बूढीगण्डकी प्रभावित करिव ८० रोपनी जग्गाको मुआब्जा निर्धारण

बिजनेस पोष्ट

गोरखा  २ बैशाख २०८२।

बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा पाउने भएका छन् । प्रभावितका लागि स्थान र जग्गाको क्षेत्रफलका आधारमा मुआब्जा निर्धारण गरिएको हो । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवद्र्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।
बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयले जग्गाको मुआब्जा पाउने भनिए पनि घरको भने मूल्याङ्कन गरिएको छैन । साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना रु तीन लाख कायम गरिएको छ । “चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना रु चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना रु एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ ।” उहाँका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ ।
पाठकका अनुसार घरको मुआब्जा निर्धारण भने गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा हुनेछ । यस आयोजनाबाट २६ घरधुरी विस्थापित हुने देखिएको छ ।
यहाँबाट विस्थापित हुनेहरुलाई कहाँ लगेर पुनःस्थापित गर्ने भन्ने विषयमा छलफल भइरहेको चुनमुब्री गाउँपालिकाका अध्यक्षले दिनुभयो । “डुबानका कारण विस्थापित हुनेहरु कसैलाई फिलिममा, कसैलाई जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ तर निर्णय भने भइसकेको छैन”, लामाले भन्नुभयो ।
मुआब्या निर्धारण भेलामा गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं २ का अध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दालगायतको बाक्लो उपस्थिति थियो ।
साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्ने छ भने त्यहाँबाट ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ । उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । कुल ७० अर्ब लागतमा निर्माणाधिन उक्त परियोजना ३४१ मेगावाट क्षमताको निजी क्षेत्रबाट सञ्चालन सबैभन्दा ठूलो परियोजना हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया