खामेनीको खोकिलो खोक्रो शासन

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

तोमनाथ उप्रेती

खामेनीको खोक्रो खोकिले कान फुक्दैछ,
तेहरानका टाट पल्टिएका टावरहरूबाट,
जहाँ घडीको काँडाले शिया–क्रान्तिको कफन सिउँदै छ,
आकाशमा आयात गरिएको अभिमानको धुवाँ बडबडाउँदै छ।
इजरायलको ‘इलेक्ट्रनिक इगल’ले आकाश चिरेर हेर्छ,
तेहरानका ट्यांकरहरू सलामी ठोक्दै शल्यक्रियाको प्रतीक्षा गर्छन्,
अमेरिकाको “अड्कोका” जहाजहरू फारसी खाडीमा तैरिरहेका छन्,
र खामेनीको बेडरुममा परमाणु बमको सपना टाढिँदै गएको छ।
“आत्मघाती अभिमान” को व्यापारमा
तेल बेचेर खरानी किन्ने देश बनेको छ,
जहाँ पेट्रोलियमको सागर त छ,
तर जनताका पेटहरूमा बालुवा र अभावको तुफान उडिरहेको छ।
खाडीका किनारहरूमा ओसारिएका ट्रम्पका ट्विटहरू,
चिनियाँ चिया कपमा डुबेर कफी बनेका छन्,
रुसका रूबलबाजहरू हाँस्दै भन्छन्—
“खामेनी, तिमी फोहोरको बोरा हौ, हामीलाई मात्र होइन,
मध्यपूर्वकै टाउको दुखाइ हौ।”
गाजा युद्धमा इजरायलले मोजा तान्दै गर्दा,
तेहरानले हिज्बुल्लाहका हिज्जेहरू झिकेर भाषण लेख्छ,
यमनमा हुथीहरू हतियार बोक्छन्,
तर उनीहरूको हातमा भात होइन, हावा भरिएको छ।
तेहरानका तलघरहरूमा बनाइएका बंकरहरू,
आणविक नाभिकहरूको कब्रिस्तान बनेका छन्,
इजरायलका “आकाशका बाजहरू” ले
‘फोर्डो’का फलाम भत्काउँदै गर्दा,
खामेनीका हत्केलामा पसिना झर्छ,
“अल्लाहु अकबर” भन्दा बढी ऋणको किस्ता चुकाउन नसकेको बिल पन्छाउँछ।
आर्थिक अकालका अफशोसहरूमा,
ईरानी जनताले चिया रोटीमा आँसु भिजाएर खान्छन्,
तेलको राज्य, तर स्टोभमा आगो छैन,
शिया शासनको स्वघोषित विजय गीता,
रातको रेडियोमा सस्तो देशभक्ति बेचेर बज्छ।
“१९७९” को क्रान्तिको कालो लस्कर,
अहिले काला बजारमा चप्पल र इन्धन किन्न लाइनमा उभिएको छ,
क्रान्तिको ‘इज्जत’ अहिले प्याजको मुल्यसँग तुलना हुँदैछ,
र खामेनीको भाषण
‘रहमानी’ सुनिने ठाउँमा हाँसोको विषय बनेको छ।
यस बीचमा, इजरायलका नेतन्याहू हाँस्दै भन्न्छन्—
“हामी सबैको तर्फबाट सफा गर्दैछौं,
खामेनीका क्रान्तिकारी रबरका गाडीहरू।”
र जर्मन चान्सलरका शब्दहरू पश्चिमी शहरहरूमा गुञ्जन्छन्,
“इजरायलले फोहोर बढाइरहेको छ,
तर हामीलाई मुक्ति दिन, अँगालो मार्दै।”
“कट्टरपन्थी शासनका कागजका शेर”
खामेनीका कट्टरपन्थीहरू,
कागजका शेर, कुरानका व्याख्यामा फस्दै,
रियाद, तेल अभावको चटपटेमा रमाउँछ,
तर तेहरान, महँगीको आगोमा जलिरहेको छ।
राष्ट्रवादको खोलमा लुकेको भ्रष्टाचार,
जनताको पसिनालाई दाउमा राख्दै,
शिया–सन्नाटाको शासनमा
आवाज उठाउने जिब्रो काटिन्छ,
तर त्यो जिब्रोले पखेटा पालेर हावा पर्खिरहेको छ।
खाडीको सुनौलो बालुवामा
इरानको भविष्य लेखिँदैछ—
जहाँ समुद्री छालले त्यो लेखाई मेट्नेछ,
र नयाँ कथा लेख्नेछन्, इरानी जनताका खुट्टाहरूले।
आकाशमा ड्रोनहरू चिच्याउँदै उड्छन्,
तर खामेनीका महलका झ्यालहरू डराउँदै बन्द हुन्छन्,
“क्रान्ति” को नारामा तेल बेच्ने, र
भोक बेच्ने शासन,
अन्ततः, आफ्नै ‘अभिमानको बंकर’ मा पुरिनेछ।
९रतुवामाई ५, मोरङ)०

तपाईको प्रतिक्रिया