धारणा राख्नुभयो ।
कल्पना घिमिरेले नेपालमा वन विज्ञानमा विद्यार्थीलाई फिल्ड भिजिट, प्रयोगात्म कक्षाहरू गराइने भएता पनि त्यो प्रयाप्त नभएको अनुभव भएको त्यसलाई बढाउन सके उत्तम हुने कुरा बताउनु भयो ।
स्थानीय व्यवसायी तथा समाजसेवी रवीन्द्र कार्कीले यहाँजस्तै स्थानीय धुरीकरको केही प्रतिशत सामुदायिक स्कुललाई अनुदान सरह उपलब्ध गराउन सके शिक्षामा समाज स्वयम् सहभागी हुने र स्थानीय निकायबाटै शिक्षाको आर्थिक अवस्थामा थप टेवा पुग्ने धारणा राख्नुभयो ।
प्रभा पोखरेलले घोकाउनेभन्दा सिकाउने खाल्को पाठ्यक्रम तय हुनु पर्नेमा जोड दिँदै प्रयोगात्मक पठनपाठनको आवश्यकता औलाउनुभयो ।
चिकित्सक तथा लामो समय मेडिकल शिक्षणमा आबद्ध डा.भाष्कर कुँवर छेत्रीले नेपालको मेडिकल शिक्षण अति उच्चकोटीको भएको अनुभव सुनाउँदै अबको पाठ्यक्रममा वैकल्पिक चिकित्सालाई पनि जोडेर लैजानुपर्ने धारणा राख्नुभयो ।
सबैको धारणालई ध्यानपूर्वक सुनेपछि भूपू मन्त्री गिरिराजमणि पोख्रेलले आर्थिक समृद्धि नभई शिक्षामा सुधार गर्न नसकिने, आर्थिक विकासका लागि प्रवासमा बस्नुहुने प्रबुद्ध वर्गलाई पनि जोडिनुपर्ने धारणा राख्नुभयो । अबको शिक्षालाई बढी प्रयाोगात्मक बनाउन, सूचनाप्रविधि र नीति निर्माणमा जोड दिँदै सामुदायिक विद्यालयलाई गुणात्मक बनाउन सरकारले चासो दिई त्यै अनुसारको नीतिनिर्माण तर्जुमा गर्नेतर्फ सबै लागिपरेको उहाँले सङ्केत गर्नुभयो ।
सम्बन्धित विषयमा निपूर्ण अनुभवीहरूलाई समेटेर शिक्षा नीति र पाठ्यक्रम तय गरी अगाडि नबढी उपायै छैन भन्दै उहाँले प्रवासमा रहनेहरूलाई कुनै न कुनै माध्यमबाट आफ्नो माटोमा जोडिनका लागि अनुरोध समेत गर्नुभयो।
पछिल्लो समय केही नयाँ विश्वविधालयहरू खुलेका र तिनले विदेशी विधार्थीलाई समेत आकर्षण गर्ने सक्ने, नेपालको प्रकृति र श्रोतअनुसार अध्ययन अनुसन्धान हुने पनि पूर्वमन्त्री पोख्रेलले जानकारी दिनुभयो ।
अन्त्यमा, उहाँले सहभागीहरूले राखेका प्रश्नको जवाफ दिँदै योगमाया विश्वविद्यालयको अवधारणा र मुख्य विषय आयुर्वेद, योग ,ध्यान तथा वैकल्पिक चिकित्सा रहेका बारे पनि प्रस्ट पार्नुभएको थियो।












तपाईको प्रतिक्रिया