सेयर बजारले खोजेको गभर्नर 

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

रिसव गौतम

नयाँ गभर्नर नियुक्तिलाई लिएर सरकारलाई जति कठिनाइ भएको छ, त्योभन्दा बढी सेयर बजारलाई नयाँ गभर्नर स्वागत गर्न हतार छ । राष्ट्र बैंक ऐन अनुसार एक महिनाअगावै नियुक्ति गरिसक्नुपर्ने गभर्नर पद राजनीतिक खिचातानी, स्वार्थ समूह तथा बिचौलियाहरूको प्रभावको कारण अझै नियुक्ति हुन सकेको छैन ।
अहिले वास्तवमा सेयर बजारले नयाँ गभर्नरको तीव्र प्रतीक्षा गरेकै अवस्था छ । खासगरी अर्थतन्त्रको ऐनाको रूपमा लिइने र ५८ लाखभन्दा बढी जनताको संग्लनता रहेको सेयर बजार नयाँ गर्भरनर र उनले लिने नयाँ नीतिहरूको पर्खाइमा छ ।

नयाँ गभर्नरका लागि विगत एक महिनायता बढी नै चर्चामा राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, वहालवाला कामु गभर्नर डा. नीलम ढुंगाना, नबिल बैंकको पूर्वसीईओ ज्ञानेन्द्र ढुंगाना थिए । यसबिच कामु गभर्नर डा. नीलम ढुंगानाले राष्ट्र बैंकका निर्देशकद्वय डा. प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगरेपछि नियुक्तिमा विलम्ब भइरहेको छ । खासगरी राजनीतिक भागबन्डाका क्रममा सक्ता साझेदार दल नेपाली कांग्रेसको भागमा गभर्नर पद परेपछि डा. गुणाकर भट्टको नाममा सहमति भएको थियो । कांग्रेसले अघि सारेका डा. भट्ट कामु गभर्नर नीलम नेतृत्वमा काम गरिरहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । लामो समयदेखि राष्ट्र बैंकमा कार्यरत भट्ट आगामी गभर्नरका रूपमा योग्य व्यक्ति हुन् नै । खासगरी उनलाई नियमनकारी निकाय राष्ट्र बैंकको काम–कारबाहीको विषयगत हिसाबले सक्षम व्यक्ति मानिन्छन्, तर नेपाल राष्ट्र बैंकले धेरैजसो बैंक तथा वित्तीय संस्थाहरूलाई कस्ने र अत्यधिक नीतिगत बन्धनमा बाँध्ने कुराले सेयर बजारको वृद्धिलाई नकारात्मक प्रभाव पारिरहेको छ ।
अरु व्यवसायजस्तो त बैंकिङ व्यवसाय हुँदै होइन । तर निजी क्षेत्रबाट उदाएका र व्यवसाय गर्न तल्लीन बैंकहरूलाई अति नै कस्नुले पनि हाम्रोजस्तो उदार अर्थनीति अँगालेको देशको अर्थतन्त्रको वृद्धिको हिसाबले ठिक होइन । राष्ट्र बैंकले गएको १५ वर्षबिच कहिले अत्यधिक रूपमा वित्तीय संस्थाहरू आफैँले जन्मायो त, फेरि त्यसलाई केही वर्षको दौरानमै पुनः अनिवार्य पुँजीवृद्धि तथा मर्जरमा धकेलेर हायलकायल बनायो । वास्तवमा नियामक निकाय राष्ट्र बैंकले बैंकहरूलाई अनेक नीति मात्र ल्याएर दुःख दिने होइन । उसले गलत गर्न नदिने, जनताको निक्षेप डुब्न नदिने र जनताप्रति बैंकहरूको दायित्व स्थापित गर्ने हो । बजार अर्थतन्त्रमा हरेक व्यवसाय टिकाउने भनेको बजारले हो । जो टिक्छन्, उनीहरू कायम रहन्छन् । जो टिक्न सक्दैनन्, उनीहरू अरु विकल्पमा जान्छन् । त्यो विकल्प राष्ट्र बैंकले नै दिनुपर्छ ।
वित्तीय क्षेत्रभन्दा पनि योजना र नीति–नियमहरूको रूपरेखा कोर्ने कुरामा अब्बल अर्थशास्त्री डा. विश्व पौडेलको चर्चा गर्भरनरका लागि छ । उनी एकाएक किन र कसरी आए, त्यसभित्रको रहस्य के हो ? त्यो बाहिर आएको छैन ।
नेपाल राष्ट्र बैंक एउटा बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय त हुँदै हो, त्योभन्दा बढी सरकारको आर्थिक सल्लाहकार समेत हो । त्यसकारण पनि राष्ट्र बैंकको गभर्नर पदमा आसीन व्यक्ति बहुआयामिक र व्यावहारिक रूपमा सक्षम हुनुपर्छ । जस्तो : नेपाल राष्ट्र बैंकका कर्मचारीहरू धेरैजसो पछि गएर गभर्नर हुने गरेको देखिन्छ । त्यो स्वाभाविक पनि हो । किनकि उनीहरूले विषयवस्तु बुझेका हुन्छन् । नेपालमा राष्ट्र बैंक स्कुलिङबाट आएका गभर्नरहरू नियमन मात्र गर्न जानेका, अनेक नीतिहरूले कस्न मात्र जानेका जस्ता लाग्छन् । त्योभन्दा पर उनीहरू जानै सकेका छैनन् । बरु राष्ट्र बैंक बाहिरबाट आएकाहरू गर्भनरमा सफल लाग्छन् । जस्तो ः कांग्रेस राजनीतिक ब्याकग्राउन्डबाट गभर्नर बनेका अर्थशास्त्री डा. चिरञ्जीवी नेपालले आफ्नो पालामा राम्र्रै गरेका हुन् । उनले बैंकहरूलाई पुँजीवृद्धि गरी सक्षम बनाउने कुरामा, लगानी भित्र्याउने कुरामा राम्रो गरेका हुन् । तर यसअघिका गभर्नर महाप्रसाद अधिकारीले भने कस्ने मात्र काम गरेका गुनासा छन् । खुला बजार अर्थतन्त्रमा बैंकहरूलाई कस्ने मात्र गर्दा उनीहरूले न बिजनेस बढाउन सक्छन् न त त्यसरी कस्दा अर्थतन्त्र नै विस्तार हुन सक्छ । अहिले पनि बैंकहरूमा तरलता ६ खर्बभन्दा बढी छ, तर बजारमा कर्जाको माग छैन । किनकि बैंकहरूलाई कर्जा प्रवाहमा निकै कसिएको छ । झन्झट अनगिन्ती छन् । त्यसकारण राष्ट्र बैंक स्कुलिङबाट आउने गभर्नरहरू जति नै काबिल एवं पढे–लेखेका भए पनि सेयर बजारले उनीहरूबाट आस गरेको छैन । अहिलेको समयमा डा. भट्ट आउने कुरालाई पनि बजारले स्वागत गरेन । कामु डा. नीलम ढुंगानाको हकमा पनि त्यही हो । तिनैले बनाएका नीति–नियमले बजारलाई अहिले पनि आशाप्रद बनाउन सकेको छैन, बजार चलायमान छैन ।
बरु निजी क्षेत्रका विभिन्न बैंकहरूमा रहेर काम गरेका काबिल बैंकर ज्ञानेन्द्र ढुंगानालाई सेयर बजारले केही आशा गरेको जस्तो देखिन्छ । किनकि ज्ञानेन्द्रले व्यवसायीहरूको, बैंकमा सेयर लगानी गर्ने लगानीकर्ताको र कर्जा माग्न आउने ग्राहकहरू समेतका पीडा र आवश्यकता व्यावहारिक रूपमा बुझेका छन् । ज्ञानेन्द्र ढुंगाना नै हुनुपर्छ भनिएको होइन । तर निजी क्षेत्रका बैंकहरू हाँकेका व्यावहारिक एवं काबिल व्यवस्थापकहरूमध्येबाट गर्भनरको पदमा पुगुन् भन्ने धेरैले चाहेका हुन् । त्यसमाथि सेयर बजारको चाहना त्यही नै हो ।

अहिले गभर्नर नियुक्तिमा नयाँ ट्विस्ट आइसकेको छ । गभर्नर छनोट समितिका सदस्य नै गभर्नर बनाउने गरी कांग्रेसले अघि बढाउँदै छ । खासगरी वित्तीय क्षेत्रभन्दा पनि योजना र नीति–नियमहरूको रूपरेखा कोर्ने कुरामा अब्बल अर्थशास्त्री डा. विश्व पौडेलको चर्चा गर्भरनरका लागि छ । उनी एकाएक किन र कसरी आए, त्यसभित्रको रहस्य के हो ? त्यो बाहिर आएको छैन । कांग्रेसले पटक–पटक अवसरको पगरी गुथाएका पौडेल यसअघि योजना आयोगका सदस्य, उपाध्यक्ष, सरकारको आर्थिक सल्लाहकार मात्र भएका व्यक्ति होइनन् । गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट टिकट पाएका व्यक्ति समेत हुन् । आखिर उनैलाई कांग्रेसले किन यसपटक पनि अघि सार्दै छ ? भन्ने प्रश्न उब्जिएको छ । एक महिनासम्म अनेक चाणक्य नीतिहरू प्रयोग भएर नयाँ पात्र खडा भएका छन् ।

एकातिर रास्वपा सासंद स्वर्णिम वाग्लेले नयाँ गभर्नरका लागि एक अर्बभन्दा बढी कमिसनको चलखेल भइरहेको बताउनु, अर्कोतिर गभर्नर नियुक्ति झनै बढी पेचिलो बन्नु ‘बाघ कराउनु र बाख्रा हराउनु’ एकैपटक भएजस्तो भएन र ?

अतः गभर्नरमा राजनीतिक व्यक्तित्व, स्वार्थ समूहद्वारा अघि सारिएका व्यक्ति, बिचौलियाले खडा गरेका पात्र भन्दा विषयगत ज्ञान भएको, उदार एवं लचक, व्यावहारिक र समग्र अर्थतन्त्र बुझेको व्यक्ति हुन जरुरी छ । अन्यथा अर्थतन्त्र झन् बढी संकुचित एवं समस्याको भुमरीमा फस्नेछ । जस्तो कि अहिले खर्बौं लगानी गरिरहेका बैंकहरूले सेयर लगानीकर्तालाई लाभांश बाँड्न सकेको छैन, तर नियामक निकाय राष्ट्र बैंक भने वार्षिक ५०औँ अर्बभन्दा बढी नाफामा छ । भनेपछि ठिक उल्टो अवस्था अहिले छ । त्यसलाई सुल्ट्याउने हिसाबको गभर्नर अहिलेको आवश्यकता हो । जसले जनताको भान्सासम्मको वित्तीय समस्या हल गर्न सकोस् । सेयर बजार लगानीकर्ता, व्यवसायी, ग्राहक, सरकार तथा सबै सम्बद्ध सरोकारवाला क्षेत्रलाई मिलाएर लाने बौद्धिक गभर्नर आजको आवश्यकता हो ।

प्रकासित मिति २०८२-१-२९

तपाईको प्रतिक्रिया