सन्तानको गीत (कविता)

Bizness Post बिजनेस पोष्ट
|
१० महिना अगाडि
तोमनाथ उप्रेती

सुन,
देशको नीति एउटा मृगजाल हो,
जहाँ सन्तान अब ुजनसंख्याु होइन,
ुसंकट समाधानु को सरकारी फर्मुला भएको छ।
मातृगर्भ एक एटिएम बनेको छ,
जहाँ हरेक बच्चा ुभविष्यको करदाताु को रूपमा दर्ज हुन्छ।
एक समय थियो,
जनसंख्या विस्फोट भन्दै साधन बाँडियो,
आज त्यही देशले सन्तानको उत्पादन घट्दा
‘तेस्रो बच्चा फ्री’ भन्दै
बच्चा जन्माउने मेसिनमा तेल हाल्न लागेको छ।
हे सरकार,
तिमीलाई थाहा छैन,
यो पेट एउटा औद्योगिक उत्पादन गृह होइन,
जहाँ तीन वटा बच्चा ुबोनस प्याकेजु मा पाइन्छ।
बच्चा जन्माउने आँकडा होइन,
जीवन हो, सन्तान हो।
हेर,
युवाहरूका हातमा पासपोर्ट छ,
देशमा रोजगारी छैन,
विदेशबाट फर्केर तेस्रो बच्चा जन्माउने सपना देख्दा
तिनीहरूको आँखा हाँस्छ—
तर त्यो हाँसो खालि भिजा स्टिकर जस्तै चिप्लो छ।
प्रजननको यात्रा एउटा अध्यात्म हो,
यो केवल ‘जनसंख्या वृद्धिदर’ को औजार होइन।
बच्चा जन्माउनु ‘राष्ट्रवाद’ होइन,
मातृत्वको गहिरो साधना हो।
पिता बन्नु,
‘करदाता उत्पादन गर्ने फैक्ट्रीको मजदुर’ बन्नु होइन,
जिम्मेवारीको पूजा हो।
तर,
राज्यको आँखा केवल आँकडामा अड्किएको छ—
तीन सन्तान जन्माउँ भन्दै,
पाँच हजार रुपैयाँको कुपन बाँड्दै,
ुफर्टिलिटी क्राइसिसु का नाममा
मातृत्वको पवित्रता बेच्दै छ।
आकाशले श्वास लिन्छ,
धरतीले सन्तान पाउँछ,
तर जब तिमीले
बालिका होइन, बालक गनिन्छौं भन्दै
गर्भलाई भीडभाडको पसल बनाउँछौ,
त्यस दिन तिम्रो भविष्यको बोटले
फल दिन बन्द गर्छ।
मृत्युको भूमरीमा फसेको चीन,
पश्चिमा वृद्धाश्रमहरूले भरिएका घरहरू,
दक्षिण कोरियाको एक्लोपन,
यिनीहरू प्रजनन क्राइसिसका ‘मौन पोस्टर’ हुन्।
त्यसैले त सन्तान जन्माउनु,
मात्र आँकडा होइन—
जन्माउनु भनेको भविष्यसँगको कसम हो।
सुन, राष्ट्र,
सन्तानलाई केवल ुभविष्यको सहाराु हैन,
पृथ्वीको मित्रका रूपमा हेर्न सिक।
तीन बच्चा होइन,
तीन मुक्त आत्मा जन्माउ,
जो तिमीलाई रोजगारी माग्न बाध्य नबनून्,
जो तिमीलाई पिठ्यूमा बोकेर बृद्धाश्रम नपुर्याउन्,
तर आफ्नै गाउँमा
सपना रोपेर हरियाली बनून्।
सन्तान जन्माउनु राष्ट्रको जिम्मेवारी होइन,
राष्ट्रले आफ्ना नागरिकलाई जन्माउने वातावरण दिनु जिम्मेवारी हो।
जब रोजगारी हुन्छ, शिक्षा हुन्छ, स्वास्थ्य हुन्छ,
त्यो दिन मातृत्व–पितृत्वको गाथा फेरि लेखिनेछ।
हे ुफर्टिलिटी क्राइसिसु का ठेकेदारहरू,
यो पेटमा बच्चा होइन, भविष्य हुर्कन्छ।
त्यसैले
‘पाँच हजारको प्रोत्साहन’ होइन,
सम्मान, शिक्षा, सुरक्षित भविष्यको वातावरण देउ।
त्यो दिन कुनै नीतिले होइन,
मानव चेतनाले भनिदिनेछ—
“अब, सन्तान जन्माउने बेला भएको छ।”

तपाईको प्रतिक्रिया