तोमनाथ उप्रेती
मध्यरातको छायाँ थियो गाढा,
तर सहायताको आशाले उज्यालो खोज्दै थिए।
टायरको आवाजमा बाँचेका स्वप्नहरू
एकाएक चिच्याएर थामिए,
जब ट्रक पल्टियो—
मृत्युको छातामुनि बिस सपना च्यापिए।
भोकले सिकेका थिए अनुशासन,
पेटले बोलेको थियो प्रार्थना,
तर जवाफ आयो— लाश बनेर।
सहायता ल्याउने ट्रक
सहायताकै प्रतीक्षामा रहेका
मानिसहरूको टाउकोमाथि पल्टियो।
त्यो ट्रक बारुदले भरिएको थिएन,
तर युद्धको कारण
त्यो ट्रक पनि हतियार बन्यो—
बाँच्न खोज्दाको सजाय भयो।
शरणार्थी शिविर नजिकै
जहाँ बमको धूलो अझै बस्न बाँकी थियो,
त्यहीँबाट गुड्न बाध्य ट्रक,
कहाँ जाओस्रु कुन बाटो रोजोस्रु
हमास करायो—
ूइजरायलले मार्ग बन्द गर्यो१ू
इजरायल मौन—
तर मौनताभित्र थुप्रै चेतावनी।
त्यो रात,
पेटमा भोक थियो, आँखामा आशा।
अब—
पेटमा घाउ छ, आँखामा लाश।
मानवता हराएको ठाउँमा
ट्रक पल्टिन्छ, सहायतासँगै स्वाभिमान मर्छ।
युद्धले केवल बारुद होइन,
रोटी पनि हतियार बनाउँछ।
यी लाशहरू
न सैनिक थिए, न विद्रोही,
यी त केवल भोकका पुजारी थिए—
जसको बलिदान इतिहासको सानो फुटनोटमा हराउनेछ।
तर कवितामा तिनीहरू बाँचिरहनेछन्—
ट्रकको चपेटामा कुचिएका
सपनाहरूको आवाज बनेर।
सधैं रुन सघाउने स्वर बनेर।
सधैं युद्धलाई धिक्कार्ने
रोटीको चीत्कार बनेर।












तपाईको प्रतिक्रिया