विश्व युवा दिवसको अवसरमा मानवाधिकार रक्षकहरुको डिजिटल सञ्जालको सुरुवात

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

-जयराम बिडारी

ललितपुर २७ श्रावण २०८२

राष्ट्रिय युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा ‘ग्रामीण मुखी युवा अभियान’ (रोयम) नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी नेपालभरका युवा मानव अधिकार रक्षकहरूलाई सशक्त बनाउने उद्देश्यले डिजिटल सञ्जाल तथा online engagement platform अनलाइन संलग्नता प्लेटफर्मको सुरुवात गरेको छ ।

ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरी सो सञ्जालको अनावरण राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगर लगायत ग्रामीण मुखी युवा अभियान नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपाने, राष्ट्रिय मानवाधिकार आयोगका अधिकृत दिपेन्द्र सिंहद्वारा अनावरण गरिएको थियो ।

रोयम नेपालले अन्तर्राष्ट्रिय युवा दिवस २०८२ “एसडीजी र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू” मनाउँदै नेपालभरका युवा मानव अधिकार रक्षकहरूलाई सशक्त बनाउन युवा मानव अधिकार रक्षकहरूको अनलाइन संलग्नता प्लेटफर्मको सुरुवात गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तपबहादुर मगरद्वारा कर्णाली प्रदेश लगायत अन्य प्रदेशमा गठन गरिएको युवा मानवाधिकार रक्षकहरुको समग्र क्षमता अभिवृद्धिको सवाललाई सशक्त रुपमा मुखरित गर्नका लागि चालिएको कदमका बारेमा सन्तोष व्यक्त गरे । उनले समाज रुपान्तरण तथा मानवाधिकारको उपयोगका लागि युवाहरुले सक्रियता पूर्वक अघि बढ्न यस्ता अभियानले महत्वपूर्ण भूमिका निभाउने विश्वास लिंदै युवा,बाल, किशोर किशोरीका आवाजहरूलाई उनीहरूको समुदाय र बाहिरका समुदायहरूमा परिवर्तनकारी नेतृत्व गर्न सक्षम बनाउने विचार व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले युवा-नेतृत्वमा रहेको डिजिटल रणनीतिक रुपमा कोशेढुङ्गा सावित गर्ने बताउँदै १६ जिल्लामा सेवा विस्तार गरिसकेको प्लेटफर्मले सिकाइ, समन्वय र एकताको केन्द्रको रूपमा काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमले सामाजिक न्याय र दिगो विकास लक्ष्यहरू (एसडीजी) लाई अगाडि बढाउने साझा प्रतिबद्धताद्वारा एकताबद्ध प्रतिष्ठित व्यक्तिहरू, मानव अधिकारकर्मी, युवा नेताहरूको जीवन्त मिश्रणलाई एकसाथ अघि बढाउँदै समुन्नत समाजमा अधिकारको प्रयोगलाई व्यवहारिक रुपमा प्रयोग गर्न सकिनेमा जोड दिेए ।

कार्यक्रममा मानव अधिकार महा भेला मेग्नामिट का पुर्व सम्योजक नरेन खतिवडाले अनलाइन संलग्नता प्लेटफर्मको सुरुवातले मानव अधिकार वकालतको लागि साझा र समावेशी, फोरमको भूमिका निभाउने विचार व्यक्त गर्दै मानवाधिकारको प्रयोगमा कागजी रुपमा मात्र सिमित नभई आर्थिक समानताका मुद्दाहरुलाई प्राथमिकतामा राखेर अधि बढ्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा मानव अधिकार अलायन्सका उपाध्यक्ष मञ्जु गुरुङ,नविन डाँगी विजया राई,राज मानन्धर लगायतले आ-आफ्ना विचार राखेका थिए । रोयम नेपालका सदस्य गोमा बिष्टद्वारा कार्यक्रममा उपस्थित अभ्यागतहरुलाई स्वागत गरिएको कार्यक्रमका अध्यक्षता रोशना गिरीद्वारा गरिएको थियो । माइण्ड प्लसका निर्देशक नवीन पल्लवद्वारा सहजीकरण गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको थियो ।

तपाईको प्रतिक्रिया