नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

BusinessPost बिजनेस पोष्ट

काठमाडौं २१ बैशाख २०८२

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि ओरालो लागेको नेप्सेले यो क्रमलाई निरन्तरता दिँदै ३.४४ अंक घटेर २६२०.३९ विन्दुमा झरेको छ।

कारोबार रकम पनि घटेको छ। गत बुधबार ९ अर्ब ३७ करोडको शेयर कारोबार भएको बजारमा आइतबार ३२२ स्टकको ८१,९८५ पटकको कारोबारमा ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँबराबरको २ करोड १९ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ सूचीकृत भएदेखि नै सर्किट लेभलमा कारोबार भइरहेका छन् भने ओम मेगाश्री आजदेखि दोस्रो बजारमा प्रवेश गरेको हो। अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य ९.५ प्रतिशतभन्दा बढी उकालो लागेको छ। यता, विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकममा सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो। ङादी ग्रुप पावरको ५५ करोड र राधी विद्युत कम्पनीको साढे ५१ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ। वित्त उपसमूहको परिसूचक भने १.३० प्रतिशतले घटेर सर्वाधिक प्रभावित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया