काठमाडौं ३१ श्रावण २०८२
हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको नाफा गत वर्षको तुलनामा १३.७१ प्रतिशतले घटेको छ, तर जीवन बीमा कोष र बीमाशुल्क आर्जनमा भने उल्लेख्य वृद्धि भएको छ।
समीक्षा वर्षमा कम्पनीले ५४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ६३ करोड ३८ लाख रुपैयाँको तुलनामा १३.७१ प्रतिशतले कम हो। यद्यपि, कम्पनीको जीवन बीमा कोषको आकार १९.४८ प्रतिशतले बढेर ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो कोष ६४ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ थियो। कम्पनीले गत आर्थिक वर्षमा १७ अर्ब ६६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १६ अर्ब ६० करोड ७२ लाख रुपैयाँको तुलनामा ६.३४ प्रतिशतले बढी हो। यस्तै, खुद बीमाशुल्क आर्जन ६.६० प्रतिशतले वृद्धि भई १७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १६ अर्ब १९ करोड २० लाख रुपैयाँ थियो।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७० करोड २९ लाख रुपैयाँ रहेको छ। तर, अन्य इक्विटीमा १४ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्षमा महाविपत्ति कोषमा ४३ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा २५ करोड २५ लाख रुपैयाँ थियो। कम्पनीको शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ५.९८ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष ७.९० रुपैयाँ थियो।













तपाईको प्रतिक्रिया