छठपछि खुल्ने शेयर बजार के होला ?

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

रिसव गौतम

नेपालीहरूको दोस्रो महान पर्व तिहार र नेपाल संवत् सकिइसकेको छ । अहिले छठ पर्व नेपालीहरूले मनाइरहेका छन्, खासगरी तराई क्षेत्रमा । केही दिनमा छठ पर्वको बिदा पनि सकिनेछ र सबै आफ्नो-आफ्नो काममा फर्किनेछन् । यो लामो बिदामा शेयर बजार बन्द छ । तिहारअघि बजार बन्द हुँदा १६ अंकले बजार बढेर बन्द भएको थियो ।

खासगरी दसैँ र तिहारबीच केही दिन बजार खुले पनि सबै मान्छेहरूलाई चाडपर्वको रौनक थियो । बजारप्रति चासो नभएपछि त्यसबीच उल्लेख्य कारोबार भएन । बजार पनि जुन रूपमा बढ्नुपर्ने आँकलन थियो, बढेन, किनकि लगानीकर्ताहरू चाडपर्वमा शेयर किन्नेभन्दा घुमघाम गर्ने, मिठो मसिनो खाने र रमाइलो गर्नका लागि खर्च गर्ने मनस्थितिमा थिए ।

अब भने चाडपर्व सकिँदै गर्दा बजारले कस्तो लय समात्ला भन्ने धेरैको चासो देखिन्छ । किनकि नयाँ आर्थिक वर्ष सुरु भएपछि कम्पनीहरूले अहिले धमाधम आफ्नो नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरिरहेका छन् । अघिल्ला वर्षहरूमा कोरोना महामारी र मन्दीका कारण लाभांश दिन नसकेका कम्पनीहरूले यस वर्ष धेरै-थोरै जे सकिन्छ लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म विभिन्न बैंकहरू सहित ११० भन्दा बढी कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ।

त्यसमध्ये २५ वटा कम्पनी नेप्सेमा सूचीकृत पनि छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूले गर्ने लाभांश घोषणाले शेयरको दोस्रो बजार कारोबारमा प्रभाव पार्ने नै हुन्छ । त्यस बाहेक हालैको जेन-जी आन्दोलनपछि बनेको सरकारले शेयर लगानीकर्ताका धेरै मागहरू पुरा गरिसकेको छ । अर्थमन्त्री रामेश्वर खनाल नै शेयर बजारप्रति संवेदनशील देखिए । फलस्वरूप अहिले शेयर बजारका नीतिगत बाधा, अड्चन हटेका छन् ।

शेयर बजारका बाधा अड्चन फुकाउन नयाँ गभर्नर डा. विश्व पौडेलले शपथ लिएदेखि नै अग्रसरता लिएका हुन् । यद्यपि यसअघिका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो आखिरी वर्षको मौद्रिक नीतिहरूमा केही खुकुलो बनाउन सुरु गरेरै बिदा भएका हुन् । तर, उनै अधिकारी गभर्नर हुँदा शेयर बजारमा विभिन्न नीतिगत अङ्कुश लगाइए । त्यसको भित्री कारण वा रहस्य के थियो, उनै जानून् । तर त्यसरी अर्थतन्त्रको बाह्य प्रभाव न्यूनीकरण गर्न शेयर बजारमाथि अधिक नियन्त्रण गर्नुपर्ने कारण सायद थिएन ।

तर नयाँ गभर्नर पौडेलले भने शेयर बजारलाई बिना रोकतोक, बिना अल्झन-उल्झन अघि बढ्न बाटो खोलिदिएका छन् । त्यसमा अर्थमन्त्री खनालको पनि भूमिका रह्यो । फलस्वरूप उनीहरू शेयर लगानीकर्ताहरूको धन्यवादको पात्र भएका छन् । नीतिगत बन्देजहरू फुकुवा भएसँगै शेयर लगानीकर्ताहरूको सरकारसँगको गुनासो मथ्थर भएको छ ।

उनीहरूले राखेका डेढ दर्जन बढी मागहरूमध्ये धेरै त पुरा भएका छन् । मूलतः शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, बजारको दायरा विस्तार गर्ने र नेप्सेको पुनर्संरचना गर्ने लगायतका कुराहरूलाई सम्बोधन गरेर अघि बढ्ने कुराहरू छन् । पुँजी बजारको क्षेत्रलाई विकसित र भव्य बनाउँदै लैजाने कुरा भविष्यका हुन् । जसमा आम लगानीकर्ताहरूको पनि, नयाँ आउने सरकारको पनि र व्यावसायिक जगतको पनि उत्तिकै भूमिका हुनसक्छ ।

जेन-जी आन्दोलनपछि बनेको नयाँ नागरिक सरकारले पुँजीबजार सुधार सुझाव कार्यदल बनाएको थियो । अर्थक्षेत्रका विज्ञ अर्थमन्त्री रामेश्वर खनालले बनाएको कार्यदलले दिएको सुझावअनुसार नै राष्ट्र बैंकले बैंकहरूलाई अहिले नयाँ निर्देशन जारी गरेको हो । बैंकहरूले व्यक्तिलाई दिने शेयर धितो कर्जाको २५ करोडको सीमा हटाइएको छ ।

कार्यदलले गरेको सुझावअनुसार राष्ट्र बैंकले त्यस सीमा हटाएको हो । त्यसैगरी बैंकहरूलाई सेयर बिक्रीमा पनि राष्ट्र बैंकले सहजीकरण गरेको छ । बैंकहरूले सेयर खरिद गरेको एक वर्ष पुगेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानीमा बिक्री गर्नसक्ने व्यवस्था समेत हटाएको छ । जुन पुँजी बजार सुधार सुझाव कार्यदलकै सुझावअनुसार हटाइएको हो । अब ६ महिनाभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने छन् । यसरी अहिले राष्ट्र बैंकले अघिल्लो गभर्नरको पालाका तमाम खालका नीतिगत बन्देज र कडाइ हटाइसकेको छ । शेयर बजारलाई बाटो खुल्ला गरिएको छ ।

खुला नीति बजारको अग्रगामी बाटो

नेपालले वि.सं. २०४८/०४९ सालबाटै खुला बजार अर्थनीति (उदारीकरण) लाई अङ्गीकार गरे पनि धेरै कुराहरू अहिले पनि त्यस्तै छैनन् । खुला प्रतिस्पर्धा, प्रभावकारी व्यावसायिक वातावरण, शान्ति सुरक्षा र सबल आर्थिक नीतिहरू कुनै पनि देशको विकासको खातिर महत्त्वपूर्ण सर्त हुन् ।

हाम्रै छिमेकी चीनले माओत्सेतुङको नेतृत्वमा सांस्कृतिक क्रान्ति गरे पनि उनको नेतृत्वमा आर्थिक विकास भने हुन सकेन । सन् १९७८ पछि चीनमा देङ स्याओ पिङले क्रमशः खुला बजार अर्थनीति लिएपछि चीनमा आर्थिक विकासको प्रारम्भ भएको हो । सन् २००० मा आइसकेपछि चीनले विश्व व्यापार संगठनको सदस्यता लियो र बजारलाई थप खुला र लचिलो बनायो । फलस्वरूप आजको चीन विश्वमै दोस्रो ठुलो अर्थतन्त्र भैसकेको छ ।

आज कुनै बेलाको घनघोर कम्युनिष्ट देश चीन पश्चिमा उदार प्रजातन्त्र भएका, नवउदारवादी देशहरूको समेत लगानीको सबैभन्दा रोजाइको देश बनिरहेको छ । चीनले विगत ४ दशकमा सारा जनसंख्यालाई गरिबीबाट मुक्त गरेको छ । देशलाई अमेरिका पछिको सबैभन्दा धनी अर्थात् १९ ट्रिलियन डलरको जीडीपी बनाएको छ ।

सन् २०२५ मा आइपुग्दा चीनको शेयर बजारमा मार्केट क्यापिटलाइजेसन ११ ट्रिलियन डलरभन्दा बढी छ । यो सब खुला बजार अर्थतन्त्र र बन्देजरहित प्रतिस्पर्धी नीतिको परिणाम हो । चिनियाँहरूले आफूले अङ्गीकार गरेको आर्थिक नीतिलाई चिनियाँ मोडलको समाजवाद भने पनि उनीहरूले देश विकास गर्ने हतियार पुँजीवाद अर्थात् खुला बजार नै बनाएका छन् । फलस्वरूप विश्व बजारमा आफ्नो उत्पादन बेच्न, व्यवसाय र लगानी बढाउन पुँजीवादका सबै उपकरणहरूसँग उनी जोडिएका छन् । फलतः अहिले पूरै विश्वमा चीनको मालवस्तुको हिस्सा १३ प्रतिशतभन्दा ज्यादा एक्लैको छ भनिन्छ ।

तर नेपालमा चीनकै कुनै बेलाका सर्वोच्च नेता माओको विचारधारा अँगालेर जनयुद्ध समेत भयो । त्यसपछि माओकै विचारधारालाई अँगालेको नेकपा माओवादीले पनि २०६५ सालमा छोटो अवधि बहुमतको सरकार चलाएको हो । त्यसयता पनि माओवादी बारम्बार गठबन्धन सरकारमा रहेको छ । तर, उसले पनि चीन र त्यस देशले अँगालेको आर्थिक नीति र कुटनीतिबाट शिक्षा लिने प्रयास गरेन ।

देशका काँग्रेस, एमाले र माओवादी जस्ता ठुला पार्टी आपसी रूपमा जुध्दा, एकले अर्कालाई एक्ल्याउने, सिध्याउने तथा खुद्रे मसिना कुराहरूमा मात्र अल्झने गर्दाको परिणाम देशले द्रुत विकासको गति नै समाउन सकेको छैन । नेताहरूको पुरानै शैली, व्याप्त भ्रष्टाचार, झै-झगडा आदिले गर्दा देशमा केही गर्ने वातावरण बनेन । न वैदेशिक लगानी भित्रियो, न त स्वदेशी लगानीकर्ताहरूको मनोबल उठ्यो । त्यो नभएपछि उद्योग, कलकारखाना भएनन् । बरु भएका पनि नासिए । फलस्वरूप भएभरका युवाहरू विदेशिए ।

स्वदेशमा भएकाहरू पनि भ्रष्ट राजनीतिबाट आजित भएपछि अहिले आन्दोलन र विद्रोह गर्ने मोडमा पुगे । देश बनेन । देशमा शून्यता छायो । यस्तैमा अहिले जेन-जी आन्दोलनले पुराना भ्रष्ट नेता तथा दलहरूलाई पाखा लगाएपछि अन्तरिम सरकार बनेको छ । नयाँ अर्थमन्त्रीले पुँजीबजार सुधार कार्यदल बनाएर सुझाव प्रतिवेदन मागेका थिए । कार्यदलले शेयर बजारको बाधा बन्देज फुकाउनुपर्ने खालको प्रतिवेदन बुझायो । फलस्वरूप बजारले खुला हुने अवसर पाएको छ । बाधा, बन्देज हटेका छन् । भोलिका दिनहरूमा अझै बढी सुधार हुने बाटो खुलेको छ ।

वास्तवमा शेयर बजार अर्थतन्त्रको ऐना नै हो । हरेक देशमा त्यहाँको आर्थिक अवस्था, लगानीको अवस्था, व्यावसायिक अवस्थाको मूल्याङ्कन गर्ने पहिलो आधार शेयर बजारको दृश्य हो । शेयर बजार उकालो लागेको वा कारोबारको स्तर बढिरहेको बजारले लगानीकर्ताहरूलाई जहिल्यै स्वागत गरिरहेको हुन्छ ।

त्यसैगरी शेयर बजारमा जाने पहिरोले निराशा र लगानी निरुत्साहित बाहेक केही गर्दैन । त्यसकारण नेपालको शेयर बजारलाई आशाप्रद बनाउन सरकारले मेहनत गर्नुपर्ने छ । किनकि हाम्रो शेयर बजार हेरेर विदेशी लगानीहरू आउन सक्छन् । हाम्रो आर्थिक अवस्थाको मूल्याङ्कन हुनसक्छ । जसकारण विदेशीले हामीलाई ऋण पत्याउन सक्छन् ।

स्वदेशमै पनि शेयर बजार राम्रो अवस्था हुँदा व्यावसायिक क्षेत्रमा उत्साह थपिन सक्छ । नयाँ उद्यमहरू सञ्चालन गर्न खोज्नेहरूको मनोबल बढ्न सक्छ । बजारमा कारोबार बढ्दा लगानीकर्ताहरूको आफ्नो अतिरिक्त आम्दानीको उत्साहमा खरिद क्षमता बढ्छ । जसकारण उपभोक्ता वस्तुहरूले बजार पाउँछन् । अर्थतन्त्र गतिशील हुन्छ । त्यसकारण शेयर बजार उठाउन जरुरी छ ।

अन्त्यमा,

नीतिगत हिसाबले अब शेयर बजारका समस्याहरू हटेका छन् । नेपालीहरूले अधिक खर्च गर्ने महत्त्वपूर्ण चाडबाडहरू दसैँ, तिहार, नेपाल संवत् र छठ सकिँदै छ । अब केही दिनपछि खुल्ने बजारले पक्कै पनि राष्ट्र बैंकको नयाँ नीति निर्देशन, लाभांश घोषणामा कम्पनीहरूले देखाएका शुभ संकेत, सडक आन्दोलनहरू मथ्थर हुँदै जानु र चुनावी वातावरणमा देश अघि बढ्नुले बजारले सकारात्मक लय समात्ने निश्चित छ ।

फेरि राजनीतिक अस्थिरता छ, के बढ्ला र बजार ? भनेर सोच्नेहरू पनि होलान् । तर, बुझ्नु पर्छ, राजनीतिको चरित्र नै अस्थिर हुन्छ । त्यो विश्वव्यापी नै हो । जस्तो एसियाकै जापान, थाइल्यान्ड लगायतका देशमा छिटो-छिटो सरकार परिवर्तन हुँदा पनि त्यहाँको आर्थिक वृद्धि र विकासमा कुनै असर परेको देखिँदैन । नेपालमा पनि अब त्यही नियम लागू हुन्छ । यहाँ पनि विस्तारै चुनाव होला । तोकिएकै समयमा नभए केही समयपछि होला ।

हिजो जे भयो, राम्रोको लागि भयो । भ्रष्टाचारको जरा उखेल्नका लागि भयो । प्रजातन्त्रमा पनि उदाएको निरङ्कुश शासक फाल्नका लागि आन्दोलन भए । त्यसकारण त्यो राम्रोको लागि भयो । अब ‘अच्छा दिन आने वाला है’ । हामीले त्यसरी सोच्नुपर्छ । अबको युग भनेको प्रविधि र पारदर्शिताको हो ।

यो युगमा कसैको सामन्तवाद, दासत्व, भ्रष्टाचार, बेइमानी नयाँ पुस्ताले स्वीकार गर्दैन । त्यसकारण आन्दोलन भयो । यसले खासगरी शेयर बजारलाई राम्रो गर्नेछ । किनकि पारदर्शिताको सुरुवात र भ्रष्टाचारको अन्त्य हुँदा नै नेपालको अर्थतन्त्र सही लयमा जानेछ । विदेशी लगानी भित्रनेछ । देशले नै सकारात्मक लय समात्नेछ । बजारले आगामी दिनहरूमा एउटा स्वरूप ग्रहण गर्नेछ ।

तपाईको प्रतिक्रिया