यस्तो छ हरितालिका तीजको धार्मिक महत्त्व र विश्वास

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाडौँ १० भाद्र २०८२

आज हिन्दु महिलाहरूले हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। यो पवित्र दिनमा देशभरका शिवालयहरू, विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्छ। भक्तजनहरूको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ।

शास्त्रहरूमा उल्लेख भएअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका व्रत बस्दा सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु र अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्तिको कामना गर्दै यो व्रत बस्ने परम्परा छ। यद्यपि, शास्त्रीय मान्यताले पुरुषहरूले पनि यो व्रत बस्न सक्ने उल्लेख गरेको छ।

हरितालिका शब्दको उत्पत्ति संस्कृतका ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्दहरूबाट भएको मानिन्छ। यो नाम पार्वतीलाई उनको साथीहरूले हरण गरेर सुरक्षित स्थानमा राखेको पौराणिक कथासँग जोडिएको छ।

हरितालिका व्रतलाई निराहार (खानेकुरा नखाने), जलाहार (पानी मात्र) वा फलाहार (फलफूल मात्र) गरी तीन तरिकाले बस्न सकिन्छ। शास्त्रमा भनिएको छ, ‘सर्वतः आत्पान् गोपायेत्,’ अर्थात् जसरी भए पनि स्वास्थ्यको रक्षा गर्नुपर्छ। स्वास्थ्यको अवस्था हेरेर उपयुक्त व्रतको प्रकार छनोट गर्नुपर्छ।

स्वास्थ्यका कारण निराहार व्रत बस्न नसक्ने व्यक्तिहरूले जल, सखरखण्ड, पिँडालु, तरुल, केरा, आँप, अम्बा, दूध वा गुरुको सल्लाहअनुसार अन्य हल्का खानेकुरा सेवन गर्न सक्छन्। स्कन्धपुराणअनुसार औषधि सेवनले व्रत भङ्ग हुँदैन।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पति प्राप्त गरेकी थिइन्। पिता हिमालयले उनको विवाह विष्णुसँग गराउन खोजेपछि पार्वतीका साथीहरूले उनलाई लुकाएर सुरक्षित स्थानमा राखेका थिए। त्यही स्थानमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यो कथाले हरितालिका तीजको महत्त्वलाई झल्काउँछ।

आजको दिन शिव–पार्वतीको पूजा र व्रत बस्ने भक्तजनहरूको मनोकामना पूरा हुने धार्मिक विश्वास छ। पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरूमा बिहानै देखि भक्तजनहरूको भीड लागेको छ। यो पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेको छ।

तपाईको प्रतिक्रिया