सिटी एक्सप्रेसको १९औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौं, ३० असार २०८२

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित मुख्य कार्यालय परिसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। असार २७ गते १८ वर्षको सफल यात्रा पार गर्दै १९औं वर्षमा प्रवेश गरेको कम्पनीले “रक्तदान जीवनदान – हामी सबैको योगदान” भन्ने मूल नारासहित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा कम्पनीका कर्मचारी, सेवाग्राही, सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी र सामाजिक कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको थियो। रक्तदान कार्यक्रममा सहभागीहरूमध्ये धेरै जना स्वयंसेवकका रूपमा आएका थिए, जसले मानवीय सेवामा प्रतिबद्धता प्रकट गरेको आयोजकले जनाएको छ।

सिटी एक्सप्रेसले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीहरूलाई सम्मानित गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरेको छ। कार्यक्रमको विशेष आकर्षणका रूपमा कम्पनीका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको उपस्थिति रहेको थियो। उनले रक्तदानजस्ता अभियानले समाजमा सकारात्मक सन्देश दिने भन्दै यस्ता कार्यक्रमको निरन्तरताको आवश्यकता औंल्याएका थिए।

तपाईको प्रतिक्रिया