काठमाडौँ ११ भाद्र २०८२,
सरकारले उखु किसानहरूलाई प्रोत्साहन अनुदानबापतको रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानहरूको बैंक खातामा भुक्तानी गरिनेछ।
मन्त्रिपरिषद्को हालैको बैठकले उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। यद्यपि, प्राविधिक कारणले गर्दा अर्थ मन्त्रालयले रकम निकासामा ढिलाइ गरेको थियो। यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन रकम प्राप्त गर्दै आएका थिए। तर, मुलुकको आर्थिक अवस्था र आवश्यकताको आधारमा कृषि मन्त्रालयको प्रस्तावलाई संशोधन गरी ३५ रुपैयाँ प्रति क्विन्टल अनुदान दिने निर्णय भएको हो।
रकम निकासामा भएको ढिलाइका कारण उखु किसानहरूले काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका थिए। यसैबीच, मंगलबार सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उखु किसान र मन्त्रालयका प्रतिनिधिहरूबीच वार्ता सम्पन्न भएको छ। वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी थिए। उखु किसानका तर्फबाट श्यामबाबु रायलगायतका प्रतिनिधिहरू उपस्थित थिए।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानका माग सम्बोधन गर्न उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए। यो वार्ताले किसानका माग र समस्यालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।










तपाईको प्रतिक्रिया