विज्ञान, चेतना र नैतिकता

Bizness Post बिजनेस पोष्ट
|
२ हप्ता अगाडि
                                                        
 तोमनाथ उप्रेती

मानव सभ्यताको विकासक्रममा विज्ञान, चेतना र नैतिकता तीनवटा आधारभूत स्तम्भका रूपमा स्थापित भएका छन्। विज्ञानले प्रकृति, पदार्थ र ऊर्जा सम्बन्धी सत्यहरूको खोजी गर्दै मानव जीवनलाई सुविधा, प्रविधि र प्रगतिको मार्गमा अग्रसर बनाएको छ। तर, भौतिक उन्नतिले मात्र मानव जीवनलाई पूर्णता दिन सक्दैन। यसका लागि चेतना,मानव मनको आन्तरिक जागरण, अनुभूति र आत्मबोध अत्यन्त आवश्यक हुन्छ, जसले व्यक्तिलाई सही र गलतबीचको भेद छुट्याउने क्षमता प्रदान गर्छ।
नैतिकता, चेतनाको व्यावहारिक अभिव्यक्ति हो, जसले मानव व्यवहारलाई मर्यादित, उत्तरदायी र सामाजिक रूपमा स्वीकार्य बनाउँछ। विज्ञानको तीव्र विकाससँगै नैतिक मूल्यहरूको सन्तुलन कायम गर्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको छ।
मानव चेतनामा अनुभव, आत्मबोध, चिन्तन र आत्म-जागरूकता समाहित हुन्छ। चेतनाको विज्ञानले मानव मनको संरचना, मानसिक प्रक्रियाहरू, निर्णय क्षमता, स्मृति, ध्यान र भावनात्मक अवस्थालाई अध्ययन गर्छ। यसले मानव अनुभवलाई तर्कसंगत, परिमाणात्मक र वैज्ञानिक दृष्टिले बुझ्ने प्रयास गर्दछ। न्युरोसाइन्स, साइकोलोजी, कृत्रिम बुद्धिमत्ता, र सिज्मोलोजिकल अध्ययनले चेतनाको यी आयामहरूको गहिरो विश्लेषण प्रस्तुत गर्छ।
तर विज्ञान आफैं चेतनाबाट रहित हुँदैन। विज्ञानको चेतनाले मात्र तथ्य, नियम र डेटा मात्र होइन, त्यस तथ्यको उपयोग, मानव हित र नैतिकताको बोध पनि बुझिन्छ। विज्ञानको चेतनाले निर्देश गर्छ कि ज्ञान र प्रविधि उपकरण मात्र होइन, जीवनको मूल्य, सामाजिक दायित्व र सार्वभौमिक भलाइका लागि प्रयोग हुनुपर्छ। चेतनाको विज्ञान र विज्ञानको चेतना बीचको सम्बन्ध गहिरो संवाद हो—जहाँ चेतना विज्ञानलाई मानवकेंद्रित बनाउँछ, र विज्ञान चेतनालाई अधिक स्पष्ट र व्यवस्थित बनाउँछ।
यदि चेतनाको विज्ञान बिना विज्ञानको चेतना काम गर्यो भने, ज्ञान र प्रविधि शक्ति र स्वार्थको साधन बन्न सक्छ। यसले व्यक्तिगत, सामाजिक र पर्यावरणीय असन्तुलन पैदा गर्न सक्छ। त्यसैले चेतनाको विज्ञान र विज्ञानको चेतना एकअर्कालाई सन्तुलन दिने आधार हो। चेतनाले विज्ञानलाई न्याय, सहिष्णुता, मानवता र नैतिकतामा मार्गदर्शन गर्दछ, भने विज्ञानले चेतनालाई स्पष्ट, व्यवस्थित र कार्यक्षम बनाउँछ।
मानव सभ्यताको सम्पूर्ण इतिहास हेर्ने हो भने, ज्ञानको खोज दुई फरक बाटामा यात्रा गरिरहेको देखिन्छ एउटा बाह्य संसारतर्फ उन्मुख वैज्ञानिक यात्रा र अर्को आन्तरिक संसारतर्फ लक्षित आध्यात्मिक यात्रा। विज्ञानले पदार्थ, ऊर्जा, समय, स्थान र ब्रह्माण्डको संरचना बुझ्न प्रयास गर्यो भने आध्यात्मले चेतना, आत्मा, अनुभूति, बोध र अस्तित्वको गहिरो रहस्यलाई महसुस गर्न खोज्यो। यी दुई धाराहरू लामो समयसम्म समानान्तर तर अलग–अलग धाराझैँ बगिरहे। कतै यी दुई भिडे, कतै एक–अर्कालाई निषेध गरे, त कतै पूरक बने।
आजको युग विज्ञानको उत्कर्षको युग हो। उपग्रह, कृत्रिम बुद्धिमत्ता, क्वान्टम कम्प्युटर, जैव–प्रविधि, अन्तरिक्ष अन्वेषण। मानवले अकल्पनीय प्रगति गरेको छ। तर यो प्रगतिकै बीचमा मानिस मानसिक रूपमा अझ असन्तुष्ट, अशान्त, चिन्तित र अस्तित्वगत रिक्तताले ग्रस्त बनेको छ। आधुनिक मानिससँग सुविधा छ, तर शान्ति छैन। ज्ञान छ, तर बोध छैन। सूचनाको बाढी छ, तर बुद्धि दुर्लभ हुँदै गएको छ। यही विरोधाभासले एउटा गम्भीर प्रश्न उठाउँछ : के विज्ञानले सबै कुरा बुझ्न र समाधान गर्न सक्छ ? र यदि सक्दैन भने, के हामीलाई चेतनाको विज्ञान आवश्यक छैन ?
आज विश्वले सामना गरिरहेका संकटहरू जलवायु परिवर्तन, युद्ध, मानसिक रोग, सामाजिक विभाजन, पहिचान संकट, आत्महत्याको दर यी सबै समस्याको जड नै चेतनाको अभाव हो। विज्ञानसँग समाधानका उपकरण छन्, तर दिशा दिने चेतना छैन। धर्मसँग नैतिक बोध छ, तर वैज्ञानिक व्याख्याको अभाव छ।
२१औँ शताब्दी विज्ञानको युग हो। प्रविधिको विकासले मानव जीवन सहज, द्रुत र सुविधा सम्पन्न बनाएको छ। तर, वैज्ञानिक सोचले मात्र मानिसलाई सन्तुलित, सुखी र समर्पित बनाउन सक्दैन जबसम्म त्यसमा आध्यात्मिक चेतनाको समावेश हुँदैन। वैज्ञानिक सोचले प्रकृति बुझ्ने, प्रयोग गर्ने र समस्याको समाधान गर्ने क्षमता दिन्छ भने अध्यात्मले आत्मा चिन्ने, प्रेम, सहिष्णुता र नैतिकता जस्ता मूल्यमा दृढ गराउँछ।
जब व्यक्ति वैज्ञानिक तर्कशीलता र आध्यात्मिक भावनाको सन्तुलनमा अघि बढ्छ, तब नैतिक, जिम्मेवार र संवेदनशील पनि बन्छ। यस्तो व्यक्तिको सोचले मात्र साँचो शान्ति र समृद्धि सम्भव बनाउँछ।आज विश्वमा भौतिक उन्नति त देखिन्छ, तर मानसिक अशान्ति, संघर्ष र असहिष्णुताले मानवता संकटमा छ। यस समस्याको समाधान वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको साझा प्रयोगबाट मात्र सम्भव छ।वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको समन्वय आधुनिक मानव जीवनका दुई महत्वपूर्ण आयाम हुन्, जसले जीवनलाई पूर्णता र गहिराइ प्रदान गर्छन्। वैज्ञानिक सोचले तर्क, प्रमाण र परीक्षणको माध्यमबाट संसारको भौतिक पक्षलाई बुझ्न सहयोग गर्छ भने आध्यात्मिक चेतना व्यक्तिको आन्तरिक शान्ति, जीवनको उद्देश्य र मानवीय मूल्यहरूलाई उजागर गर्छ। यी दुई बीचको समन्वयले मानिसलाई बाह्य र आन्तरिक दुबै पक्षबाट सन्तुलित विकास गर्न सक्षम बनाउँछ।
आजको आधुनिक युगमा जहाँ विज्ञानले असाध्यै प्रगति गरेको छ, त्यहीँ आध्यात्मिक चेतनाले मानिसलाई मानसिक शान्ति, नैतिकता र प्रेमको बाटो देखाउँछ। विज्ञानले उपलब्ध गराउने सुविधा र ज्ञानलाई आध्यात्मिक मूल्यहरूसँग जोडेर प्रयोग गर्दा मात्र सामाजिक र व्यक्तिगत जीवनमा सच्चा सुधार सम्भव हुन्छ। उदाहरणका लागि, विज्ञानले मानव स्वास्थ्य र प्रविधिमा प्रगति गराइरहेकै छ, तर मानिसको मन शान्त र दयालु नभएमा त्यो प्रगति अधूरो नै रहन्छ।त्यसैले, वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको समन्वयले विश्वलाई प्रविधिमा नभई मानव जीवनका गहिरा पक्षहरूमा पनि प्रगति गराउन आवश्यक छ। यसले जीवनलाई सन्तुलित, अर्थपूर्ण र समृद्ध बनाउन मद्दत गर्दछ।
विज्ञान र प्रविधिको विकासले जीवन सजिलो त बनाएको छ, तर यदि त्यसमा नैतिक मूल्य र आत्मचेतना नजोडिए भने प्रगति अधूरी नै रहन्छ। त्यसैले “वैज्ञानिक अध्यात्म” आवश्यक छ, जसले तर्कशीलता र आत्मबोधलाई सँगै मिलाउँछ। यो धर्म वा ध्यान होइन, जीवन मूल्य र चेतनाको संयोजन हो। जब व्यक्ति वैज्ञानिक दृष्टिकोणसँगै आध्यात्मिक अनुशासनमा समर्पित हुन्छ, तब उसले आफ्नो कर्म मानवता र विश्वको हितमा प्रयोग गर्छ।
अध्यात्मले मनलाई स्थिरता, प्रेम र सहिष्णुताको बाटो देखाउँछ भने विज्ञानले समस्याको समाधान गर्छ। यी दुईको संयोजनले व्यक्तिमा विवेक, उत्तरदायित्व र वैश्विक दृष्टिकोण विकास गर्छ। यस्तो समन्वयले विश्वमा शान्ति, सहअस्तित्व र पर्यावरण सन्तुलन सम्भव बनाउँछ। वैज्ञानिक अध्यात्मले मात्र भविष्यका चुनौतीहरूलाई समाधान गर्न सकिन्छ र मानव सभ्यतालाई सन्तुलित तथा समृद्ध बनाउँछ।अध्यात्मबिनाको राजनीति, समाज नीति, अर्थनीति या हरेक वाद एवं चिन्तन सबै अपूरो छ भन्ने विषयले विश्वका हरेक बौद्धिकलाई घचघच्याएको छ। अध्यात्म जीवनमुक्तिको आधारशिला हो जसले व्यक्तिलाई गम्भीर र मानसिक रूपमा सन्तुलित बनाउँछ। आज विक्षिप्त समाजमा अध्यात्मिकताको आवश्यकतालाई धेरैले स्वीकार्न थालेका छन्। राजनीतिक अस्थिरता र सरकारको स्थिरता नहुँदा विकासमा अवरोध आउँछ, र यस्तो अवस्थामा अध्यात्मिक क्रियाकलापले विकासलाई सशक्त बनाउने भूमिका खेल्छ।
अध्यात्मले शरीरको मृत्यु पछिको आत्माको अमरता पुष्टि गर्दै मानवलाई भाइभावमा बाँध्छ र पवित्रता, शान्ति, प्रेमजस्ता गुणहरू बढाउन मद्दत गर्छ। यसले जीवनलाई सकारात्मक दृष्टिले हेर्न सिकाउँछ र व्यक्तिको चेतना उच्च बनाउँछ। अल्बर्ट आइन्स्टाइनले धर्म र विज्ञानलाई विरोधी नभई सहायक भएको बताउनु भएको छ, जसले भौतिक र अध्यात्मिक उन्नतिको महत्त्वलाई जोड्छ। भौतिकवादले शान्ति र आनन्दलाई बेवास्ता गर्दा जीवनको वास्तविक उद्देश्य भुलिन्छ, तर अध्यात्मिक मार्गले साँचो सुख र मोक्ष प्राप्तिको बाटो देखाउँछ।यसरी, अध्यात्म र भौतिकवादबीचको द्वन्द्वलाई सन्तुलन र विवेकपूर्ण चिन्तनबाट समाधान गर्न आवश्यक छ। दुवैको मेलमिलापले मात्र विश्वको उज्जवल भविष्य सम्भव छ।
( उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

प्रकासित मिति २०८३-१-५

तपाईको प्रतिक्रिया