स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छ : मन्त्री न्यौपाने

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौँ २० भदौ २०८२।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । 

शुक्रबार काठमाडौँमा आयोजित अप्सरा गौतमद्धारा सम्पादित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

उनले अहिलेको अवस्थामा सङ्घीयता पूर्णरुपमा कार्यान्वयन भइनसकेको उल्लेख गर्दै अझै केही समय लाग्ने स्पष्ट पारिन् । उनले संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी पनि गरिन्।

स्थानीय सरकार जनतामाझ सेवा प्रवाहमा सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै त्यसलाई बलियो बनाउन सङ्घ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको बताइन् । 

उनले भनिन्,‘संविधानले स्थानीय तहलाई धेरै प्रकारको अधिकार दिएको छ । सोहीअनुरूप स्थानीय तहले भौतिक निर्माणका कामहरू गरिरहेको छ । संविधान जारी भएयता स्थानीय तहले शिक्षा, स्वास्थ्य, तथा अन्य विभिन्न कामहरूमा समेत राम्रो प्रगति गरेको छ । आज सबैतिर सडक सञ्जालले छोएको अवस्था छ । स्थानीय तहले सडक विस्तार गर्नेदेखि खानेपानीका समस्याहरू हल गर्ने कुराहरू हुँदै आएको छ ।

यद्यपि अहिले हामी सङ्घीयता कार्यान्वयनको सवालमा हामी दोस्रो कार्यकालमा छौँ । त्यसकारण एकैचोटि सबै समस्याहरूको समाधान हुने स्थिति पनि बन्दैन । सङ्घीयताको अभ्यासका क्रममा देखिएका समस्याहरू समाधान गर्ने सवालमा देखिएका समस्याहरू समाधान गर्दै अझै शक्तिशाली सरकारको रूपमा स्थापित गर्नुपर्ने हुन्छ । जनतालाई सर्भिस डेलिभरीमा सबैभन्दा बढी ध्यान दिने सरकार नै स्थानीय सरकार हो । त्यसैले स्थानीय सरकार शक्तिशाली हुनुपर्छ भनेर नै हामीले लामो समयदेखि आन्दोलन पनि गरेका हौँ । र संविधानले दिन खोजेको अधिकार पनि त्यही हो ।’

सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्य पालना गर्नसकेमात्र संविधानको सफल कार्यान्वयन हुनेभन्दै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताइन् ।

तपाईको प्रतिक्रिया