चालु आ.वको पहिलो महिनामा घरजग्गा कारोबारमा उल्लेख्य गिरावट

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाण्डौ ६ भदौ २०८२

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा घरजग्गा कारोबारमा उल्लेख्य गिरावट आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा जम्मा ३१,६२१ वटा लिखत पास भएका छन्। यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२,२१४ वटाले कम हो, जसले कारोबारमा २७.८६ प्रतिशतको गिरावट भएको देखाउँछ।

कारोबारमा आएको यो गिरावटले राजस्व संकलनमा प्रत्यक्ष असर पारेको विभागले जनाएको छ। चालु वर्षको साउन महिनामा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जबकि अघिल्लो वर्षको साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ उठेको थियो। यो आधारमा राजस्व १४ प्रतिशतले घटेको छ।

विभागका अनुसार असार महिनामा ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो। तर, साउन महिनामा यो रकम करिब आधा घटेर ३ अर्ब २८ करोडमा सीमित भएको छ। यो गिरावटले घरजग्गा बजारमा देखिएको सुस्तताको स्पष्ट संकेत गरेको छ।

तपाईको प्रतिक्रिया